१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 04 July, 2025
२o७९ श्रावण ३१ मंगलबार १९:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १९:४१:oo

कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुन्डा नेपाल–भारत सीमा क्षेत्रनजिकै छ। सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको माओवादीको आक्रमणबाट जीर्ण बनेको प्रहरी चौकी अहिलेसम्म पनि त्यस्तै अवस्थामा छ। त्यही जीर्ण भवनबाट प्रहरीले नागरिकको शान्ति सुरक्षा दिँदै आएको छ। प्रहरी चौकीको अझै स्तरोन्नति हुन सकेको छैन।

अस्तव्यस्त अवस्थामा रहेका भवनबाट नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागिसमेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैन। बर्सातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ।

'पानी परेपछि चुहिन्छ। राम्रोसँग सुत्न पाइँदैन। खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ। खाना पकाएर खान सकिने अवस्था  छैन,' प्रहरी चौकी कालाकुन्डाका इन्चार्ज रेवन्त बोहराले भने, 'नागरिकको सुरक्षाका लागि खटिएका हामी नै सुरक्षित छैनौँ। कुन वेला के हुने हो थाहा छैन। न खानाको टुंगो छ न बस्नको नै।'

भजनी नगरपालिका–८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि त्योभन्दा फरक छैन। प्रहरीले करिब ४० वर्ष पुरानो भवनबाट नागरिकको सुरक्षा गर्नुपरेको छ। त्यो पनि आफ्नै भवन होइन। भाडामा लिएर बस्नुपरेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले बताए। घर यति जीर्ण अवस्थामा छ कि घरको छत ढलानमा राखिएका सरिया देखिन्छन्।

त्योभन्दा ठूलो समस्या पथरैया नदी प्रहरीका लागि बनेको छ। नदीको किनारमै प्रहरी चौकी भएका कारण बाढी आउँदा सबैभन्दा पहिले त्यही प्रहरी चौकी डुबानमा पर्ने गरेको छ। 'एकातिर बस्नको ठेगान छैन भने अर्कोतिर बाढी र डुबानको जोखिम त्यतिकै छ,' भण्डारीले भने, 'प्रहरी चौकीका लागि जग्गा छ तर भवन निर्माण हुन सकेको छैन।'
 
भजनी–५ पृथ्वीपुरमा रहेको प्रहरी चौकीको नाममा २३ बिघा जमिन छ। भारत सीमासँगै रहेको प्रहरी चौकी नाजुक अवस्थामा छ। छतका सरिया झरिसकेका छन्। त्यस्तै जटिल अवस्थामा बसेर प्रहरीले नागरिकको सुरक्षा गर्दै आएको छ। अहिलेको भवनले हिउँदको शीत पनि छेक्न नसक्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिंह बुढथापाले बताए। 

भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु भए पनि निर्माण सम्पन्न हुन सकेको छैन। भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि बजेट अभावका कारण भवन सम्पन्न  हुन नसकेको हो। नगरपालिकाले बहुवर्षीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको भवन अहिले बजेट अभावमा अलपत्र परेको छ।