१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३१ मंगलबार o६:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से र कारोबार रकम दुवै बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार o६:१३:oo

पाँच दिनको लामो करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्से ५५ दशमलव ८८ अंकले बढेर दुई हजार ६५ दशमलव ८९ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव २३ अंकले बढेको छ । बजार लामो करेक्सनपछि बढ्दा पनि लगानीकर्तामा आत्मविश्वास देखिएन । करेक्सन भइरहेको बजारमा एकैपटक उच्च अंकले बढ्दा बजारप्रति लगानीकर्ताले विश्वास गर्न नसकेका हुन् । 

यसअघि नाफा सुरक्षित गरेर बाहिरिएका साना लगानीकर्ता लगानी बढाउन अझै तयार भएका छैनन् । बजार भरपर्दो गरी बढ्ने आधार तय नहुँदासम्म लगानीकर्ता आक्रामक रूपमा बजार प्रवेश गर्न तयार हुन नसक्ने एक लगानीकर्ता बताउँछन् । ती लगानीकर्ता भन्छन्, ‘अहिलेको बजार करेक्सन नै हो भने बिस्तारै अघि बढ्दै जान्छ, उछालले बढेको बजार टिकाउ नभएका रेकर्ड छन्, केही दिन अझै बजारको दिशालाई हेर्नैपर्छ ।’

कारोबार रकम यसअघिको तुलनामा केही सुधार भए पनि अपेक्षाकृत हुन सकेको छैन । धितोपत्र र ऋणपत्र गरी दुई सय १५ कम्पनीको ६० लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको सेयर मूल्य १६ साउनदेखि निरन्तर घट्दै आइरहेको छ भने सेयर खरिद–बिक्री रकम बढिरहेको छ ।

बजार घटेसँगै कम्पनीको एक अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल दूरसञ्चार कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६ करोड रुपैयाँदेखि १२ करोड ५५ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । फाइनान्स समूहको सूचक यस दिन ७ दशमलव ३८ प्रतिशतले बढेको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी, मल्टिप्रपोज फाइनान्स कम्पनी, राधी विद्युत् कम्पनी, रिभरफल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बढेको बजारमा रिडी पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । रैराङ हाइड्रोपावर कम्पनी र रिडी पावर कम्पनीको मर्जरपछि बनेको रिडी पावर कम्पनी सेयर नेप्सेमा सूचीकृत भएर आएसँगै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । गुराँस लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट र एनआइसी एसियाको ऋणपत्रको सेयर मूल्य १ प्रतिशतदेखि दुई दशमलव ७० प्रतिशतसम्मले घटेको छ । 

पिपुल्स पावर कम्पनीको आइपिओ खुला
पिपुल्स पावर कम्पनीको आइपिओ आजबाट खुला हुने भएको छ । कम्पनीको २४ करोड ६७ लाख मूल्यबराबरको २४ लाख ६७ हजार कित्तामध्ये ५ प्रतिशत अर्थात् एक लाख २३ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँडफाँड गरिएको र ४९ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँडफाँड गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार कित्ता सर्वसाधारणका लागि सेयरमा जारी गर्ने भएको हो ।