मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शनिबार रातिको अविरल वर्षापछि पानीले काठमाडौंको पुतलीसडकमा थुप्रिएको फोहोर सडकपेटीमा असरल्ल पारेको थियो । तस्बिरः संजित परियार/नयाँ पत्रिका
२०७९ श्रावण ३० सोमबार ०६:४९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सडकमा असरल्ल फोहोर, हैजा फैलने जोखिम

काठमाडौंका सडकमा थुप्रियो ६ हजार मेट्रिक टन फोहोर

Read Time : > 2 मिनेट
२०७९ श्रावण ३० सोमबार ०६:४९:००

शनिबार साँझ परेको मुसलधारे वर्षापछि काठमाडौंको पुतलीसडक, माइतीघर, टेकुलगायत क्षेत्र पोखरी बन्यो । सडकछेउछाउ थुप्रिएका फोहोरका पोका त्यसैमा तैरिएर बग्न थाले । सडक जलमग्न बनेपछि ओहोरदोहोर गर्नेलाई सास्ती भयो । सडकभरि फोहोर र दुर्गन्ध छरियो । देशकै संघीय राजधानीका चिल्ला सडकका किनारमा थुप्रिएको फोहोरलाई बर्खे पानीले बगाएपछि सडक दुर्गन्धित बनेको छ भने सरुवा रोग फैलने सम्भावना देखिएको छ । 

शनिबार सडकमा छरिएको फोहोर आइतबार बिहान ८–९ बजेपछि मात्रै काठमाडौं महानगरका सफाइ कर्मचारी आएर पन्छाएका थिए । तर, त्यसलाई उठाएर व्यवस्थापन भने गरेनन् । सडकको किनारमै राखिएको फोहोर छिनछिनमा पर्ने झरीले फिजाएर सडक दुर्गन्धित मात्रै होइन, हैजा नै फैलाउने चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं महानगर फोहोर व्यवस्थापनमा चुकिरहेको महिनौँ भइसक्यो । शुक्रबार मात्रै बन्चरेडाँडा क्षेत्रका स्थानीयले अवरोध हटाएपछि महानगरले फोहोर लैजान सुरु गरेको थियो । तर, शनिबार बेलुकीदेखि फोहोरका गाडी रोकिएका छन् । शनिबार बन्चरेडाँडातर्फ जाने सडक बिग्रिएका कारण फोहोरका गाडी रोकिएका थिए । आइतबार बिहानदेखि गुडेका कन्टेनर एक घन्टामै रोकिन पुगेका छन् ।

फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएपछि स्थानीयले आइतबार दिनभरि फोहोरका कन्टेनर रोकेका थिए । दिउँसो सम्झौता भएपछि मात्रै बेलुकीदेखि फोहोरका गाडीमा लगाएको अवरोध हटेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । स्थानीयलाई क्षतिपूर्ति दिने सहमति भएपछि मात्रै अवरोध हटाएको उनको भनाइ छ । ‘फोहोर व्यवस्थापनमा एकपछि अनेक अवरोध छ, हामीले सकेसम्म पहल गरेर फोहोर व्यवस्थापन गरिरहेका छौँ,’ प्रवक्ता मानन्धरले भने, ‘हरेक दिन अवरोध हुँँदा उपत्यकामा फोहोर थुप्रिएकोथुप्रियै छ ।’ 

अहिले काठमाडौंमा झन्डै चार हजार मेट्रिक टन फोहोर सडकमै छ । दुई हजार मेट्रिक टन कन्टेनरमा ‘होल्ड’ भएको छ । सहज अवस्था हुँदा महानगरले दैनिक दुई सय ट्रिप फोहोर विसर्जन गर्दै आइरहेको थियो । तर, पछिल्लो समय स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापन सकस बनेको छ ।

हाल सडकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने महानगरले जनाएको छ । तर, स्थानीयले जुनसुकै वेला पनि अवरोध गर्न सक्ने भएको भन्दै महानगरले सिसडोल र बन्चरेडाँडा क्षेत्रमा प्रहरी सुरक्षा माग गरेर आइतबार साँझ फोहोर लगेको महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । ‘हरेक दिन फरक–फरक माग राखेर फोहोरका गाडी रोकिन्छन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी फोहोर व्यवस्थापन होला ?’ 

फोहोरको रासभित्र राजनीति भयो 
 बालेन्द्र साह, मेयर काठमाडौं महानगर

संविधानले एउटा तहको सरकार र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन । 

खानेपानीको स्रोतमा फोहोर मिसियो भने स्थिति भयावह हुन्छ
 वसन्त अधिकारी, प्रमुख, स्वास्थ्य कार्यालय, काठमाडौं 

अहिले काठमाडौंमा सडकभरि फोहोरैफोहोर छ, यो फोहोर केही गरी खानेपानी वा हाम्रो खानेपानीको स्रोतमा मिसियो भने स्थिति भयावह हुन्छ । काठमाडौंमा झाडापखाला अझै नियन्त्रण भएको छैन, फोहोरका कारण हेपाटाइटिसका बिरामी थपिएलान् भन्ने चिन्ता छ ।’ 

 खानेपानी र फोहोरका कारण थप संक्रमण फैलने डर
काठमाडौंमा हालसम्म ३८ जनामा हैजा देखिएको छ । यसमध्ये पछिल्लो एक सातामा ६ जना हैजाका बिरामी थपिएका छन् । फोहोर र दूषित पानीकै कारण झाडापखाला फैलिएकाले त्यसबारे सजग हुनुपर्ने सरोकारवाला निकायले बताउँदै आएका छन् । तर, पछिल्लो समय काठमाडौंमा फोहोर व्यवस्थापन नहुँदा यसले विकराल अवस्था ल्याउन सक्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए । उनले फोहोर र प्रदूषणका कारण हैजा फैलने भएकाले त्यसबारे सचेत रहन सजग गराए । 

‘अहिले काठमाडौंमा सडकभरि फोहोरैफोहोर छ, यो फोहोर केही गरी खानेपानी वा हाम्रो खानेपानीको स्रोतमा मिसियो भने स्थिति भयावह हुन्छ,’ उनले भने, ‘काठमाडौंमा झाडापखाला अझै नियन्त्रण भएको छैन, फोहोरका कारण हेपाटाइटिसका बिरामी थपिएलान् भन्ने चिन्ता छ ।’ उनका अनुसार स्वास्थ्य कार्यालयले गरेको अध्ययनमा उपत्यकामा वितरण हुने सबैजसो खानेपानीका मुहान तथा स्रोतमा हैजा तथा झाडापखालाजन्य जीवाणु (फिकल इकोलाई) भेटिएको थियो ।

 कहाँ–कहाँ थुप्रिएको छ फोहोर ?
अहिले काठमाडौंका अधिकांश सडक किनार र फुटपाथमा फोहोर थुप्रिएको छ । सडकभरि फोहोर थुप्रिँदा पैदलयात्रा गर्नसमेत सकस हुने गरेको छ । नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, सुकेधारादेखि कलंकीसम्म सडकछेउछाउ फोहोर थुप्रिएको छ । उपत्यकामा खोला करिडोरका क्षेत्रमा पनि फोहोर थुप्रिएको छ । बागमती र धोबीखोला करिडोरमा फोहोरका डंगुर मात्रै होइन, फोहोर कन्टेनरसमेत पार्किङ गरेर राखिएको छ ।

रातोपुल, सेतोपुल, बिजुलीबजारस्थित धोबीखोला पुल, तीनकुनेस्थित बागमतीलगायत पुलमुनि फोहोर थुप्रिएको छ । ललितपुरको ग्वार्को, लगनखेल क्षेत्रमा पनि फोहोर थुप्रिएको छ । उपत्यकाको फोहोरमा अवरोधैअवरोध छ । दिनहुँ फोहोर व्यवस्थापन गर्न नसक्दा सडकको फोहोर पनि उठ्न सकेको छैन । महानगरका अनुसार साउनमा झन्डै १६ दिन फोहोरका गाडीमाथि अवरोध भएको छ । साताअघि स्थानीयले काठमाडौं महानगरले आफ्ना माग पूरा नगरेको भन्दै फोहोरका टिपर र कन्टेनरसमेत तोडफोड गरेका थिए । अझै पनि उनीहरूका माग महानगरले कार्यान्वयन गरेको छैन ।