मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७९ श्रावण २९ आइतबार ०९:५५:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

किन बल्झिरहन्छ  इजरायल–प्यालेस्टाइनी युद्ध ?

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ श्रावण २९ आइतबार ०९:५५:००

इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास अरब प्रायद्वीपमा यहुदी बहुल मुलुकको स्थापनासँगै सुरु भएको थियो 

इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा पछिल्लोपटक गरेको तीनदिने आक्रमण गत आइतबार राति साढे ११ बजेदेखि रोकिएको छ । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूहबीच युद्धविराम सम्झौता भएसँगै आक्रमण रोकिएको हो । सम्झौताको एक पक्ष प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले तत्कालका लागि युद्धविराम भएको जनाएको छ । 

संयुक्त राष्ट्र संघ र अमेरिकाले युद्धविराम सम्झौताको स्वागत गर्दै दुवै पक्षलाई सम्झौता पालना गर्न अपिल गरेका छन् । इजिप्टले दुई पक्षबीच युद्धविरामका लागि पहल गरेको थियो । इरानको राजधानी तेहरानमा रहेका प्यालेस्टाइन इस्लामिक जिहादका नेता जियाद अल–नखलाले इजरायलले आफ्नो समूहका दुई कार्यकर्तालाई रिहा गर्ने संकल्प गरेको बताए । इजिप्टले पनि उनीहरूको रिहाइको प्रयास गर्नेछ । 

इजरायलको पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिएका थिए, जसमध्ये १५ बालबालिका थिए । आक्रमणमा ३५० प्यालेस्टाइनी घाइते भएका गाजाका स्वास्थ्य मन्त्रीले बताए । अघिल्लो शुक्रबारदेखि तीन दिनसम्म इजरायलले गाजापट्टीका विभिन्न स्थानमा बमबारी गरेको थियो । पिआइजेले जवाफमा इजरायलतर्फ रकेट प्रहार गरेको थियो । तर, तीमध्ये अधिकांश रकेट इजरायलको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएकाले इजरायली भागमा हताहती भएन । 

इजरायल र गाजा जोडिएको क्षेत्रमा यो आक्रमण सन् २०२१ मेमा भएको ११ दिने संघर्षपछिको सबैभन्दा ठूलो हो । त्यस संघर्षमा दुई सय प्यालेस्टाइनी र दर्जनौँ इजरायली मारिएका थिए । 

१४ वर्षमा चार ठूला युद्ध
पछिल्लो तीनदिने इजरायली बमबारीका अतिरिक्त सन् २००८ यता इजरायल र प्यालेस्टाइनी पक्षबीच गाजापट्टीमा चार ठूला भिडन्त भइसकेका छन् । 

पहिलो : सन् २००८ डिसम्बेरमा २२ दिनसम्म चलेको भिडन्तमा १४ सय प्यालेस्टाइनी र १३ इजरायली मारिएका थिए । 
दोस्रो : सन् २०१२ अक्टोबरमा आठ दिन चलेको आक्रमणमा पाँच इजरायली र एक सय ५८ प्यालेस्टाइनी मारिएका थिए । 
तेस्रो : चार संघर्षमध्ये सबैभन्दा लामो यो ५० दिन चलेको थियो । हमासले तीन इजरायली किशोरको अपहरणपछि हत्या गरेपछि इजरायलले बमबारी सुरु गरेको थियो । यसपटक २१ सय प्यालेस्टाइनी मारिए भने ७३ इजरायली मारिए । जसमा ६७ सैनिक थिए । 
चौथो : गत वर्ष ११ दिन चलेको संघर्षमा संयुक्त राष्ट्र संघका अनुसार गाजापट्टीमा कम्तीमा दुई सय ६१ प्यालेस्टाइनी मारिएका थिए ।

इजरायल–प्यालेस्टाइन संघर्षको इतिहास 

इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास अरब प्रायद्वीपमा यहुदी बहुल मुलुकको स्थापनासँगै सुरु भएको थियो । सन् १९४७ नोभेम्बरमा संयुक्त राष्ट्र संघले ब्रिटिस म्यान्डेट (शासनमा रहेको) प्यालेस्टाइनलाई अरब र यहुदी राज्य गरी दुई भागमा बाँढ्ने योजना अर्थात् रिजोलुसन १८१ ल्यायो । यो प्रस्ताव पास भएसँगै प्यालेस्टाइनमा यहुदी र अरबबीच युद्ध भड्कियो ।

दशकौँदेखि यहुदी समूहहरूले प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्र बनाउन अभियान चलाइरहेका थिए । यस अभियानअन्तर्गत विश्वभरबाट यहुदीहरू प्यालेस्टाइन आउन आह्वान गरियो । कतिलाई सहयोग दिएर ल्याइयो । बेलायतले प्यालेस्टाइनबाट बाहिरिएसँगै सन् १९४८ मे १४ मा इजरायल स्थापना भयो । 

छेउछाउका सबैजसो मुस्लिमबहुल अरब मुलुक आफ्नो छेउमै यहुदी बहुल राष्ट्र निर्माणको विरोधमा थिए । त्यसैले स्थापनाको घोषणालगत्तै तिनले इजरायलमाथि आक्रमण गरे । सन् १९४९ मा अन्त्य भएको युद्ध इजरायलले जित्यो र परिणामस्वरूप इजरायलले दाबी गरेको भूभागमा बसोवास गर्ने क्षेत्रबाट सात लाख ५० हजार विस्थापित भए । यो युद्धमा जितेसँगै पहिलेको ब्रिटिस म्यान्डेट प्यालेस्टाइन अब यहुदीबहुल इजरायल र त्यसको दुई छेउमा अरबी बहुल वेस्ट बैंक र गाजापट्टी गरी तीन भागमा विभाजित भयो । 

त्यसयता पटक–पटक इजरायलविरद्ध छिमेकी अरबी मुलुकले आक्रमण गरे, तर अधिकांश युद्ध इजरायलको जितमा गएर टुंगिन्थ्यो । र, हरेक युद्धपछि इजरायलले उसको भूमिको आकार बढाउँदै लग्यो । सन् १९८० को दशकदेखि इजरायल र उसका छिमेकी अरबी मुलुकबीच युद्ध भएको छैन । पछिल्लो समय इरायल–अरब संघर्ष इजरायल र गाजास्थित सशस्त्र समूहबीच केन्द्रित छ । 

यसकारण भएको थियो पछिल्लो अक्रमण

इजरायली सेनाले प्यालेस्टाइनी इस्लामिक जिहादको जोखिमलाई मध्यनजर गर्दै गाजापट्टीमा पछिल्लोपटक आक्रमण गरेको जनाएको छ । नियन्त्रित वेस्टबैंकबाट पिआइजेका एक वरिष्ठ सदस्य पक्राउ परेपछि सशस्त्र समूह र इजरायलबीच तनाव उत्पन्न भएको थियो । 

अरबी मूलका इजरायली र प्यालेस्टिनीको बारम्बारको आक्रमणपछि इजरायली प्रहरीले सुरु गरेको अभियानअन्तर्गत गत सोमबार राति पिआइजेका कमान्डर बसेम सादी पक्राउ परेका थिए । वेस्टबैंक क्षेत्रका पिआइजे प्रमुख बसेमको पक्राउपछि बढेको तनवबीच इजरायलले आक्रमण सुरु गरेको थियो । पिआइजे गाजामा सक्रिय प्रमुख सशस्त्र समूह हो । यसलाई इरानको समर्थन रहेको र यसको मुख्यालय सिरियाको राजधानी दमास्कसमा छ ।

सशस्त्र समूहले इजरायलविरुद्ध रकेट र फायरिङसहित धेरै आक्रमण गरेको आरोप छ । सन् २०१९ नोभेम्बरमा इजरायलले पिआइजेका एक कमान्डरलाई मारिदिएपछि इजरायल र पिआइजेबीच पाँच दिन संघर्ष भएको थियो । मारिएका पिआइजेले इजरायलमाथि आक्रमण गर्ने योजना बनाइरहेकाले उनलाई मारिएको इजरायलको दाबी थियो । त्यस समय इजरायली आक्रमणमा ३४ पिआइजे प्यालेस्टाइनीको आक्रमण भएको थियो ।