मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ श्रावण २७ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली चिया रोक्ने भारतको प्रयास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार o९:o१:oo

नेपालमा उत्पादित चिया गुणस्तरहीन रहेको दोष लगाउँदै भारत सरकारले आयातमा रोक लगाउने प्रयास गरेको छ । भारत सरकारले राज्यसभा र लोकसभामा नेपाली चियालाई कर बढाउने तथा निर्यातमा कोटा तोक्ने गरी विधेयक पेस भएपछि चियाको निर्यातमा संकट आउन सक्ने देखिएको हो । 

भारतीय सदनमा विधेयक पेस गरेपछि चिया व्यवसायीहरू भारतीय बजार गुम्न सक्ने भन्दै सशंकित भएका छन् । विधेयकमा ४० प्रतिशतदेखि शतप्रतिशतसम्म चियामा कर लगाउने उल्लेख छ । भारतका ३० जना सांसदले नेपाली चिया गुणस्तरहीन भएको दाबी गर्दै सदनमा प्रतिवेदन पनि बुझाएका छन् । सो विधेयक हुबहु पारित भएको खण्डमा नेपाली चियामा शतप्रतिशतसम्म कर लाग्ने र निश्चित परिमाणको कोटा तोकिने निश्चित छ ।

भारतले नियोजित रूपमै नेपालको चिया निर्यात रोक्न खोजेको सूर्योदय टी प्रडक्टर्स एसोसिएसनका पुनम राईले बताए । नेपाली चिया उद्योग नै संकटमा पर्ने भएपछि इलामका चिया व्यवसायीहरू काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवासहित कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर उच्च तहमा ध्यानाकर्षण गराएका थिए । दार्जिलिङको चियाले बजार नपाएपछि नेपाली चियालाई निरुत्साहित पार्ने षड्यन्त्र रचिएको सूर्योदय टी प्रडक्टर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए । 

एसोसिएसनका अनुसार नेपालमा दुईथरी मात्र चिया उत्पादन हुँदै आएको छ । नेपालको तराई  क्षेत्रमा उत्पादन हुने सिटिसी चिया भने नेपालमै सर्वाधिक खपत हुने एसोसिएसनले जनाएको छ । सिटिसी चिया एक करोड ५० लाख किलो उत्पादन भएमा ६० प्रतिशत स्वदेशमै खपत हुँदै आएको र ४० प्रतिशत मात्र निर्यात हुने गरेको एसोसिएसनको आँकडा छ । इलाममा उत्पादन हुने अर्थोडक्स चिया नेपालमा भन्दा बढी भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । इलाममा अर्थोडक्स चियाको उत्पादन ९०  प्रतिशत रहेको व्यवसायीको भनाइ छ । १३ हजार हेक्टर जमिनमा वार्षिक ६० लाख केजी अर्थोडक्स चिया उत्पादन हुँदै आइरहेको छ । चियाखेतीमा झन्डै २६ हजार कृषकहरूको संलग्नता रहेको र ८० हजारले रोजगारी पाइरहेको एसोसिएसनको दाबी छ ।