Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
२०७९ श्रावण २६ बिहीबार २३:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक वर्षमा चितवनमा ३७ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न घटनामा परी एक वर्षमा २९ प्रजातिका २०५ वन्यजन्तु मरे 

Read Time : > 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार २३:०९:००

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा एक वर्षको अवधिमा ३७ वटा गैँडा मरेका छन् । तीमध्ये ३३ वटा प्राकृतिक, दुईवटा चोरीसिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण खुलेको छैन ।

चितवन राष्ट्रिय निकुञ्ज कसराका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत एक वर्षमा दुई सय पाँचवटा जनावर मरेका छन् । आर्थिक वर्ष ०७८–७९ मा प्राकृतिक, दुर्घटना, तारजालीमा परेर, चोरीसिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावर मरेको निकुञ्जले जनाएको छ । 

प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमण) कारणबाट एक सय चार, सडक दुर्घटनामा परेर ११, तारजालीमा परेर १६, कुकुरको आक्रमणबाट ५९, कारण नखुलेको १२ र अन्य कारणले एउटा जनावर मरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १ साउन ०७८ देखि ३२ असार ०७९ सम्म मरेका जनावरको यो तथ्यांकमा चित्तलको संख्या सबैभन्दा बढी छ ।

गत वर्ष ८६ वटा चित्तल मरेका छन् । तीमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको उनले बताए ।

अर्ना, जरायो र बँदेल १०–१० वटा मरेका छन् । १० वटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । एक–एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना र एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो । एउटा बँदेलको मृत्युको कारण खुलेको छैन ।

यस अवधिमा ६ वटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा नीर बिरालो र तीनवटा मगर गोही मरेका छन् । अधिकांश वन्यजन्तुको मृत्यु प्राकृतिक कारणबाट भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए । 

यस्तै, हात्ती, सर्प, अजिँगर, नीलगाई, चखेवा तथा बाँदर दुई–दुईवटा मरेका छन् । दुईवटा नीलगाईमध्ये एक डिभिजन वन कार्यालय सिन्धुलीबाट ल्याइएको थियो । निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक–एकवटा मरेका छन् । 
चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट दुई सय २२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिँगर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ । यस्तै, चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा नीरबिरालो, दुईवटा नीलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको छ ।

बाढीले बगाएर गैँडा मर्‍याे 
बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जको एक एकसिंगे गैँडा मरेको छ । २५ वर्षको भाले गैँडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका सूचना अधिकारी तिवारीले जानकारी दिए । 

खाग र खुरसहितको सो गैँडा गण्डक ब्यारेजमा भेटिएको हो । ‘लिखित जानकारी प्राप्त भएको छैन, यद्यपि भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोकानजिक मृत गैँडा फेला परेको जानकारी आएको छ,’ तिवारीले नयाँ पत्रिकासँग भने । १२ साउनमा भारतको सीमा क्षेत्रमा मृत भेटिएको गैँडालाई सोही देशको नियमअनुसार जलाइएको छ । तिवारीका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको प्राविधिक टोलीले पोस्टमार्टमपछि खागसहित जलाएर नष्ट गरेको थियो ।