झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुईजनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका– ३ झोलुंगे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरिबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम आठ सय मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– २ स्थित चारपानेबाट सोही स्थानका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यस्तै, बुधबार राति आठ बजे दमक नगरपालिका– ९ स्थित इँटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद रु १० हजारसहित दुईजनालाई पक्राउ गरेको थियो ।
को.२९प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका– १ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।