मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ श्रावण २६ बिहीबार ११:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीले सरकारी विद्यालय पढ्नुपर्ने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ श्रावण २६ बिहीबार ११:१०:००

लिसंखुपाखर गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न विभिन्न शैक्षिक योजना अगाडि सारेको छ । शैक्षिक गुणस्तर सुधार्ने योजनासहित पालिकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउन आह्वान पनि गरेको छ ।

सदरमुकाम चौताराबाट टाढा रहेको लिसंखुपाखरका सबै विद्यालय पठनपाठनका लागि विकट मानिन्छन् । पालिकाभित्र रहेका ११ माध्यमिक र १७ आधारभूत विद्यालयलाई नयाँ शैक्षिक गन्तव्य बनाउने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिए । जनप्रतिनिधि, पालिकाभित्रका शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति घोषणा गरिएको छ । नीतिअनुसार अध्यक्ष लामाले काठमाडौंमा पढ्ने आफ्ना छोराछोरीलाई गाउँ ल्याएर महादेवस्थान आधारभूत विद्यालयमा भर्ना गरेका छन् । 

यस्ता छन् शैक्षिक घोषणा 
शैक्षिक गुणस्तर सुधार्न लिसंखुपाखर गाउँपालिकाले पालिकाभित्र रहेका २८ विद्यालयका सबै प्रधानाध्यापकलाई बुधबारबाट कार्यबाहक प्रअ बनाएको छ । सोर्सफोर्सको आधारमा प्रअ हुने र विद्यालयलाई भताभुंग पार्ने परम्परालाई तोड्न पालिकाले यस्तो कदम चालेको हो । ‘गाउँपालिकाभित्र रहेका सबै शिक्षकलाई समान अवसर दिँदै १५ दिनभित्र शैक्षिक विकास योजना (इडिपी) बनाएर शिक्षा शाखामा पेस गर्न सर्कुलर गरिएको छ । जसले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक योजना तयार पार्छ उसैलाई विद्यालयको प्रअ बनाउने लक्ष्य हामीले लिएका छौँ,’ अध्यक्ष लामाले भने । सबैभन्दा पहिला इडिपी तयार गरेर ल्याउन शिक्षकलाई अनुरोध गरिएको उनले बताए । 

एक कक्षाभन्दा तल दुई ग्रेडिङ गरेर इसिडीदेखि कक्षा एकसम्म मन्टेश्वरी शिक्षा दिने योजना छ । आधारभूत तहका सबै शिक्षकलाई मन्टेश्वरी तालिम प्रदान गर्ने योजना रहेको छ । सहरमा पढ्ने बालबालिकालाई गाउँ फर्काउन आफ्नै गाउँ फर्क अभियान चलाउने तयारी गरिएको छ । बेरोजगार भएपछि बालबच्चासहित सहर पसेका स्थानीयलाई गाउँ फर्किनासाथ गाउँपालिकाले रोजगारको व्यवस्था गर्दै छ । पहिला रोजगार अनि शिक्षा भन्ने नारा तय गरेर पालिकाले सहरबाट गाउँ फर्किएका अभिभावकलाई रोजगार दिने योजना बनाएको हो । रोजगार व्यवस्थापनका लागि केही महिनाभित्र लगानी सम्मेलन गर्ने र कम्तीमा यो वर्ष तीन सयलाई स्वरोजगार तुल्याउने लक्ष्य रहेको लामाले बताए । सहर पसेकालाई रोजगार दिएपछि बालबालिकालाई गाउँमै गुणस्तरीय शिक्षा दिने गाउँपालिकाको लक्ष्य छ ।