शताब्दीको सुरुवातमा राणाशासन अन्त्यका लागि भएको संघर्षदेखि ०७२ मा संविधानसभामार्फत संविधान जारी हुनुअघिसम्मको समयलाई नेपालको राजनीतिको पहिलो अध्यायका रूपमा संश्लेषण गर्न सकिन्छ । किनकि यो अध्यायमा धेरैजसो समय कुनै न कुनै राजनीतिक उथलपुथल र सत्ता संघर्षमै व्यतीत भयो । समयको आवश्यकता भनौँ वा परिस्थितिको बाध्यता, तत् समयमा देशको मूल नेतृत्वमा स्थापित हुने नेता क्रान्ति, आन्दोलन र प्रतिरोधका नेतृत्वकर्ता हुने गर्थे । ०६२÷६३ सम्म भर्खर राजनीतिक चेतनाको अंकुरण हाल्दै गरेका युवालाई देशको राजनीतिले संघर्ष, आन्दोलन, आवेग, उत्तेजना र प्रतिरोध गर्न सिकायो । आजका दिनसम्म देशका तमाम राजनीतिज्ञ त्यही स्कुलिङबाट प्रशिक्षित भई आएका हुन् । उनीहरूलाई पहिलो अध्यायको राजनीतिले समस्या र संघर्ष सिकायो, तर समाधान र परिणाम सिकाएन । यसमा नेतृत्वको पनि दोष होइन, किनकि उनीहरू त्यो समय र परिस्थितिको आवश्यकताले स्थापित भएका थिए ।
०७२ मा संविधानसभामार्फत नयाँ संविधान जारी भएपश्चात् देशमा दोस्रो अध्याय सुरु भएको छ । यसको माग वा आवश्यकता संघर्ष, आन्दोलन, आवेग, उत्तेजना र प्रतिरोधको होइन, नीति, कार्यक्रम, योजना, सपना र संकल्पको अध्याय हो । प्रत्येक ठाउँमा समस्या देख्दादेख्दा वा सुन्दासुन्दा जनता थकित र आजित भइसकेका छन् । त्यसकारण जनता समाधान सुन्न चाहन्छन् । योजना सुन्न चाहन्छन् । सपना बुन्न चाहन्छन् । हालैको काठमाडौं महानगरको निर्वाचनले त्यही संकेत गरेको छ । बालेन शाहले कहीँ कतै कसैको विरोध गरेनन् । कसैले केही गरेनन् भनेर आक्रोश पोखेनन् । कुनै दल वा नेतालाई गाली गरेनन् । सभ्य र सरल भाषामा योजना सुनाए । सपना देखाए । जनताले पनि अनेकौँ समस्याको टिठलाग्दो वर्णन र आरोप–प्रत्यारोप सुन्नभन्दा समाधानका उपाय र योजना मन पराए । उनले काम गर्न सक्लान् वा नसक्लान्, त्यता जान चाहन्नँ । तर, महानगरको परिणामले मूलधारका राजनीतिक दललाई खतराको घन्टी पक्कै बजाएको छ ।
राजनीतिज्ञप्रति मात्र वितृष्णा हुँदै गर्दा नेता फेर्न सकिन्छ, तर राजनीतिप्रति नै वितृष्णा पैदा भयो भने देशको व्यवस्था नै संकटमा पर्छ । अतः वैकल्पिक राजनीतिभन्दा ‘ल्याटरल इन्ट्री’सहितको दलीय पुस्तान्तरण नै राष्ट्र निर्माणको सबैभन्दा छोटो बाटो हुनेछ ।
राजनीतिले व्यवस्था बदले पनि अवस्था उस्तै अनि मूलधारका राजनीतिक दल र नेताको कार्यशैली पनि उस्तै रहनाले विगत ५–७ वर्षदेखि देशमा वैकल्पिक राजनीति भन्ने शब्द चर्चामा रह्यो । मिलन पाण्डेदेखि रवीन्द्र मिश्रसम्म, बालेन शाहदेखि रवि लामिछानेसम्म वैकल्पिक राजनीति भन्दै अघि सरेका छन् । बालेन शाहबाहेक नेपालमा वैकल्पिक राजनीति भनेर अगाडि सरिरहेका सबैजसो दल वा व्यक्ति, मूलधारका राजनीतिक दलप्रति बढ्दै गएको वितृष्णाबाट लाभान्वित हुने मोहमा मूलधारका दल र नेताप्रति घृणा, उत्तेजना र क्रोध ओकलेर पब्लिक सेन्टिमेन्ट क्यास गर्न लागिपरेका देखिन्छन् । उनीहरूसँग देशका देखाउने समस्या अनगिन्ती छन् तर समाधानका योजना, उपाय र ल्याकत छैन । यिनले जितिहाले भने पनि पदमा पुगेर गर्ने के र कसरी भन्ने जटिल प्रश्नको उत्तर उनीहरूसँग हुँदैन । न कुनै नीति, योजना र कार्यक्रम न त कुनै सपना र संकल्प, क्षणिक आवेगको राजनीतिले समस्या सिर्जना गर्न त सक्छ, कहिलेकाहीँ कसैको विस्थापन पनि सम्भव होला, तर त्यसले अन्ततोगत्वा परिणाम दिन सक्दैन, नेतृत्व दिन सक्दैन ।
उसो भए समाधान के त ? नेता र दलप्रति जनताको बढ्दै गएको अविश्वासबाट पाठ सिक्दै दलहरूले आफूलाई निर्मम समीक्षा गर्नुपर्छ । दल र तिनका भ्रातृसंस्थामा नेतृत्व चयन गर्दैगर्दा जिन्दावाद र मुर्दावादमा चर्को स्वर गरेको मूल्यांकनका आधारमा नेता बनाउने प्रणाली अब बदल्न आवश्यक छ । अहिलेकै दलीय संरचना र नेतृत्व चयनको पद्धतिले पुस्तान्तरण हुँदै गर्दा पनि नातावाद, कृपावाद र गुटवादमा जब्बर ढंगले रजगज गरेर बसेको पात्र सिवाय कम्पिटेन्ट लिडर आउने सम्भावना बिरलै रहन्छ । तसर्थ, राजनीतिमा तेस्रो पुस्ताबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेका कांग्रेस नेता गगन थापाले भनेजस्तै सूचना र चेतनाको अबको युगमा दललाई खुला सदस्यता प्रणालीमा लैजानैपर्छ । जसमा लाखौँले जुनसुकै समयमा आएर सदस्य बन्न सकून् । कुनै नेताको महिमामण्डन गर्न नपरोस् । नेतृत्वसँग कहिल्यै परिचयसम्म नभएको अमुक पात्र आफ्नो योजना, सपना र संकल्प प्रस्तुत गरेर जनताको परीक्षामा निर्धक्क खडा हुने प्लेटफर्म दलभित्रैबाट बनोस् ।
समयको यस्तो वेगलाई बुझेनन् भने हाल मूलधारमा रहेका सबै राजनीतिक दलको भविष्य गम्भीर संकटमा पर्नेछ । समस्या, पीडा, उत्तेजना र क्रोध बेच्न खोलिएका वैकल्पिक भनिएका राजनीतिक दल वा व्यक्तिबाट पनि समाधान र परिणाम असम्भवप्रायः भएकाले मूलधारका दलका उमेदवारको क्षणिक प्रतिस्थापनको ‘फेन्टासी’मा युवाहरू रोमाञ्चित भए पनि यसले कालान्तरमा जनतालाई राजनीतिप्रति नै चरम वितृष्णा उत्पन्न हुने स्थिति पैदा गर्नेछ । राजनीतिज्ञप्रति मात्र वितृष्णा हुँदै गर्दा नेता फेर्न सकिन्छ, तर राजनीतिप्रति नै वितृष्णा पैदा भयो भने देशको व्यवस्था नै संकटमा पर्नेछ । अतः वैकल्पिक राजनीतिभन्दा ‘ल्याटरल इन्ट्री’सहितको दलीय पुस्तान्तरण नै राष्ट्र निर्माणको सबैभन्दा छोटो बाटो हुनेछ ।