१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार ०८:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दल दर्ता भोलिबाट : गठबन्धन दलले एकै चिह्नमा चुनाव लड्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार ०८:५३:००

निर्वाचन आयोगले आइतबारबाट दल दर्ता गर्न सकिने गरी सूचना प्रकाशित गरेको छ । आयोगले शुक्रबार सूचना निकालेर ४ मंसिरमा हुने संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको होे । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार संघीय र प्रदेश निर्वाचनका लागि भिन्दाभिन्दै निवेदन दिनुपर्नेछ । उनका अनुसार प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ ।

दल दर्ताका लागि दलको विवरण, केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लोे निर्वाचनको मिति उल्लेख गर्नुपर्नेछ । त्यस्तै, आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो ।

ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्नेछन्’ भन्ने व्यवस्था छ । यसरी निर्वाचनमा सहभागी हुने दलले कुन दलको उम्मेदवार हो भन्ने स्पष्ट पार्नुपर्ने हुन्छ । निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्ने र निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने व्यवस्था छ ।

दल दर्ताका लागि सार्वजनिक बिदाको दिनमा समेत कार्यालय खुला रहने आयोगले जानकारी दिएको छ । सरकारले बिहीबार ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने घोषणा गरेलगत्तै आयोग काममा जुटेको छ । मतदाता नामावली संकलनको काम बिहीबारबाटै रोकिएको छ । गत वैशाखमा भएको स्थानीय निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका थिए । त्यसमध्ये निर्वाचनमा भाग लिएका दल ६५ थिए भने हाल स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ छ ।