
डोटीको बुडर तथा कञ्चनपुरको बंक–नायल सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ। १२.५ किलाेमिटर लम्बाइको उक्त सडकको इआइए प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो।
वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर सडक निर्माणको गाँठो फुकाएका हुन्। उक्त सडक निर्माण भएपछि कञ्चनपुरबाट डडेल्धुरा जानका लागि कम्तीमा तीन घन्टा मात्रै लाग्ने बंकका स्थानीय सुरेन्द्र बमले जानकारी दिए।
यसैगरी, मन्त्री यादवले लुम्बिनी प्रदेश सरुवारोग अस्पताल कपिलवस्तुमा रहेको ५० शय्या तथा बाँझकटेरी–ढोरपाटनखण्ड (सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किलाेमिटर सडक, हुम्ला, कर्णाली जलविद्युत् आयोजना (६०.७४ मेगावाट) हुम्ला, रहफ–भैरवस्थान–भानकोट–कालिकोट–हिल्सा चिन सडक तथा मेची महाकाली विद्युतीय रेलमार्गको निजगढ–हेटौँडा–भरतपुर खण्डको पनि मन्त्रीस्तरीय निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेका छन्।