युक्रेन युद्ध कसले जितिरहेको छ भन्ने प्रश्नको जवाफ यो प्रश्न कसलाई सोधिरहनुभएको छ भन्नेमा भर पर्छ । रुसले आफूले पूर्वनिर्धारित योजनाअनुरूप युद्ध जितिरहेको बताइरहेको छ भने अमेरिकाले युक्रेनले ठाउँठाउँमा आश्चर्यजनक सफलता हासिल गरिरहेको दाबी गरिरहेको छ । निश्चित रूपमा अधिनायकवादी रुसका भनाइमा विश्वास गर्न सकिने आधार कम छन् । उदारवादी पश्चिममा हरेक तथ्यमाथि स्वतन्त्र छानबिन हुन सक्ने भएकाले तिनका भनाइ बढी विश्वसनीय हुने मानिन्छ ।
तर युद्धको समयमा यी विश्वास लागू हुँदैनन् । प्राचीन चीनका चर्चित सैन्य रणनीतिकार सुन त्सुले भनेझैँ ‘सबै युद्ध झुटका आधारमा उभिएका हुन्छन् ।’ किनकि, दुवै पक्ष शत्रुको मनोबल घटाउने र आफ्ना सेनाको मनोबल बढाउने प्रयासमा संलग्न हुन्छन् । यसैले, अहिले युक्रेन युद्धमा दुवै पक्षले आफूलाई फाइदा हुने तथ्य र मिथक प्रवद्र्धन गरिरहेका छन् र विरोधी दाबीलाई सेन्सर गरिरहेका छन् । ठूलो धनसम्पत्ति तथा जनजीवनको बलिदानलाई सही साबित गर्नका लागि आफ्नो प्रगति देखाउन आवश्यक हुन्छ ।
दुवै पक्षलाई तिनको उद्देश्यप्रति आमसर्वसाधारणको अडान बलियो बनाउनुपर्ने भएकाले आफ्नो स्थितिलाई बढाइ–चढाइ गर्नुपर्ने दबाब हुन्छ । मनोवैज्ञानिक युद्ध सघन रूपमा चलिरहेका रुस र युक्रेनले हालसम्म कूटनीतिक समाधानलाई त्यति गम्भीरता दिएका छैनन् । रुस युक्रेन प्रतिरोधको मनस्थिति कमजोर बन्ने आशामा छ । साथै ऊ जित्न नसकिने युद्ध भन्ने पारेर युक्रेनमा युरोपको समर्थन रोक्न चाहन्छ । अमेरिका यसलाई जित्न सकिने युद्ध भन्ने विश्वास बढाएर युक्रेनी र युरोपेली उत्साह बढाउन लागिपरेको छ । भलै अमेरिकी अधिकारी निजी भेटमा युक्रेनले गुमेका सबै भूमि फिर्ता ल्याउन सक्ने क्षमतामा शंका गर्न थालेका छन् ।
रुसी मिडियासँग सरकारी लाइन दोहार्याउनुभन्दा अरू विकल्प छैनन् । पश्चिमी मिडियासँग विकल्प त छ तर उनीहरू नेटो तथा पेन्टागनका भनाइ तथा रिपोर्टमै भर परिरहेका छन् । उदाहरणका लागि नाम उल्लेख नगर्ने सर्तमा भन्दै एक वरिष्ठ पेन्टागन अधिकारीलाई उद्धृत गदै (यहाँ नाम उल्लेख नगर्नुपर्ने कारण नै केही छैन) ‘युक्रेनमा रुसले झन्डै ८५ प्रतिशत सैन्य परिचालन गरेको’, ‘रुसले उसका अन्य सिमानाको सैन्य सुरक्षासमेत खाली छाडेको’ खबर आयो । त्यस्तै अन्य समाचारमा पनि त्यस्तै अज्ञात अधिकारीलाई उद्धृत गर्दै ‘रुसको सेनामा दैनिक सयौँको संख्यामा हताहती हुने गरेको’, ‘रुसी सेनाका ‘हजारौँ’ लेफ्टिनेन्ट, ‘सयौँ’ कर्नेल र ‘धेरै’ जनरलको मृत्यु भइसकेको’ स्कुप आइरहेका छन् ।
सरकार चाहे तानाशाह होस् वा प्रजातान्त्रिक, दुवैले रणनीतिक कारणले युद्धबारे झुट बोल्ने गर्छन् । तर ‘खुला विश्व’को ‘स्वतन्त्र’ मिडियाले समेत सरकारी लाइनकै प्रचार गर्नु आश्चर्यजनक विषय हो ।
अब यी र यस्तै अन्य दाबी सत्य हुन् भन्न सक्ने आधार के हुन् ? तर त्यस्तो बलियो आधार नहुँदा पनि पश्चिमी मिडिया यी विचार प्रसार गरिरहेका छन् । पश्चिमी मिडियाका उपभोक्ता अहिले युक्रेनले उसको शक्तिशाली छिमेकीविरुद्ध जित नै हासिल गर्न नसके पनि उसलाई गम्भीर क्षति पुर्याउन सक्ने विश्वासमा छन् । यो माथिका सैन्य अधिकारीको भनाइको बोलवालायुक्त समाचारको बोलवाला हुनुको प्रभाव हो । विगतमा अफगानिस्तान, इराक र भियतनाममा पश्चिमी मिडिया, त्यसमा पनि विशेष अंग्रेजीभाषी मुलुकका मिडियाले सरकारी धारणालाई विनाप्रश्न प्रवद्र्धन गर्दा गम्भीर परिणाम निम्तिएका थिए ।
सन् २०१९ मा द वासिंगटन पोस्ट पत्रिकाले अफगानिस्तान युद्धको पूरा अवधिभर अमेरिकी अधिकारीले सत्य नबोलेको खुलासा ग¥यो । सरकारी पदाधिकारीलाई अफगान युद्ध जित्न सकिँदैन भन्ने विवरण आइरहँदा पनि बाहिर उनीहरू युद्धमा अमेरिका हाबी भइरहेको बताइरहेका थिए । झुटो प्रमाण वा बहाना बनाएर लडिएको इराक युद्धका हकमा पनि सरकारी अधिकारीले निरन्तर झुट बोलेको खुल्यो । यी खुलासापछि पनि मिडिया, थिंकट्यांक र प्रभावशाली राजनीतिक पण्डितले तिनै ‘अधिकारी’लाई उद्धृत गरिरहे ।
शीतयुद्धको समयमा सरकारी झुट झन् विकराल थियो । उदाहरणका लागि झन्डै आधा शताब्दीअघि प्रकाशित ‘द पेन्टागन पेपर्स’ले अमेरिकी सरकारले भियतनाम युद्धमा भएको भयानक क्षतिलाई लुकाइरहेको खुलासा गरेको थियो । त्यसवेला आममानिस र मिडियामा सरकारी अडानप्रति विश्वास गुमेको बताइएको थियो । तर, त्यस्तो प्रभाव छोटो समय मात्र रह्यो । पछि एसिया र मध्य–अमेरिकामा भएका ‘युद्ध’मा सरकारी झुटलाई मिडियाले प्रवद्र्धन गरिरहे ।
सरकार चाहे तानाशाह होस् वा प्रजातान्त्रिक, तर दुवैले रणनीतिक कारणले युद्धबारे झुट बोल्ने गर्छन् । तर, ‘खुला विश्व’को ‘स्वतन्त्र’ मिडियाले समेत सरकारी लाइनलाई नै प्रचार गर्नु आश्चर्यजनक विषय हो । प्रतिष्ठित अमेरिकी तथा ब्रिटिस मिडियाका पत्रकार र विज्ञहरूले भ्लादिमिर पुटिनलाई सम्बोधन गर्न फासिवादी, भयानक र खतरनाकजस्ता शब्दको समानार्थी सबै शब्द खर्च गरिसकेका छन् । तर, तिनका आलेखहरू वस्तुनिष्ठ र सन्तुलित बनाउने प्रयास देखिँदैन ।
जसले गर्दा पश्चिमी मिडिया नेटोले पुटिनको रुसविरुद्ध भर्ती गरेका संस्थाजस्ता देखिन्छन् । ख्याल गर्नुपर्ने कुरा, नेटोको मूल उद्देश्य रुसलाई हराउनु र चीनलाई रुसको मार्गमा हिँड्न नदिनु हो । नेटोको मुख्य सदस्य अमेरिकालाई युक्रेन युद्धमा जित्नु–नजित्नुसँग केही मतलब छैन, ऊ त्यहाँ रुसलाई सकेसम्म क्षति पुर्याएर उसलाई कमजोर बनाउन चाहन्छ । यसले गर्दा युद्ध लम्बिने अवस्था बनेको छ ।
अल–जजिराबाट (वैश्विक राजनीतिमा कलम चलाउने मारवान बिसाराले अमेरिकी विदेश नीति, मध्यपूर्व र अन्तर्राष्ट्रिय रणनीतिक मामिलामा विशेष दखल राख्छन्)