मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तारिबुङमा निर्माणाधीन रंगशालास्थल ।
२०७९ श्रावण २० शुक्रबार ०७:४७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तारिबुङ रंगशाला निर्माण तीन करोड खर्चिएपछि डिपिआर परिवर्तनको चर्चा

Read Time : > 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०७:४७:००

ताप्लेजुङको फुङलिङ नगरपालिका–२ को तारिबुङमा रंगशाला निर्माण सुरु भएको चार वर्ष बित्नै लाग्यो । हालसम्म करिब तीन करोड रुपैयाँ खर्चसमेत भइसकेको छ । तर, रंगशाला निर्माणको गति भने निकै सुस्त छ ।

खेल मैदानको अभाव टार्न ०७६ सालमा प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट रंगशाला निर्माण सुरु गरिएको थियो । त्यसयता रंगशालामा करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।ण् तर, कहिले बनिसक्छ अत्तोपत्तो छैन । अहिलेसम्म रंगशालामा माटो फ्याँक्नेबाहेक अन्य काम भएको छैन ।

सहरी विकास मन्त्रालयले ०७६ सालमा करिब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी रंगशालाको डिपिआर तयार पारेको थियो । तर, सो डिपिआर उपयोगी नदेखिएको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए । अहिले डिपिआर नै पुनः परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रवक्ता न्यौपानेले बताए । उनले भने, ‘डिपिआर परिवर्तन गरेर पुनः बनाउनुपर्ने भएको छ । सुरुको डिपिआरले सबै क्षेत्र नसमेटिएकाले पुनरावलोकन गर्नुपर्ने भएको हो ।’

 ३५ रोपनीमा रंगशाला
रंगशाला निर्माणका लागि ०७७ सालमा ५० लाख, ०७८ मा ३५ लाख रुपैयाँ प्रदेश सरकारबाट आएको न्यौपानेको भनाइ छ । स्थानीयले १३ रोपनी जग्गासमेत निःशुल्क प्रदान गरेका थिए भने २२ रोपनी जग्गा खरिद गरिएको थियो ।

स्थानीय हर्कजंङ घिसिङले आठ रोपनी १४ आना, अशोक घिमिरेले एक रोपनी, युवराज बरालले एक रोपनी र लक्ष्मी विकले एक रोपनी जग्गा निःशुल्क दिएका थिए । थप २२ रोपनी भने ६० लाखमा खरिद गरिएको थियो । अहिलेसम्म रंगशाला निर्माणमा दुई करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ । एक सय ६० मिटर लम्बाइ तथा एक सय १५ मिटर चौडाइको रंगशाला डिपिआर नै परिवर्तन गर्नुपर्ने भनिएपछि अलपत्र परेको छ ।

फुङलिङ नगरपालिकाले भने रंगशाला निर्माणमा अहिलेसम्म बजेट छुट्याएको छैन । यसपटक भने प्रदेश सरकाले पनि बजेट विनियोजन नगरेको प्रवक्ता न्यौपानेले बताए ।

खेलमैदान नहुँदा रोकियो पाथीभरा गोल्डकप
ताप्लेजुङमा २०२९ सालदेखि सञ्चालन हुँदै आएको पाथीभरा गोल्डकप यस वर्ष भने खेलमैदान अभावमा रोकिएको छ । विगतका वर्षमा प्रतियोगिता हुँदै आएको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा विद्यालयले कम्पाउन्ड वाल लागाउन थालेकाले प्रतियोगिता रोकिएको हो । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता रोकिएको थियो । लाखेजात्राका अवसरमा २०२९ सालदेखि सुरु भएको प्रतियोगिता मैदान अभावमा पहिलोपटक रोकिएको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष नारायण थापाले यस वर्ष प्रतियोगिता गर्ने योजना बनाए पनि खेल मैदान अभावका कारण रोक्नुपरेको बताए । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार माबोले विभिन्न गतिविधि सञ्चालनका लागि मैदान अभाव भएकाले खेलकुद गतिविधि नै शिथिल रहेको बताए ।