चंखेली गाउँपालिकाका खरिदारद्वारा स्वास्थ्यकर्मीमाथि हातपात

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिकाका खरिदारले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी जुना सिंहमाथि गाउँपालिकाका खरिदार महेन्द्र शाहीले हातपात गरेका हुन्।

सोमबार मध्याह्न १२ बजे स्वास्थ्य शाखा पुगेका शाहीले सिंहलाई अश्लील गाली गर्दै हातपात गरेका पिप्लांगका स्थानीय दन्तबहादुर शाहीले बताए। ‘विनाकारण उनले परपुरुषसँग नाम जाेडेर विभिन्न आरोप लगाउँदै बाटोमा लडाएर कुटपिट गरे,’ दन्तबहादुरले भने । उनका अनुसार दिउँसै मदिरा सेवन गरेर कार्यालय गएका खरिदारले कार्यालयको काम गरिरहेकी स्वास्थ्यकर्मी सिंहमाथि हातपात गरेका हुन्।

हातपातपछि सिंहका आफन्तको उजुरीका आधारमा गाउँपालिका केन्द्रनजिकै रहेको मेल्छाम प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले शाहीलाई नियन्त्रणमा लिएका छन्। छलफलका लागि नियन्त्रणमा लिए पनि मदिरा सेवनका कारण अनियन्त्रित शाहीले अश्लील गालीगलौज गर्न नछाडेपछि अहिले उनलाई चौकीमै राखिएको प्रहरीले जनाएको छ।

यसबारेमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले सानोतिनो कुरालाई मिडियाबाजी गर्न आवश्यक नरहेको प्रतिक्रिया दिए।
 

सुझावित समाचार