१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
अनु आचार्य काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन पुरानै रुटबाट बन्ने, इआइए अध्ययन सुरु

Read Time : > 2 मिनेट
अनु आचार्य, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:२२:oo

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटमा निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाहरूको सबस्टेसन पुरानै रुटमा रहेकाले आवश्यकताका आधारमा अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटबाट बन्ने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले बताए । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै प्रसारण लाइन निर्माण गर्ने गरी अध्ययन भए पनि पुरानै रुटबाट निर्माण हुने उनको भनाइ छ । ‘निकुञ्ज क्षेत्रमा प्रसारण लाइन निर्माण गर्न निकुञ्जले सहमति त दिएको छ, तर निकुञ्ज क्षेत्रमा दुर्लभ वन्यजन्तुको वासस्थानलगायतका कारणले गर्दा तथा प्रसारण लाइनको पुरानो रुटमा धेरै हाइड्रोपावरहरू निर्माणाधीन छन् । त्रिशूली थ्री बी हब र चिलिमे हब पनि पुरानै रुटमा पर्ने भएकाले पनि पारिपट्टिबाट लैजान लागेको हो,’ उनले भने । 

प्रसारण लाइन निर्माणमा लागत कम लाग्ने तथा निर्माणमा सहज हुने भएपछि खोला वारिपट्टि निकुञ्ज क्षेत्र हुँदै अध्ययन गरिएको थियो । तर, अहिले बाटो निर्माण भएको, आवश्यक पर्ने सबस्टेसन पुरानै रुटमा भएसँगै अन्तरदेशीय प्रसारण लाइन पुरानै रुटबाट निर्माण गरिन लागिएको उनले बताए । ‘अध्ययन दुवै रुटको भएको छ, तर प्रसारण लाइन पुरानै रुटबाट बन्ने भयो,  निकुञ्ज हुँदै जाने अध्ययन त छ, यसलाई थाती राखेर पारी पुरानै रुटबाट बनाउने भन्ने भयो,’ उनले भने, ‘सुरुमा रुट हेर्दा धेरै समस्या रहेको थियो, तर अहिले बाटाहरू पनि बनिसकेका छन्, सामानहरू पनि लैजान सकिने अवस्था छ ।’ 

निकुञ्ज क्षेत्र हुँदै गरिएको अध्ययनमा पुरानो रुटभन्दा पाँच किलोमिटर छोटो हुने र लागतसमेत करिब एक अर्ब घट्ने भनिएको थियो । तर, पछिल्लो समय बाटोघाटो निर्माणसँगै सामान ढुवानीमा सहजता हुने भएपछि पुरानै रुटबाट प्रसारण लाइन निर्माण हुने भएको हो । नेपालतर्फ अहिले थ्री बी हबबाट रातमाटेसम्म चार सय केभीको मल्टिसर्किट टावर डिजाइनको काम भइरहेको छ । पुरानो रुट खोलावारि वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर हुने र दुई सय १४ वटा टावर निर्माण गर्दा करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान थियो । अहिले मल्टिसर्किट टावर डिजाइन गरिने भएकाले लागत रकम अझ बढ्ने आत्रेयले बताए । प्रसारण लाइन निर्माणका लागि १५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । पुरानै रुटमा सबस्टेसन निर्माण हुने भएसँगै वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रक्रिया सुरु गरिएको आत्रेयले जानकारी दिए । ‘अहिले हरेक वडामा सूचना टाँस गर्ने काम भएको छ,’ उनले भने, ‘बर्खाले गर्दा काम अघि बढाउन सकिएको छैन, यो वर्षभित्रमा इआइएको काम सम्पन्न हुन्छ ।’   

 चीनतर्फको स्थलगत अवलोकन हुन सकेन
चीनतर्फ निर्माण भइरहेको प्रसारण लाइनको स्थलगत अवलोकन गर्न समस्या भएको छ । कोरोनाको कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट आवतजावत बन्द गर्दा स्थलगत अवलोकनमा समस्या भएको हो । कोरोना महामारी सुरु हुनुअघि चीनतर्फ निर्माण भएको सबस्टेसनको स्थलगत अध्ययन–अवलोकनसहितको बैठक गर्ने भने पनि हालसम्म हुन नसकेको आत्रेयले बताए । ‘चिनियाँसँग मिटिङ बस्नुपर्नेछ, दुईवटा मिटिङ बसिसकेको छ, तेस्रो मिटिङ चीनमा बस्नुपर्ने हो, तर नाका बन्द रहेकाले जान सकिरहेका छैनाैँ,’ उनले भने । 
स्थलगत अध्ययनसहितको अवलोकन हुन नसकेपछि चिनियाँ पक्षले टेली कन्फ्रेन्सका लागि अनुरोध गर्दै आएको उनले बताए । ‘हामीले भौतिक उपस्थितिमा स्थलगत अवलोकनसहित बैठक गर्ने भनेर भनिरहेका छौँ, रुटको साइटमै बैठक गरौँ भनेको हो, तर चीनले नाका खोलेको छैन,’ उनले भने, ‘टेक्निकल र कमर्सियल इस्युको विषयमा छलफल गर्न टेली कन्फ्रेन्स गर्ने भनेको छ, हामीले यो बैठकको विषयमा के गर्ने भन्ने छलफलको प्रक्रियामा छौँ ।’  

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सबस्टेसन नुवाकोटको त्रिशूलीमा बन्ने भएको छ । नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ९ त्रिशूलीमा नेपाल विद्युत् प्राधिकरणको आफ्नै जग्गामा सबस्टेसन बन्ने भएको हो । सबस्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन, वातावरण अध्ययन, सबस्टेसन डिजाइन, सबस्टेसन रेखांकनलगायतको कार्य भएको छ । चीनतर्फको भने सबस्टेसन निर्माण भइसकेको चिनियाँ पक्षले जानकारी दिएको बताइएको छ । रसुवागढी नाकाबाट ७९ किलोमिटर पर जिलाङमा सबस्टेसन बनिसकेको चिनियाँ पक्षले जानकारी दिएको आत्रेयले बताए । 
 

ad
ad