पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएर एक्कासि आगलागी भएको हाे ।
बसमा सवार करिब ३५ जना यात्रुमध्ये २१ जना घाइते भएको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । गम्भीर घाइते भएका आठजनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । बाँकी घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
पाठकका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका- १ निवासी २२ वर्षीया रोशन कँडेल, कञ्चनपुर बेलैरी नगरपालिका- ४ निवासी ६२ वर्षीय केशव सिंह विष्ट, बेलैरी- ४ कै ३८ वर्षीय दिलबहादुर चौधरी, ३२ वर्षीय बुद्धिराम चौधरी, १४ वर्षीया स्वस्तिका साही, २० वर्षीय वीरेन्द्र शाही, कैलाली घोडाघोडी– ४ का ३० वर्षीय सुशान्त चौधरी र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– २ निवासी ४० वर्षीय गायत्री चौहानलाई उपचारका लागि भरतपुर चितवन पठाइएको छ ।
सडकमा गाडी पल्टिए पनि बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ । अहिले यस क्षेत्रमा सवारीसाधन सुचारु भइसकेको छ ।