निजी तस्बिरकोे दुरुपयोग गरी ब्ल्याकमेलिङ, बलात्कार प्रयासकाे आराेपमा दुई पक्राउ

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

निजी तस्बिरको दुरुपयोग गरी एक युवतीलाई ब्ल्याकमेल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सैनामैनाकी १९ वर्षीया युवतीको निजी तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गैडहवाका दुईजना पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी इन्स्पेक्टर जगन्नाथ मरासिनीका अनुसार युवतीले डेढ वर्षअगाडि आफ्नो मोबाइलले खिचेको आफ्नै निजी तस्बिर केटाहरूले फेला पारेपछि सोही तस्बिरका आधारमा ब्ल्याकमेल गर्दै यौन सम्पर्कको प्रस्ताव राखेका थिए । यौन सम्पर्क गर्न अस्वीकार गरेपछि जबर्जस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको छ । घटनामा संलग्न गैडहवा गाउँपालिकाका १७ वर्षीय एक युवक र गैँडहवा गाउँपालिका–९ बस्ने २० वर्षीय जगन्नाथ मल्लाहलाई  सैनामैना नगरपालिका–७, देउपारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक मरासिनीका अनुसार उनीसहितको प्रहरी गस्ती टोलीले राति साढे १० बजे युवती रुँदै गरेको अवस्थामा फेला पारेको थियो । एकान्त ठाउँमा रुँदै गरेको अवस्थामा सोधपुछ गर्दा युवतीले आफू ब्ल्याकमेलिङमा परेको प्रहरीलाई बताएकी थिइन् ।  

यसरी सुरु भयो ब्ल्याकमेल
युवतीले प्रहरीलाई दिएको बयानअनुसार करिब डेढ बर्ष पहिले युवतीले आफ्नै मोबाइलमा खिचेका निजी तस्बिरहरू अपरिचित व्यक्तिले फेला पारेका थिए । करिब १५ दिन अगाडिदेखि उनीहरूले फोटो भाइरल गराइदिने भन्दै ब्ल्याकमेल गर्न सुरु गरे । अपरिचित व्यक्तिले उक्त फोटोहरू युवतीको बहिनी नाता पर्ने एकजनालाई केही दिन अघिदेखि नै पठाएर ‘तेरो दिदीको फोटो भाइरल गरेर बेइज्जत गरिदिन्छु, इज्जत बचाउने भए मैले भनेजस्तो गर्न भनिदे’ भन्दै म्यासेज पठाएका थिए । 

त्यसपछि युवतीले बेइज्जत हुने डरले ती अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिई पटक-पटक कुरा गरेकी थिइन् । फोनमा कुरा गर्दा भेट्न नआए फोटो भाइरल गर्दिने धम्की आएपछि उनी शनिबार साँझ उक्त अपरिचित पुरुषलाई भेट्न गएकी थिइन् । रातको करिब ८ बजे उनीहरूसँग भेटेपछि उनीहरूले एकान्त ठाउँमा गएर मात्र फोटो डिलिट गर्ने बताए । राति करिब ९ बजे अटोमा चढाई करिब दुई किलोमिटर टाढा कञ्चन गाउँपालिकाको हात्तीबजार भन्ने ठाउँमा लगेका थिए । 

युवतीले प्रहरीलाई बताएअनुसार त्यहाँ पुग्नेबित्तिकै यौन सम्पर्क गर्न नदिएसम्म फोटोहरू डिलिट नगर्ने र इज्जत बचाउने भए यौन सम्पर्क गर्न दिनुपर्ने भन्दै जबर्जस्ती गर्न खोजेपछि रुँदै होहल्ला गर्दै भागेर कलौनी–लुम्बिनी मूलबाटोमा निस्केको युवतीले प्रहरीलाई बताएकी छिन् । 

आफू भागेपछि पनि पुनः फोन गरेर भोलि बिहान फेसबुकमा तस्बिर सार्वजनिक गरिदिने भन्दै ती अपरिचित पुरुषहरूले धम्की दिएका थिए । उनीहरूको धम्कीपछि युवती एकान्त ठाउँमा रुँदै बसिरहेको अवस्थामा रातको करिब १०ः४५ बजे प्रहरीले फेला पारी उद्धार गरेको प्रहरीले बताएको छ ।        

पक्राउ पर्नेहरूबाट प्रहरीले एक थान मोबाइल र १३ थान कन्डम बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
 

सुझावित समाचार