१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मंकीपक्सको पूर्वसतर्कता: टेकु अस्पतालमा दशवटा ‘एयर बेड’ सञ्चालन, जनशक्ति नथपे सेवा दिन नसक्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo

मंकीपक्सको सतर्कतासहित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले दशवटा ‘एयर बेड’ सञ्चालनमा ल्याएको छ । विश्वका धेरै देशमा मंकीपक्सका बिरामी देखिन थालेपछि पूर्वतयारीस्वरूप अस्पतालले ‘एयर बेड’ सञ्चालनमा ल्याएको हो । बिरामीको श्वास–प्रश्वास बाहिर नजाओस् भनेर सरुवारोगको जोखिम रोक्न ‘एयर बेड’को प्रयोग गरिन्छ । आधुनिक बेडसहित झुलले त्यसलाई छोपिएको हुन्छ । झुलभित्र बिरामी राखिन्छ । बेडको डन्डीमा स–साना प्वाल पारिएको हुन्छ । उक्त प्वालबाट बिरामीले स्वच्छ हावा लिन्छ भने संक्रणमजन्य हावा विशेष प्रविधिको माध्यमद्वारा त्यहीँबाट बाहिर फालिन्छ । 

मंकीपक्सको आशंकामा केही बिरामी भर्ना भएपछि अस्पतालले सुरक्षाका दृष्टिकोणले ‘एयर बेड’ सञ्चालनमा ल्याएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले सरुवारोगको जोखिम भएकाले एयर बेड सञ्चालनमा ल्याएको बताए । ‘अहिले हामीले दश बेड मात्रै सञ्चालनमा ल्याएका छौँ,’ गौतमले भने, ‘यो मंकीपक्स मात्र होइन, कुनै पनि संक्रामक रोगका बिरामीलाई प्रयोग गर्न अतिउत्तम हुन्छ ।’

विश्व स्वास्थ्य संगठनले शनिबार राति मंकीपक्सबारे विश्वव्यापी जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । उक्त घोषणा भएको २४ घन्टा पनि नबित्दै अस्पतालले पूर्वतयारीस्वरूप ‘एयर बेड’ सञ्चालनमा ल्याएको हो । स्वास्थ्य मन्त्रालयले भने मंकीपक्सको विषयमा कुनै जानकारी दिएको छैन ।‘एयर बेड’ सञ्चालनमा ल्याइए पनि जनशक्ति कटौती हुँदा समस्या परेको छ । दरबन्दीअनुसार कर्मचारी नरहेको अस्पतालमा अहिले एकैपटक करारका ६८ कर्मचारी हटेका छन् । कर्मचारी कटौतीका कारण २१ बेड आइसियू बन्द भएका छन् । 

करारका सबै जनशक्ति मन्त्रालयले हटाएपछि सेवासमेत प्रभावित भइरहेको आकस्मिक विभागका इन्चार्ज लीलानाथ भण्डारीले बताए । ‘कुनै पनि समयमा मंकीपक्सको संक्रमित देखिन सक्छ,’ भण्डारीले भने, ‘त्यसैले जति कर्मचारी छौँ, तैनाथ बसेका छौँ ।’उनका अनुसार कर्मचारी हटाएपछि सेवा क्रमशः बन्द हुँदै जान थालेको भण्डारीले बताए । कोरोनाको तीनवटा छालमा समेत अस्पतालबाट कुनै पनि बिरामी अन्यन्त्र पठाउनुपरेको थिएन । तर, हाल कोरोना बढ्न सुरु भएसँगै अस्पतालले धमाधम बिरामी अन्यन्त्र रिफर गर्न थालेको छ । इमर्जेन्सी प्रमुख भण्डारीका अनुसार दैनिक १० देखि १२ जनासम्म रिफर हुन थालेका छन् । उनले कोरोनाको पिक समयमा समेत बिरामी रिफर गर्नु नपरेको, तर अहिले कर्मचारीको अभावमा अन्य अस्पताल पठाउनुपरेको सुनाए । 

टेकु अस्पतालका मंकीपक्स फोकल पर्सन डा. शिवेन्द्र झा मंकीपक्स विगतको जस्तो नभएको बताउँछन् । उनका अनुसार विगतमा डाबर, राता फोका, पानी जम्ने समस्याजस्ता लक्षण देखिए पनि यसपटक फरक छ । ‘अफ्रिकन देशमा विगतमा ज्वरो, छाला रातो, सुन्निने, बिबिरा आउने, अनुहार र हातमा देखिन्थ्यो,’ डा. झाले भने, ‘अहिले नर्मल भएर विश्वका ७५ देशमा पुगेको छ । जति पनि केस देखिएको छ । लिंग वा यौनांगमा एउटा वा सोभन्दा बढी देखिएको छ ।’चिकित्सकले सेक्सुअल समूहबाट मंकीपक्स बढी सरेको बताएका छन् । यौनांगतिर घाउ देखिए डराउनुपर्ने चिकित्सकले बताएका छन् ।

कोभिडबाट दुईको मृत्यु तीन सय ४७ संक्रमित थपिए
 पछिल्लो २४ घन्टामा कोभिड संक्रमणबाट दुुईजनाको ज्यान गएको छ । आइतबार देशभरबाट संकलन गरिएका नमुना परीक्षणमध्ये तीन सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । अहिले देशभर तीन हजार एक सय ७७ जना सक्रिय संक्रमित छन् ।

आइतबार देशभर दुई हजार तीन सय ६० पिसिआर र एक हजार पाँच सय २८ जनाको एन्टिजेन परीक्षण गरिएकोे थियो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९५ संक्रमित निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या नौ लाख ६८ हजार चार सय ८९ पुगेको छ । आइतबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो केही सातायता बढिरहेको दैनिक संक्रमणका कारण अस्पताल भर्नादर बढेको छ । कोभिडका गम्भीर बिरामीको संख्या २२ पुुगेको छ, जसमध्ये दुुईजना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, संक्रमणको उपचारका लागि हाल एक सय ४२ जना अस्पताल भर्ना भएका छन् भने तीन हजार ३५ जना होम आइसोलेसनमा छन् । चिकित्सकले भने हाल फैलिइरहेको कोभिड संक्रमण जोखिमपूर्ण नभएको बताएका छन् । संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल पुुग्नेको संख्या बढे पनि अस्पतालमा गम्भीर बिरामीको संख्या तुलनात्मक रूपमा कम रहेको डा. नीरज बमले बताए ।  

ad
ad