ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंमा मनीषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताइन् ।
मन्त्री भुसालले संविधान र कानुनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै १७ प्रतिशत महिला अधिकारबाट वञ्चित रहेको बताइन् । अधिकार खोज्नु महिलाहरूको राजनीतिक र कानुनी अधिकार भएको उनको भनाइ थियो । उनले संविधान र कानुनले सम्पत्तिको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिए पनि व्यवहारमा लागू नभएको बताइन् ।
‘अहिले महिलाको अधिकार पूरा छैन । ३३ प्रतिशत मात्रै छ । जसमा १७ प्रतिशत बाँकी छ,’ उनले भनिन्, ‘अब ५० प्रतिशत महिलाले अधिकार पाउन बाँकी रहेको छ । छोरीहरूको आन्दोलन बाँकी नै छ । यो राजनीतिक, कानुनी अधिकारको कुरा हो ।’ संविधान र कानुनले सम्पत्तिमा महिला पुरुष दुवैलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लागू नभएको उनको भनाइ थियो ।
मन्त्री भुसालले अहिले महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको बताइन् । अब महिलाले न्याय, समानता र स्वतन्त्रताको कुरा उठाउन नपर्ने गरी व्यवाहारिक बनाउनुपर्ने भन्दै व्यवहारमा लागू नभएको स्थानमा नयाँ रचनात्मक आन्दोलन युवाले गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।