मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार ०८:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकको प्रगति २५ वर्षमा १३ गुणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार ०८:३६:००

एनआइसी एसिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको रजत जयन्ती मनाइरहँदा बैंकले स्थापनाको २५ वर्षमा लगानीकर्तालाई १३ दशमलव १२ गुणा प्रतिफल दिएको छ । सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको अतुलनीय सहयात्राले यो सफलता प्राप्त गरेको बैंकले जनाएको छ । सेयरधनीलाई स्थापनाको एक कित्ता सेयर अहिले १३ दशमलव १२ कित्ता पुगिसकेको बैंकले उल्लेख गरेको छ ।

जसअनुसार त्यसवेला लगानी गरेको एक सय रुपैयाँको सेयर साउन ५ गतेको सेयर मूल्यअनुसार नौ हजार पाँच सय २० रुपैयाँ ९७ पैसाबराबरको भएको बैंकले जनाएको छ । त्यसैगरी, स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्ष ०७८/७९ मा मात्रै तीन अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रूपमा स्थापित हुन सफल भएको बैंकले दाबी गरेको छ ।

देशभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । गत आव अर्थात् ०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चार अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । यो वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको बैंकको दाबी छ । यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल १९ दशमलव ६५ प्रतिशत रहेको र यो २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

प्रतिसेयर आम्दानीतर्फ ३९ रुपैयाँ १३ पैसा आर्जन गर्न बैंक सफल भएको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न सफल भएको जनाइएको छ । त्यसैगरी, बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर वान क्यापिटल एडिक्वेसी रेसियो आठ दशमलव ९३ प्रतिशत पुर्‍याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न सफल भएको बैंकले जनाएको छ ।बैंकले हाल देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर तथा ८१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।