सरकारले चिया उत्पादक किसानलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण
सरकारले चिया उत्पादक किसानलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

फाइल फाेटाे

एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चिया उत्पादकको विषयलाई बेवास्ता गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले देशमा चिया उत्पादन बढिरहँदा सरकारले नीति, कार्यक्रम र बजेटमा यसलाई समेट्न नसकेको गुनासो गरे।

‘यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यस (चिया)मा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो, तर चियाबारे कतै उच्चारण हुन सकेन। अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्वपूर्ण हो भन्ने थियो, तर उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन,’ उनले भने।

राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुपरेको उल्लेख गर्दै खनालले तत्काल चियाका अक्सन सेन्टर खोल्न सरकारलाई सुझाव दिए। सांसद खनालले सिंगो नेपाललाई चिया क्षेत्रमा रूपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए।

‘राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘राज्यले बजार खोज्न भूमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरूले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन। उनीहरूले चियाको उचित मूल्य पाइरहेका छैनन्।’ 

सुझावित समाचार