मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Monday, 16 December, 2024
२o७९ श्रावण ५ बिहीबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभा बैठक सञ्चालन हुन सकेन    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार १o:४७:oo

सत्तागठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेश सभाको बैठक सञ्चालन हुन सकेको छैन ।  यही साउन ३ गते बसेको प्रदेश सभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको सुरुवातमै सत्तासाझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घन्टाका लागि बैठक स्थगित गरिएको घोषणा गरेका थिए ।

माओवादी केन्द्रसँगको छलफलपछि मनाएर बैठक सञ्चालन गर्ने प्रयास सभामुख शाहीले गरे पनि पुनः बैठक चल्न सकेन । उनले सभाको बैठक सञ्चालन गर्न भन्दै बुधबार दिउँसो ३ बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बाेलाए । यद्यपि, सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो ।

‘यो समस्या खासगरी सत्तासाझेदार दलभित्रको हो । प्रतिपक्षसँगको होइन,’ सभामुख शाहीले भने, ‘उहाँहरू आफैँ बसेर यसलाई सल्टाए हुन्छ । यसका लागि खासै सर्वदलीय बैठक बस्नुपर्ने अवस्था थिएन । तर, केही वातावरण बनोस् भनेर मैले बैठकको आह्वान गरेको हुँ । आशा गरौँ, सत्तारुढ दलभित्र सल्लाह भएर सदन सञ्चालन होला ।’  

बुधबार बिहान माओवादी संसदीय दलको बैठकले दलका नेता महेन्द्रबहादुर शाहीलाई वार्ता तथा सहमतिको पहल गर्ने जिम्मेवारी दिएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही र सदनले माओवादी केन्द्रले उठान गरेका मुद्दालाई हलुका ढंगले छलफल गर्न खोजेको आरोप लगाउँदै दलका नेता शाही बाहिरिएका थिए ।

माओवादी केन्द्रले उठाएको सवाल तथा विषयमा सरकार र सदनले गम्भीरताका साथ ध्यान नदिए सभाको बैठक र संसदीय समितिमा उपस्थित नहुने माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा दलका प्रमुख सचेतक कृष्णा शाहीले बताए । ‘सरकार हाम्रा मुद्दामा आनाकानी गरेर एकलौटी ढंगबाट चल्न खोजेको छ,’ प्रमुख सचेतक शाहीले भने, ‘यो माओवादी केन्द्रका लागि सह्य हुँदैन । समन्वय, सहकार्य र सहअस्तित्वबाट सरकार चल्नुपर्छ र यसमा सरकार जिम्मेवार बन्नैपर्छ ।’   

बुधबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमालेको तर्फबाट यमलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही र राप्रपाका सोशिला शाही सहभागी थिए । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका विषयमा थप छलफल हुने बताइएको छ ।