मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ बिमा कम्पनीले पाए मर्जरको सहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:१८:००

१९ वटा बिमा कम्पनीहरू बिमा समितिबाट मर्जरका लागि सहमति पाएका छन् । नौवटा जीवन बिमा र १० वटा निर्जीवन बिमा कम्पनीलाई बिमा समितिले मर्जरका लागि सहमति दिएको हो । हिमालय र एभरेस्ट इन्स्योरेन्सले एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् ।बिमा समितिका हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरपछि हिमालयन एभरेस्टको नाममा कारोबार सुरु भइसकेको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच पनि मर्जर हुने भएको छ । कम्पनीहरूले बिमा समितिका मर्जरका लागि सहमतिसमेत पाइसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।

सूर्या लाइफ इन्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरका लागि सम्झौता भसकेको छ । बिमा समितिले समेत सहमति दिइसकेको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरको सम्झौता गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि मर्जरको तयारीमा छन् । साथै, रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच पनि मर्जर हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले पनि मर्जरका लागि सहमति पाइसकेको छन् । साथै, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बिमा समितिबाट मर्जरका लागि सहमति पाइसकेका छन् । प्रभु जनरल र अजोड इन्स्योरेन्सले पनि मर्जरको अनुमति पाएका छन् । मर्जरमा पछि १९ कम्पनीहरू नौ कम्पनीमा समेटिनेछन् । त्यस्तै, युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले मर्जरका लागि छलफल चलाइरहेका छन् । यी कम्पनीहरूको स्वाप रेसियो र नामका विषयमा सहमति जुट्न नसक्दा मर्जरबाट पछि हटेका हुन् । 

 क्रस होल्डिङ हटाउँदै बिमा कम्पनीहरू
क्रस होल्डिङ भएका कम्पनीहरूले प्रोमोटर सेयर बिक्री गर्न थालेका छन् । बिमा समितिको सुझावअनुसार मर्जरमा नगई केही कम्पनीहरूले भने क्रस होल्डिङ हटाउन थालेका हुन् । समितिका अनुसार नेपाल इन्स्योरेन्सले क्रस होल्डिङ भएकै कारण आइएमई समूह, आइएमई इन्भेस्टमेन्ट प्रालि र हाइएमइ होल्डिङ प्रालिको सेयर बिक्री गरेको छ । कम्पनीले आइएमई समूहको सात लाख १९ हजार कित्ता, आइएमई इन्भेस्टमेन्ट प्रालिको सात लाख १९ हजार २०५ र आइएमई होल्डिङ प्रालिको पनि सोही संख्या गरी जम्मा २१ लाख ५१ हजार ६१५ कित्ता सेयर बिक्री गरेको छ । 

नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल यसअघि मर्जरको विषयमा सहमति जुटाउन खोजेका थिए । तर, मर्जरपछि बन्ने कम्पनीको विषयमा सहमत हुन नसकेपछि मर्जरको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।बिमा समितिले क्रस होल्डिङ भएका कम्पनीलाई अनिवार्य रूपमा मर्जरमा जान दबाब दिएको थियो । तर, समितिको दबाबअनुसार क्रस होल्डिङ भएका कम्पनीहरू मर्जरमा जान चाहिरहेका छैनन् । नेपालमा सञ्चालित नौवटा बिमा कम्पनीमा क्रस होल्डिङ रहेको समितिको भनाइ छ । जसमध्ये आइएमई लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई क्रस होल्डिङ हटाउन आदेश दिएको हो । समितिले बिमक संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ तथा बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ बमोजिम क्रस होल्डिङ हटाउन आदेश दिएको हो ।