निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
भवानीश्वर गौतम काठमाडाैं
२०७९ श्रावण ४ बुधबार ०६:०५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिकित्सा शिक्षामा विदेशी विद्यार्थी : एमबिबिएसमा पाँच सय ५७ कोटा निर्धारण, दुई सय ३६ मात्रै भर्ना

Read Time : > 3 मिनेट
२०७९ श्रावण ४ बुधबार ०६:०५:००

विदेशी कोटामा नेपालीलाई भर्नाका लागि आह्वान, विदेशी विद्यार्थी कम आउनुका कारण खोज्न कार्यदल गठन

सरकारले शैक्षिक सत्र ०७८/७९ का लागि एमबिबिएस अध्ययनमा विदेश विद्यार्थीका लागि छुट्याइएका कोटामध्ये आधाभन्दा बढी सिट खाली भएपछि चिकित्सा शिक्षा आयोगले नेपालीलाई सशुल्क भर्नाका लागि आह्वान गरेको छ । एमबिबिएसबाहेकका अन्य कार्यक्रममा भर्ना हुने विदेशी विद्यार्थीको संख्या त झनै नगन्य छ ।

विदेशी विद्यार्थीले डलरमा शुल्क तिर्नुपर्ने भएकाले नेपालीलाई भन्दा महँगो पनि पर्छ । विदेशी विद्यार्थीलाई छुट्याइएको कोटाअनुसार नआएपछि आयोगले अध्ययनका लागि कार्यदल नै गठन गरेको छ । 

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्लेका अनुसार एमबिबिएसमा पाँच सय ५७ कोटा निर्धारण भएकोमा दुई सय ३६ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । अरू विषयमा थप एकजना मात्र विदेशी विद्यार्थी भर्ना भएका छन् । 

विश्वविद्यालयले आफैँ भर्ना गर्न पाउने समयमा धेरै विदेशी विद्यार्थी रहेको चिकित्सा शिक्षाका कार्यक्रममा अघिल्लो वर्षदेखि विद्यार्थीको कमी हुन थालेको हो । विदेशी विद्यार्थीले नेपालमा चिकित्सा शिक्षाको कार्यक्रममा भर्ना पाउन चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत परीक्षा वा उनीहरूको देशमा सञ्चालित राष्ट्रिय परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ । 

आयोग स्थापना भएपछि दोस्रोपटक स्नातक तहमा एकीकृत परीक्षा लिइएको छ । यही व्यवस्थाले विदेशी विद्यार्थी घटेको जानकार बताउँछन् । ‘पहिले मेडिकल कलेजहरू आफैँले विद्यार्थी खोजेर ल्याउँँथे । नेपालको प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था भएपछि विद्यार्थी कम हुन थाले,’ काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा भन्छन्, ‘नेपालमा प्रवेश परीक्षा कहिले हुन्छ, कहिले सकिन्छ भन्ने क्यालेन्डरमा समस्या भएपछि अलिकति विदेशी आउन कम हुन थाल्यो । विदेशी विद्यार्थी ल्याउन नेटवर्क पनि चाहिन्छ ।’

चिकित्सा शिक्षामा नेपालमा कडाइ गर्न थालेपछि विदेशी विद्यार्थी आउन कम भएको कतिपयको भनाइ छ । चिकित्सा शिक्षा बनेर आयोग गठन तथा कार्यान्वयन हुन थालेपछि विदेशी विद्यार्थी कम आउन थालेको उनीहरूको भनाइ छ । ‘पहिले कलेज र विश्वविद्यालय आफैँले भर्ना गर्न पाउने हुँदा मार्केटिङ गरेर धेरै विदेशी विद्यार्थी ल्याउँथे,’ विश्वविद्यालयका एक कर्मचारीले भने, ‘अहिले आयोगको प्रवेश परीक्षा उत्तीर्ण हुने–नहुने, आफ्नोमा आउने निश्चित नभएका कारण विदेशी विद्यार्थी खोजी हुन छाड्यो ।’

चिकित्सा शिक्षा ऐनले स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एकतिहाइभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । त्यसैगरी सरकारलाई २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको रूपमा उपलब्ध गराउने शिक्षण संस्थाको हकमा विदेशी विद्यार्थीको सिटसंख्या बढीमा ५० प्रतिशत हुने व्यवस्था छ ।

विदेशी विद्यार्थीको रोजाइमा परेका त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विदेशी कोटा पूरा भएका छन् । अन्य प्रायः सबै मेडिकल कलेजमा विदेशी विद्यार्थीको अभाव छ । नेपालमा एमबिबिएस अध्ययनका लागि आएकामध्ये अधिकांश भारतका छन् । 

यसअघि कतिपय विश्वविद्यालय आफैँले प्रवेश परीक्षा लिने र कलेजलाई समेत विदेशी विद्यार्थी भर्ना गराउन अनुमति दिएको थियो । अहिले सबै काम चिकित्सा शिक्षा आयोगबाट हुने गरेको छ । कतिपयलाई नेपालको एकीकृत परीक्षा उत्तीर्ण गर्न कठिन हुने भएकाले पनि आउन छाडेको गुनासो छ । 

विदेशी लगानीका कलेजमा ५० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था छ भने २० प्रतिशत छात्रवृत्ति दिनुपर्छ । विदेशी विद्यार्थी नेपालमा पढेर विदेशमा जाने भएकाले भर्नाका लागि कडाइ गर्न नहुनेसमेत कतिपयका तर्क छन् । 

स्नातक तहको चिकित्सा शिक्षाका कार्यक्रममा विदेशी विद्यार्थीका लागि छुट्याइएको दुई हजार दुई सयभन्दा बढी कोटामा ९० प्रतिशत रित्तै रहेका छन् । एमबिबिएस, बिएएमएस, बिडिएस, बिएनएस एडल्ट नर्सिङ, बिएनएस कम्युनिटी नर्सिङ, बिएनएस क्रिटिकल केयर, बिएनएस पेडिआर्टिक नर्सिङ, बोप्टोमेट्री, बिपिएच, बिफार्म, बिपिटीमा विदेशी कोटा खाली छन् । त्यसैगरी, बिएस्सी मेड बायोकेमेस्ट्री, बिएस्सी मेड माइक्रोबायोलोजी, बिएस्सी एमआइटी, बिएस्सी एमएलटी, बिएस्सी नर्सिङ, मिडवाइफरी साइन्समा विदेशी कोटा खाली छन् । 

विदेशी मुद्रा आर्जन गर्ने मौका टर्‍यो 
सरकारले शैक्षिक सत्र ०७८/७९ का लागि विगतमा भन्दा ३.६ प्रतिशतले शुल्क वृद्धि गरेको छ । एमबिबिएसका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यकाबाहिर ४५ लाख ९५ हजार सात सय २० रुपैयाँ निर्धारण गरेको छ । विदेशी विद्यार्थीले भने डलरमा शुल्क तिर्नुपर्छ । प्रतिविद्यार्थी कम्तीमा ७५ हजार डलर अर्थात् झन्डै ९६ लाख रुपैयाँ लाग्छ । शैक्षिक सत्र ०७८/७९ मा एमबिबिएसमा विदेशी विद्यार्थीका लागि पाँच सय ५७ कोटा निर्धारण गरिएको थियो, जसमा दुई सय ३६ जना मात्रै भर्ना भएका छन् । कोभिड– १९ अघि नेपालबाट बर्सेनि एक हजारको हाराहारीले चिकित्सा शिक्षा अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलबाट अनुमति लैजाने गरेका थिए । चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षा लिन थालेपछि यसपटकको प्रवेश परीक्षामा उत्तीर्ण भएका एक सय २४ विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लगेका छन् । 

भारतसँग नेपालको व्यापार घाटा छ, यदि धेरै विदेशी ल्याउन सकेमा सन्तुलन गर्न सहज हुने थियो : बसुरिद्दिन अन्सारी, मेडिकल कलेज सञ्चालक
विदेशी विद्यार्थी आउँदा विदेशी मुद्रा पनि सँगै आउँछ । नेपालमा पढेर जानेहरू मेडिकल एजुकेसनका लागि एम्बेसडर हुन्छन् । भारतसँग नेपालको व्यापार घाटा छ, यदि धेरै विदेशी ल्याउन सकेमा सन्तुलन गर्न सहज हुने थियो ।

सरकारले समेत नीति तथा कार्यक्रममा विदेशी विद्यार्थीसँगै डलर ल्याउने भनेको छ । तर, कार्यान्वयन तहमा बसेकाले सहज बनाउनेभन्दा अप्ठ्यारो पार्ने काम गर्छन्, उनीहरू कसरी विदेशीलाई नेपाल आउन रोक्ने र नेपालीलाई विदेश पढ्न पठाउने भन्नेमा लागेको देखिन्छ । अहिले विदेशी विद्यार्थीले आफ्नो देशमा प्रवेश परीक्षा दिएर पास भएको वा नेपाल आएर प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था छ ।

विदेशी विद्यार्थी फर्म भर्न नेपाल आउनुपर्ने, काउन्सिलिङमा बस्नुपर्ने, विश्वविद्यालयहरूमा जानुपर्ने बाध्यतामा छन् । यो गर्दा एकदमै लामो समय लाग्ने, झन्झटिलो व्यवस्था भयो । गत चैतदेखि सुरु भएको प्रक्रिया अहिलेसम्म टुंगिएको छैन । यस्तो झन्झट बोक्न विदेशी आउँदैनन् । विदेशी आउँदा कम्तीमा ७५ हजार डलर शुल्क तिर्छन् । त्यति मात्र होइन, उनीहरूका परिवार आउँछन् । यसले नेपालको अर्थतन्त्र बलियो बनाउन र मेडिकल टुरिजममा सहयोग गर्थ्यो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा भन्छन्– क्यालेन्डर निश्चित नहुँदा विदेशी विद्यार्थी घटे, विदेशी मुद्रा पनि घट्यो
पहिले मेडिकल कलेज आफैँले विद्यार्थी खोजेर ल्याउँँथे । नेपालको प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था भएपछि विद्यार्थी कम हुन थाले । नेपालमा प्रवेश परीक्षा कहिले हुन्छ, कहिले सकिन्छ भन्ने क्यालेन्डरमा समस्या भएपछि विदेशी आउन कम हुन थाल्यो ।

विदेशी विद्यार्थी ल्याउन नेटवर्क पनि चाहिन्छ । पहिले युनिभर्सिटी र क्याम्पस आफैँ विद्यार्थी ल्याउन लागेका हुन्थे । अहिले झन्झटिलो भयो, क्यालेन्डरको निश्चितता भएन अनि नेपाललाई नपर्खिएर अन्यत्र जान थाले ।

केयूमा मात्र पाँच सयको हाराहारीमा विदेशी विद्यार्थी हुन्थे, उनीहरूका आफन्त परिवार भेट्न आउँथे र विदेशी मुद्रा पनि सँगै आउँथ्यो ।