मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार ३० बिहीबार २०:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईसहित नौजनालाई कारबाही गर्ने यादव पक्षको निर्णय 

Read Time : < 1 मिनेट
२०७९ असार ३० बिहीबार २०:१९:००

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानविपरीत अराजक तरिकाले पार्टी कमजोर बनाउने काम गरेको भन्दै भट्टराईसहित नौजनालाई कारबाही गर्ने निर्णय गरेको हो । 

यादव पक्षले अध्यक्ष भट्टराईसहित विस्तारित बैठकमा सहभागी हिसिला यमी भट्टराई, पूर्वमन्त्री महेन्द्रराय यादव ,रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगाबहादुर श्रेष्ठ ,भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए । 

सोमबार संघीय परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा जसपाको ब्यानरको दुरुपयोग गरिएको र विधानविपरीत झुन्डको भेला गरेकाले उनीहरूलाई अनुशासनको कारबाही गर्दै पदमुक्त गरिएको अधिकारीले बताए । 

अधिकारीले भट्टराईसहितका नेताले विधानविपरीत काम गर्दै आएकाले बहुमतको निर्णयका आधारमा कारबाही भएको बताए । उनले भने, ‘बहुमतको दम्भ देखाउने अध्यक्ष डा भट्टराईको गुटको भेला अवैधानिक छ  । जसपाको बहुमत सदस्यको बैठकले उक्त बैठकमा सहभागी भएकालाई कारबाही गर्ने निर्णय गरेको छ ।’ 

पार्टीको विधान संशोधन गर्ने, स्थानीय तह निर्वाचनमा घात–अन्तर्घात गर्ने र पार्टी विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने तथा संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्नेलगायतका विषयमा निर्णय गरेको उनले बताए । 

उनका अनुसार संसदीय बोर्ड गठन, केन्द्रीय कार्यकारिणी समितिको पुनर्गठन र अध्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ । वीरगन्जमा दुई दिनसम्म चलेको बैठकमा करिब तीन सय १७ जना सदस्य सहभागी रहेको अधिकारीले दाबी गरे ।