
बागमती प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा पहिरोपीडितलाई १ लाख ११ हजारको दाल, चामल र स्वास्थ्य सामग्री बाँड्न नेपाली सेना र एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर १५ पटक प्रयोग गरेको पाइएको छ ।
२६ साउन ०७७ को पहिरोमा पीडित भएकालाई राहत बाँड्न मुख्यमन्त्रीसहितको टोलीले १२ पटक नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । उक्त हेलिकोप्टरको भाडा सवा तीन घन्टाको २५ लाख ६८ हजार भुक्तानी भएको छ ।
त्यस्तै, सोही कामका लागि निजी वायु सेवा कम्पनीको हेलिकोप्टर तीनपटक प्रयोग गरेर तीन लाख खर्च गरिएको छ । ‘हेलिकोप्टर भाडामा लिई एक लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको छ । यस्तो अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।