१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २८ मंगलबार १८:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डायलायसिस र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २८ मंगलबार १८:३६:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए । प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले पनि सजिलैसँग केन्द्रबाट डायलायसिस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ । यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । बरु के गर्नुपर्छ मैले, मेरो तर्फबाट पहल गर्छु । बिरामीलाई दुःख नदिनुहोस् ।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए । उनले अहिले पनि शय्या नपाएर बिरामी मर्कामा पर्ने गरेको बताए । केसीले भने, 'के गर्नुपर्छ मैले सहजीकरण गर्छु ।' 

राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरू सीमित स्रोतसाधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए । उनले भने, ‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौँ। खट्ने मान्छे बिहानैदेखि बेलुकीसम्म खट्नुहुन्छ । कुनै चाहिँ नखट्ने आउँछ । त्यसलाई सुधार गर्नुपर्छ । कम्तीमा यस अस्पतालमा ५ सय शय्या आवश्यक देख्छु ।’ अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए । अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए । 

सो अवसरमा कर्मचारीहरूले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । राज्यमन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रूपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए । अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सर्वेश शर्मालगायतको सहभागिता रहेको थियो ।