
असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीमा करिब चार करोड मूल्यबराबरको मकैबाली क्षति भएको छ । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट भएको हो ।
लेकाली भेकमा भर्खर घोगा लाग्न थालेको मकैको बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिक टन मकैको दानामा क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । ‘हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ,’ उनले भने, ‘तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको तथ्यांक निस्किएको छ । क्षतिको विवरण संकलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।’
रातको समयमा चलेको हावाहुरीले सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकामा क्षति पु¥याएको थियो । सात वडा रहेको यस गाउँपालिकामा तीन हजार पाँच सय रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबाली क्षति भएको हो ।
त्यस्तै, दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार पाँच सय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन सय, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनमा लगाइएको मकैबालीमा क्षति भएको छ ।