अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बजेट निर्माण प्रक्रियाका क्रममा अनधिकृत रूपमा बाहिरी व्यक्तिलाई सहभागी गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।
बुधबारै उनीमाथि छानबिनका लागि संसद्ले संसदीय विशेष समिति बनाएको छ। त्यसलगत्तै अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन्। राजीनामा दिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री शर्माले छानबिन कार्यलाई सहयोग पुर्याउन आफूले पदबाट राजीनामा दिएको बताए।
उनले आफूमाथि कैयौँ छानबिन भए पनि सहयोग गर्ने र आफूले गल्ती नगरेकोसमेत दाबी गरे। ‘ममाथि हुने छानबिन कार्यलाई मैले सहयोग गर्छु, संसदीय मात्रै होइन म हजारौँ छानबिनका लागि तयार नै छु,’ उनले भने।