मन्त्री हेरफेर जसपा विभाजनको अन्तिम कडी

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण
मन्त्री हेरफेर जसपा विभाजनको अन्तिम कडी

नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराउँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर:रासस

नयाँ पार्टी बनाएपछि डा. भट्टराई सत्तागठबन्धन वा विपक्षी गठबन्धनमा सहभागी हुन्छन् भन्नेमा चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिमण्डल हेरफेर गर्दै तीन नयाँ पात्र भित्र्याए । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाएस“गै मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपक्षी विकास, मोहम्मद इस्तियाक रार्ई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरणमन्त्री भएका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार राति मन्त्री हेरफेरको सूची प्रधानमन्त्रीलाई बुझाएका थिए । सोहीअनुसार प्रधानमन्त्री देउवाले सोमबार बिहान नियुक्त गरे र लगत्तै नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । अध्यक्ष यादवले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिने गरी निर्णय लिएका थिए । 

जसपामा विवाद रहेको र एकल निर्णयका आधारमा मन्त्री हेरफेर नगर्न पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले गरेको आग्रह अस्वीकार गर्दै प्रधानमन्त्री देउवाले गरेको मन्त्री हेरफेर सम्भवतः जसपा विभाजनको अन्तिम कडी हु“दै छ । अध्यक्ष यादव र संघीय अध्यक्ष डा. भट्टराई आगामी मार्गचित्र कोर्न पार्टीको केन्द्रीय समिति बैठकको तयारीमा लागेका छन् । 

समानान्तर रूपमा बोलाइएका अलग–अलग बैठकले आ–आफ्नो बाटो तय गर्ने जसपाकै नेताहरू बताउ“छन् । अध्यक्ष यादवले पार्टीमा छलफल नै नगरी एकलौटी निर्णयका आधारमा मन्त्री हेरफेरको निर्णय गरेको भन्दै डा. भट्टराई पक्षले आगामी २९ र ३० असारमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । 

आगामी रणनीतिबारे छलफल गर्न काठमाडौंमा बैठक बोलाइएको डा. भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए । ‘उपेन्द्रजीले पार्टीमा छलफल नै नगरी मन्त्री हेरफेरको निर्णय लिनुभयो । त्यो निर्णय हामीलाई मान्य छैन । विस्तृत छलफलका लागि २९ र ३० असारमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छौँ’ उनले भने । स्थानीय निर्वाचनपूर्व नै निर्वाचन आयोगमा यसअघि हिसिला यमीले पार्टी दर्ता गराएकी छिन् । त्यसैलाई निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको एक नेताले बताए । 

उता यादव पक्षले २७ र २८ असारमा वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ । उक्त बैठकमा भट्टराई पक्षले सहभागी नहुने स्पष्ट पारिसकेको छ । विस्तारित बैठकमा कुन तहसम्मका नेतालाई सहभागी गराउने भन्ने निर्णय भइनसकेको श्रेष्ठले जानकारी दिए । प्रदेश र जिल्ला नेतृत्वलाई सहभागी गराउने तयारी रहेको स्रोतले बताएको छ । समानान्तर बैठक नयाँ पार्टीको अभ्यास भएको एक नेताले बताए । उनका अनुसार विस्तारित बैठकपछि दल दर्ताका लागि आयोग जाने तयारी छ । आफूहरूस“ग ६ सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य रहेको डा. भट्टराई समूहको दाबी छ । 

जसपाका सचेतक प्रमोद साहले अझै पनि मिलेरै जान प्रयास गर्नुपर्ने बताए । ‘निर्वाचनको मुखमा फुट्ने राम्रो होइन । निर्णय गलत भयो भने बसेर छलफलको माध्यमबाट सच्याउन सकिन्छ । कतिपय विषयमा हाम्रा पनि असन्तुष्टि छन्’, यादवनिकट साहले भने । असन्तुष्टिलाई बैठकमा राखेर अगाडि बढ्नुपर्र्ने र पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा उनले जोड दिए । 

एकीकृत समाजवादीका मन्त्री हेरफेरमा पनि पार्टीभित्र विवाद भएको थियो । पार्टी अध्यक्ष माधव नेपालले सिफारिस गरेका व्यक्तिलाई प्रधानमन्त्री देउवाले तीन सातापछि मन्त्रीमा नियुक्त गरेका थिए । 

See More On

सुझावित समाचार