१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Wednesday, 26 June, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ असार २० सोमबार o८:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धन भत्किने एमाले निष्कर्ष

नयाँ गठबन्धनको कोसिस गर्ने, अन्य दलसँग वार्ता र संवाद प्राथमिकतामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार o८:o७:oo

प्रमुख विपक्षी दल एमालेले पाँचदलीय सत्तारूढ गठबन्धन भत्किने निष्कर्ष निकाल्दै संघ र प्रदेशका लागि नयाँ समीकरणको प्रयास थाल्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले संघ र प्रदेशको निर्वाचनमा आफ्नै नेतृत्वमा चुनावी तालमेल वा अर्को नयाँ गठबन्धन बन्न सक्ने सम्भावना औँल्याएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको जसपाको एउटा समूहसँग एमालेले आगामी चुनावका लागि गठबन्धनको प्रस्ताव गरेको सार्वजनिक भइरहँदा एमाले पदाधिकारीहरू सम्मिलित सचिवालयले नयाँ गठबन्धनबारे परामर्श गरेको हो । स्थानीय निर्वाचन परिणामपछि सत्तागठबन्धनभित्र अविश्वास र अन्तरविरोधका साथै हरेक दलभित्र गठबन्धनलाई हेर्ने दृष्टिकोणमै फरक मत देखा परेको एमालेको विश्लेषण छ ।

 यी सबै घटनाक्रमले गठबन्धन सग्लो अवस्थामा अगाडि बढ्ने सम्भावना नरहेको एमालेको निष्कर्ष छ । ‘सत्तारूढ दलमा भएकाले गठबन्धन कायम गर्छौं भने पनि त्यो कायमै रहन्छ भन्ने विश्वास छैन । माओवादी र नेकपा एसले कांग्रेसबाट अपमान महसुस गरेका कारण ती पार्टीभित्रै गठबन्धन कायम राख्नु उचित छैन भन्ने मत उठेको छ । घटनाक्रम कसरी विकास भएर जान्छ, हामी हेर्ने पक्षमा छौँ,’ उपमहासचिव पृथ्बीसुब्बा गुरुङले भने, ‘जसपा झन्डै विभाजनको संघारमा छ, विभाजितमध्ये कुन शक्ति कता लाग्छ, भविष्यले देखाउला । 
त्यस्तो अवस्थामा हामी पनि हातखुट्टा बाँधेर बस्ने स्थिति हुँदैन, सबैले आ–आफ्नो खेलोफड्को गरी नै हाल्छन् । त्यो स्थितिमा अहिलेको शक्तिसन्तुलन भत्किने, केही न केही कमजोर बन्ने स्थिति देखिन्छ । अर्कोतर्फ नयाँ–नयाँ अरू प्रक्रिया पनि सुरु भइरहेको छ ।’ गुरुङले चुनावकेन्द्रित गरेर नयाँ गठबन्धनका लागि एमालेले पनि अनौपचारिक तहमा वार्ता र छलफल चलाइरहेको स्वीकार गरे । ‘अहिले घोषित रूपमा पार्टीले कसैसँग वार्ता गरेको छैन, तर आजको खुला प्रतिस्पर्धाको राजनीतिमा व्यक्ति–व्यक्ति तहमा कुराकानी भई नै रहेको छ । 

अहिले नै सबै निक्र्योल गर्न सकिन्न र कुरा नकारात्मक पनि छैन,’ गुरुङले भने । एमालेका दोस्रो तहका नेताहरूले माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेतासँग सम्भावित गठबन्धनकै विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । त्यस्तै, लोसपा र डा. भट्टराईले नेतृत्व गरिरहेको जसपाको एउटा समूहसँग एमालेले सम्भावित गठबन्धनका लागि प्रारम्भिक कसरत अगाडि बढाइरहेको छ । गुरुङले सत्तारूढ गठबन्धनभित्र अन्तरविरोध चर्किंदै गएको पछिल्लो विकसित परिस्थितिमा सरकारले गरेका जनविरोधी क्रियाकलापको भण्डाफोर अभियान चलाएर एमालेले थप शक्ति आर्जनसहित आफ्नै सामाथ्र्यमा प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्ने पार्टीको प्राथमिकता रहेको बताए । 

‘हामी गठबन्धनले गरेका जनविरोधी क्रियाकलापको भण्डाफोर अभियान सञ्चालन गर्छौं । व्यापक जनताको बीचमा पुग्छौँ र एमालेमा प्रवेश गराएर शक्ति वृद्धि गर्दै निर्वाचनको तयारीमा लाग्छौँ,’ गुरुङले भने । उनले स्थानीय निर्वाचनको परिणामबाट पार्टीको मत बढेको र पपुलर मतमा पहिलो रहेकाले त्यही जगमा टेकेरै चुनावको तयारी गर्ने पनि प्रस्ट्याए । नेकपा एकताका लागि वामदेव गौतमले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानले अहिलेको राजनीतिक शक्तिसन्तुलनमा कुनै प्रभाव नपार्ने एमालेको विश्लेषण छ । 

 अन्तर्घात पत्ता लगाउन कार्यदल
सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुख सदस्य छन् । कार्यदललाई स्थानीय तह निर्वाचनसम्बन्धमा परेका विभिन्न उजुरीको छानबिन गर्ने र आवश्यक कारबाही गर्ने कार्यादेश दिइएको छ ।

 प्रशिक्षणको जिम्मेवारी उपाध्यक्षलाई 
एमालेले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण पनि चलाउनका लागि उपाध्यक्षहरूलाई जिम्मेवारी तोकेको छ । जसअनुसार प्रदेश १ मा ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीले प्रशिक्षण तयारीको संयोजन गर्नेछन् ।

 चौध विभागमा सचिव चयन 
सचिवालय बैठकले चौध विभागका सचिव मनोनयन गरेको छ । जसअनुसार वित्त तथा कोष व्यवस्थापन विभाग सचिवमा डा. भीष्म अधिकारी, संगठन विभाग सचिवमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभाग सचिवमा मोहनी खनाल, श्रम तथा रोजगार विभाग सचिवमा जनक चौधरी, संसदीय विभाग सचिवमा डा. सूर्य पाठक चयन भएका छन् ।
त्यसैगरी, सामाजिक सेवा विभाग सचिवमा डा. नेत्रप्रसाद तिमल्सिना, संस्कृति विभाग सचिवमा राजेश थापा, स्थानीय तह विकास विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभाग सचिवमा गगन विष्ट, परराष्ट्र मामिला विभाग सचिवमा डा. अञ्जान शाक्य, संघीय मामिला तथा सामान्य प्रशासन विभाग सचिवमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुंगाना, अर्थ तथा योजना विभाग सचिवमा योगेन्द्र शाही र कानुन विभाग सचिवमा डिल्लीराम मैनाली चयन भएका छन् ।

 गठबन्धनमा विभाजन आउँदा एमाले हात बाँधेर बस्दैन
पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले

सत्तारूढ दलमा भएकाले गठबन्धन कायम गर्छौं भने पनि त्यो कायमै रहन्छ भन्ने विश्वास छैन । माओवादी र एकीकृत समाजवादीले कांग्रेसबाट अपमान महसुस गरेका कारण ती पार्टीभित्रै गठबन्धन कायम राख्नु उचित छैन भन्ने मत उठेको छ । घटनाक्रम कसरी विकास भएर जान्छ, हामी हेर्ने पक्षमा छौँ । जसपा झन्डै विभाजनको संघारमा छ, विभाजितमध्ये कुन शक्ति कता लाग्छ, भविष्यले देखाउला । त्यस्तो अवस्थामा हामी पनि हातखुट्टा बाँधेर बस्ने स्थिति हुँदैन, सबैले आ–आफ्नो खेलोफड्को गरी नै हाल्छन् । त्यो स्थितिमा अहिलेको शक्तिसन्तुलन भत्किने, केही न केही कमजोर बन्ने स्थिति देखिन्छ । अर्कोतर्फ, नयाँ–नयाँ अरू प्रक्रिया पनि सुरु भइरहेको छ ।

ad
ad
ad
ad