मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २० सोमबार ०७:२६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘निष्कासन’मा परेका कमरेड वामदेव

वामदेव गौतमको पछिल्लो ‘निष्कासन’ वाम आन्दोलनको एउटा विसंगत अध्यायको करुण अन्त्य हो

Read Time : > 4 मिनेट
२०७९ असार २० सोमबार ०७:२६:००

स्थानीय निर्वाचनको परिणामसँगै केपी ओलीको घट्दो ‘भिजिबिलिटी’ मात्र होइन, नेकपाकालमा ‘किङ्मेकर’का रूपमा चर्चामा आइरहने वामदेव गौतमको लामो मौनता पनि देशलाई बिझाइरहेको थियो । मुलुकमा सक्रिय दर्जनौँ वाम पार्टीलाई एउटै बनाउने संकल्पसहित अर्को एउटा नयाँ वाम पार्टी खोलेर गत साता उहाँ फेरि दृश्यमा आउनुभयो । एक त वामदेव रंगमञ्चमा फर्किएको खुसी र अर्कातिर पार्टीसँग ‘देशै चकित हुने’ घोषणासहितको त्यो अभियान आफैँ चकित त्यतिखेर भयो, जब घोषणाको पाँच दिन नबित्दै वामदेव गौतमलाई पाँच बुँदे आरोपसहित उनकै ११ कार्यकर्ताले अभियानबाट निष्कासनको घोषणा गरे ।

वाम पार्टीमा यो निष्कासन न पहिलो हो, न अन्तिम । न अनुचित, न विवेकहीन । यो त पार्टीको शुद्धीकरण र पवित्रीकरण हो । एकताका ‘सच्चा’ वामपन्थीले बुझिने कुरै गर्दैनथ्यो । बुझिने कुरा माक्र्सवादी पनि मानिँदैनथ्यो । हरेक प्रसंग ब्रह्माण्डको उत्पत्तिबाट सुरु हुन्थ्यो । आफैँले नबुझेका डरलाग्दा दार्शनिक शब्दावली र महान् कमरेडहरूका उद्धरणविना आन्दोलन कमजोर हुन्थ्यो । विश्वका कम्युनिस्ट आन्दोलनका कति राम्रा पक्ष नेपाली कमरेडहरूले सिके, त्यसको समीक्षा हुँदै गर्ला, तर नराम्रा पक्ष कत्ति नबिराई सबै सिके । अघिल्लो रातसम्म सँगै लडेको कमरेडले भोलि बिहान थोरै फरक सोच्यो कि जन्मजात चोर र गद्दार घोषणा भयो । पुष्पलाल गद्दार र निर्मल लामा सिआइडी मानिएको ‘पवित्र’ आन्दोलनमा वामदेवको निष्कासन ठूलै घटना पनि होइन । 

सम्बन्ध टुटेपछि पनि दायित्व बाँकी हुन्छ, तर कमरेडहरू त्यसका अपवाद हुन् । कमरेडहरूले ७३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनमा एक–अर्कालाई लगाएका आरोपका ‘बुँदा’ बाट धागो निस्कन्थ्यो भने नेपाल मात्र होइन, दक्षिण एसिया नै कपडामा आत्मनिर्भर भइसक्थ्यो । पाँचबुँदे आरोपसहित वामदेव निष्कासन भएकै दिन चितवन राष्ट्रिय निकुञ्जले चार नरभक्षी बाघको आनीबानी सुध्रिएको भन्दै तिनलाई फेरि प्राकृतिक स्थानमा छाडेको छ । नरभक्षी बाघसमेत सुध्रिन सक्ने यो पवित्र देशमा वामपन्थीहरूलाई सुधार्ने शक्ति भने अझै भेटिएको छैन ।

कांग्रेस युवा नेता प्रदीप पौडेल एउटा प्रसंग सुनाइरहनुहुन्छ । शाही शासनविरोधी आन्दोलनमा उहाँलाई विभिन्न जेल घुमाउँदै भक्तपुरको बोडेमा कुनै तालिम केन्द्रको भवनमा थुनियो । त्यहाँ जनवादी युवा लिगका एकजना कमरेड पनि एउटै कोठामा थिए । मेक्सिम गोर्कीको ‘आमा’ देखेपछि ती कमरेडले म पढ्छु भनेर लगे । १५ दिनसम्म एउटै पाना नपल्टाएको देखेपछि प्रदीपले उनलाई सोध्नुभएछ ‘किताब त हेर्दै हेर्नुभएन नि ।’ उनले जवाफ दिएछन्, ‘यो किताब पढ्न हुन्छ कि हुन्न भनेर पार्टीलाई पत्र पठाएको छु, अझै जवाफ आएको छैन ।’ यस्ता ‘पूज्य’ कम्युनिस्ट अब देशमा धेरै छैनन् । अब त हरेक कमरेड एउटा पार्टी हुन् ।

५०औँ वर्ष शासन गर्ने उद्घोषसहित गठन भएको नेकपाको सानो इतिहासको ठूलो हिस्सा वामदेवको नृत्य–व्यवस्थापनमा खर्च भयो, भलै कहिल्यै खुलेर नाच्न नपाएको उहाँको गुनासो बाँकी नै रह्यो । उमेरले सम्भवतः सबैभन्दा पाको भएपनि नेकपाको सचिवालयमा सबैभन्दा सानो र ‘क्युट’ बच्चा वामदेव गौतम नै हुनुहुन्थ्यो । नेकपाका सबै गुटले वामदेवलाई बच्चाकै रूपमा प्रेम र प्रयोग गरे । वामदेवले पनि त्यसको भरपुर आनन्द उठाउनुभयो । कसैले वामदेवलाई चकलेट देखायो, रमिता भयो । कसैले वामदेवको चकलेट लुकायो, अर्को रमिता भयो । यस्तै–यस्तै रमिता मिसिएर अन्तिममा नेकपा नै एउटा रमिता भयो । 

०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको लज्जाजनक पराजयपछि धेरैलाई लागेको थियो, अब शेरबहादुर देउवाका ज्योतिषको तेज र प्रताप सकियो । नेकपा विभाजनपछि देउवा फेरि बालुवाटार फर्केर लालमाछाकै तेलमा लालमाछा फ्राई गरिरहनु भएको छ, त्यो पनि लालमाछाकै अनुरोधमा । यो देउवाका ज्योतिषको प्रताप हो कि लाल कमरेडहरूको विवेकको पतन ? र, यो पतनमा कमरेड गौतमको हिस्सेदारी कति हो ?

उमेरले सम्भवतः सबैभन्दा पाको भए पनि नेकपाको सचिवालयमा सबैभन्दा सानो र ‘क्युट’ बच्चा वामदेव गौतम नै हुनुहुन्थ्यो । नेकपाका सबै गुटले उनलाई बच्चाकै रूपमा प्रेम र प्रयोग गरे । वामदेवले पनि त्यसको भरपुर आनन्द उठाउनुभयो । कसैले वामदेवलाई चकलेट देखायो, रमिता भयो । कसैले वामदेवको चकलेट लुकायो, अर्को रमिता भयो । यस्तै–यस्तै रमिता मिसिएर अन्तिममा नेकपा नै एउटा रमिता भयो । 

आज केपी ओलीसँग जति शक्ति छ, त्यसको सूत्रधार कमरेड गौतम नै हुनुहुन्छ । ०७२ सालमा एमाले संसदीय दलको नेताबाट झलनाथ खनाललाई हटाएर ओलीलाई पार्टी अध्यक्षको समेत बाटो फराकिलो बनाइदिएको गौतमले नै हो । नेकपा विभाजनमा निर्णायक भनिएको ओलीमाथिको १९ बुँदे आरोपका हरेक कडा भाषामा वामदेव हुनुहुन्थ्यो । पछिल्ला तीन दशक उहाँ कहिल्यै विवेकले चल्नु भएन, त्यसैले सबैले उहाँका महत्वाकांक्षामाथि खेले । नेकपाका सबै गुटले नाच्न उकासे, तर कहिले मञ्च बनाइदिएनन्, कहिले पोसाक लुकाइदिए, कहिले गीत गाइदिएनन् । र, वामदेवको आत्मा अतृप्त रहिरह्यो । 

नेपालको वाम आन्दोलनको जगमा प्रेम छैन, घृणा छ । कमरेडहरूसँग सबैभन्दा ठूलो केही छ भने शास्त्र छ, सामान्य होइन, जादुमय शास्त्र । शास्त्रको बग्गीमा चढाएपछि कुण्ठा पनि क्रान्ति हुन्छ र ईष्र्या पनि । शास्त्रको जलले छर्केपछि विभाजन पनि पवित्र हुन्छ र एकता पनि । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सिपी मैनालीलाई उपप्रधानमन्त्री बनाइयो । पार्टीभित्र अलिकति विरोध पनि भयो । ओलीको जवाफ थियो, ‘सिपीले सधैँ ठूला कुरा गर्‍यो, कहिल्यै मलाई नेता मानेन । उपप्रधानमन्त्री बनाइएपछि अब दिनदिनै यहाँ (बालुवाटार) आउँछ, घन्टौँ कुर्छ र मलाई नमस्कार गर्छ । मैले त्यसै उपप्रधानमन्त्री बनाएको होइन ।’ पार्टीको चित्त बुझ्यो । यो प्रसंग सिपी आफैँले एउटा अन्तर्वार्तामा बताएका हुन् । यस्ता कुण्ठा पनि माक्र्सवादको बग्गी चढेर पवित्र भएकै छन् ।

स्थानीय निर्वाचनका वेला कांग्रेसलाई डर थियो, माओवादी र समाजवादीको मत आफूलाई आउला कि नआउला ? खासमा कांग्रेसले बुझेकै थिएन, कमरेडहरूले प्रेम बरु धेरै निर्वाह गर्न नसक्लान्, तर घृणा मनदेखि नै निर्वाह गर्छन् । सिंगापुरको सपना देखेका हामी अब श्रीलंकाको दुःस्वप्नले त्रसित छौँ । विदेशी मुद्रा भण्डार घटेको छ । आयात र निर्यातको अनुपात एक र १५ पुग्दै छ । उत्पादन र उत्पादकत्वमा हामी संसारमै सबैभन्दा पछाडि छौँ । देशको करिब ४६ लाख नागरिक खाद्य संकटको सामना गर्दै छन् । तर, अर्थव्यवस्था र सामाजिक क्षेत्रको वामपन्थ कसैलाई थाहा छैन, न शिक्षा, न स्वास्थ्यको वामपन्थ थाहा छ । वामदेवका लागि पनि वामपन्थ केवल संख्याकै खेल हो र वाम एकता पनि समाज बदल्न होइन, संख्या बदल्न चाहिएको हो ।

वामपन्थीहरू खासमा सबैभन्दा धेरै सामाजिक छन् । तिनलाई आफ्नोभन्दा छेउका पार्टीको चिन्ता छ । विभिन्न चिरामा विभाजित माओवादीहरू आफ्नोभन्दा अर्काको पिरले सुकेका छन् । एमालेका दश बुँदे भाइलाई एकीकृत समाजवादीको जति चिन्ता छ, त्यति त्यही पार्टीकालाई छैन । एकीकृत समाजवादीलाई दश भाइको जति चिन्ता स्वयं दश भाइलाई छैन । हेमन्तप्रकाश ओली र नेत्रविक्रम चन्दका क्रान्तिकारी आरोप–प्रत्यारोपलाई तपाईं क्रान्तिभन्दा बाहिर राख्न सक्नुहुन्न । कमरेडहरूको रातो बग्गीमा माक्र्स होइन, ओम्नी र यती चढेको हामीले देखेकै छौँ । फिडेल क्यास्ट्रोसँग स्वास्थ्य र शिक्षाबारे केही सिक्न परेन, न चे ग्वेभाराबाट वर्गीय प्रतिबद्धता । न सोभियतकालको प्रारम्भिक पूर्वाधार निर्माण, न त चीनले गरिबीबाट उकासेका ९० करोड जनताको कथा सिक्नुपर्‍यो । आपसी दोषारोपणको राजनीतिले नै वामपन्थको यति गज्जब पसल चलिरहेको छ भने किन चाहियो थप ज्ञान ?

वामदेवलाई सधैँ लाग्यो, नेपालको वामपन्थी आन्दोलनले आफ्नो उत्कर्ष भेट्नै बाँकी छ । नेकपाकालमा उहाँलाई त्यो झन् बढी लाग्यो । अब नेकपा पनि इतिहास भइसकेपछि वाम आन्दोलन पक्कै चुनौतीपूर्ण मोडमा छ । आफ्ना कुण्ठाप्रति वामदेवलाई कुनै हीनताबोध देखिएन, न प्रधानमन्त्री पदको नांगो महत्वाकांक्षाप्रति कुनै सरम । त्यसैले त आन्दोलनप्रति वामदेवको प्रश्न, चिन्ता र दाबी छ, उहाँलाई एकपटक पनि प्रधानमन्त्री नबनाई कसरी मर्न पाउँछ नेपालको कम्युनिस्ट आन्दोलन ?

नेपालको वामआन्दोलनमा वामदेव गौतमको योगदान पक्कै ठट्टाको विषय होइन । करिब ६ दशक लामो राजनीतिक यात्राका प्रारम्भिक तीन दशक वामदेवले समाजका सीमान्त मान्छेको संगठन र जागरणमा खर्च गर्नुभयो । तर, खुला राजनीतिमा पदार्पणपछि उहाँभन्दा उहाँको महत्वाकांक्षा अग्लो भयो । पुष्पलालसँग काम गरेका, बहुदलीय जनवादको त पहाडै बोकर हिँडेका, तीनपटक उपप्रधानमन्त्री, एकपटक पार्टी उपमहासचिव, पार्टी फोरेर महासचिव र अहिले संयोजक भएका वामदेवलाई हुँदाहुँदा युवराज सफलले समेत निष्कासन गर्नु वामआन्दोलनको हास्य होइन, करुण रस हो । र, यो वामआन्दोलनको एउटा विसंगत र दुर्भाग्यपूर्ण अध्यायको अन्त्य पनि हो ।