१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महानगर प्रहरीको 'बहादुरी' : मकै पोल्ने दम्पतीविरुद्ध नेपाल प्रहरीमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५५:oo

काठमाडौं महानगरपालिकाले मकै पोल्न बसेका दम्पती चेतेन्द्र आचार्य र सीता आचार्यलाई कारबाही गर्ने भएको छ। नगर प्रहरीमाथि अगुल्टाले हानेको र घुस मागेको आरोप लगाएको भन्दै महानगर प्रहरीले कारबाही गर्न लागेको हो।

महानगरको नगर प्रहरीले उनीहरूमाथि कारबाहीका लागि आइतबार नेपाल प्रहरीलाई पत्र पठाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जलाई महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पत्र पठाएका हुन्। उनले पत्रमार्फत आचार्य दम्पतीमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्।

नगर प्रहरीको चरित्रहत्या तथा सार्वजनिकस्थलमा बेइज्जत गर्ने गरी व्यवहार गरेको तथा घुस मागेको आरोप लगाएकाले कारबाही गर्न लागिएको नगर प्रहरी प्रमुख सापकोटाले बताए। ‘उहाँहरूले अगुल्टाले हानेको हो भनेर गल्ती स्वीकार गरिसक्नुभएको छ,’ उनले भने, ‘नगर प्रहरीले घुस मागेको आरोप पनि लगाउनुभएको छ। बर्दीमा खटिएको प्रहरीको बदनाम भयो। त्यसैले उहाँहरूलाई कारबाही हुन्छ।’

नगर प्रहरीमाथि लगाइएको घुस मागेको आरोप कपोलकल्पित रहेको उनको दाबी छ। नेपाल प्रहरीलाई अनुसन्धान गरी दम्पतीलाई कारबाही गर्न पत्रमार्फत आग्रह गरिएको सापकोटाले जानकारी दिए।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारनजिकै आचार्य दम्पति मकै पोल्न बसेका थिए। नगर प्रहरीको टोलीले उनीहरूको ठेला उठाएर लगेपछि महानगर प्रहरीको कदमको आलोचना भइरहेको छ। गरिखाने ठेला नै उठाएर लगेपछि आक्रोसित बनेका दम्पतीले मकै पोल्न बालेको आगोको अगुल्टो प्रहार गरेका थिए।

आफूहरूले अगुल्टो हानेको दम्पतीले स्विकारेका छन्। महानगर प्रहरीले पटक-पटक पैसा मागेर सताउने गरेको सो दम्पतीको आरोप छ। नगर प्रहरीले मकैको ठेला उठाएर लगेको भिडियोले सामाजिक सञ्जालसमेत तताएको छ। नगर प्रहरीले ज्यादती गरेको भन्दै धेरैले विरोध जनाएका छन्।

ad
ad