मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार ०७:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानसेनापति राष्ट्रसंघीय मुख्यालयमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार ०७:२५:००

शान्ति मिसनको नेतृत्व तहमा नेपाली सैनिक अधिकारीलाई अवसर दिन आग्रह

अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले शान्ति मिसनमा नेतृत्व तहमा नेपाली सैनिक अधिकारीलाई अवसर दिन आग्रह गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा उच्च अधिकारीसँगको भेटवार्तामा प्रधानसेनापति शर्माले दुईपक्षीय आपसी हित, पारस्परिक सम्बन्ध र शान्ति स्थापक मिसनमा नेपाली सैनिकले सामना गरिरहेका समस्याबारे छलफल गरेका छन् ।

प्रधानसेनापति शर्माले सेना मामिलासम्बन्धी कार्यालयका सैनिक सल्लाहकार जनरल विराम डिओप, शान्ति अपरेसन विभागका उपमहासचिव जिन पिररे ल्याक्रोइक्स, अपरेसनल सपोर्टसम्बन्धी विभागका उपमहासचिव अतुल खारे तथा शान्ति स्थापना तथा राजनीतिक मामिलासम्बन्धी विभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग प्रधानसेनापति शर्माले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । सैनिक अधिकारीहरूका अनुसार भेटवार्तामा प्रधानसेनापति शर्माले राष्ट्रसंघीय अधिकारीसँग शान्ति स्थापक मिसनहरूमा नेपाली सैनिक अधिकारीलाई नेतृत्वदायी भूमिका उपलब्ध गराउन आग्रह गरेका हुन् । 

यसपटक दुईवटा फरक–फरक शान्ति स्थापक मिसनमा फोर्स कमान्डरका लागि उपरथीद्वय निर्मलकुमार थापा र विनयविक्रम राणाले प्रयास गरेका छन् । हाल गोलान हाइट्सस्थित शान्ति स्थापक मिसनका फोर्स कमान्डर रथी ईश्वर हमाल छन् । हमालको कार्यकाल सकिन लाग्दा त्यहाँको फोर्स कमान्डरका लागि उपरथी विनय राणा प्रतिस्पर्धामा छन् । 

सुडान मिसनका लागि फोर्स कमान्डरको प्रतिस्पर्धामा उपरथी थापा छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)का लागि फोर्स कमान्डरमा कोसिस गरे पनि उपरथी अशोक सिग्देल सफल भएनन् । स्रोतका अनुसार कारमा हालकै फोर्स कमान्डरले थप एक वर्ष निरन्तरता पाएका छन् । फोर्स कमान्डर राजनीतिक प्रकृतिको नियुक्ति हो, जसमा राष्ट्रसंघीय उच्च अधिकारी निर्णायक हुनेछन् । 

यसअघि प्रधानसेनापति शर्माले वासिङ्टन डिसीमा अमेरिकी सेना र रक्षा मन्त्रालयका अधिकारीसँग भेटेर नेपाल–अमेरिका सैन्य सम्बन्धबारे छलफल गरेका थिए । शर्माले बिहीबार अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स चाल्र्स म्याकोनभिले, रक्षा मन्त्रालयको दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसिया हेर्ने उपसहायक मन्त्री लिन्डसे डब्लु फोर्ड र अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ द स्टाफका उपाध्यक्ष एड्माइरल क्रिस्टोफर डब्लु ग्रेडीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

‘भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल तथ विचार–विमर्श भएको थियो,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

लेबनान र सिरियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन भ्रमण सकेर प्रधानसेनापति शर्मा १३ असारदेखि अमेरिकामा छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किने कार्यक्रम छ । प्रधानसेनापतिको टोलीमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, रक्षासचिव किरणराज शर्मा, सेनाको शान्ति अपरेसनसम्बन्धी निर्देशनालयका प्रमुख सहायकरथी सन्तोषवल्लभ पौड्याललगायत छन् ।