अखिल क्रान्तिकारीमा असन्तुष्ट समूहद्वारा समानान्तर कमिटी घाेषणा

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को असन्तुष्ट पक्षले समानान्तर कमिटी घाेषणा गरेको छ। आज शनिबार बानेश्वरमा बसेको असन्तुष्ट समूहको भेलाले पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको हो।

संगठनकी अध्यक्ष पञ्चा सिंह एकलौटी रूपमा अघि बढेको भन्दै असन्तुष्ट पक्षले उपाध्यक्ष कार्कीको संयोजकत्वमा समानान्तर समिति घाेषणा गरेको हो। आफूहरूले पटक-पटक अवैध निर्णयहरू खारेज गर्न गरेको आग्रहलाई बेवास्ता गरिएपछि बाध्य भएर 'विधान सम्मत' विशेष राष्ट्रिय भेला आयोजक समिति घाेषणा गरेको कार्कीले नयाँ पत्रिकासँग बताए।

‘योभन्दा अगाडि उहाँहरूलाई सच्चिन र अवैध निर्णय खारेज गर्न आग्रह गर्यौं। तर पटक-पटकको आग्रह उहाँहरूले स्वीकार गर्नुभएन, कानमा तेल हालेर बस्नुभयो। त्यसपछि बाध्य भएर हामीले क्रान्तिकारी संगठनको पुनर्गठन, विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिन अघि बढेका हौँ,’ उनले भने।

आजको भेलाले भदौमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसअघि असन्तुष्ट पक्षले असार ५ गतेको केन्द्रीय समिति बैठकमा अध्यक्ष सिंहको राजीनामा मागेका थिए। विवाद बढेपछि असन्तुष्ट पक्षका केही नेताहरूलाई साे बैठकबाट निकाल्नुका साथै कार्कीसहित १० जनालाई ६ असारमा कारबाही गरिएको थियो।

सुझावित समाचार