मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १८ शनिबार ०८:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको लक्ष्य  शीर्ष तीनभित्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार ०८:३५:००

स्कटल्यान्डमा हुने विश्वकप लिग– २ को सिरिजमा धेरै खेल जिते शीर्ष तीनभित्र रहने नेपालका कप्तान सन्दीपको विश्वास

आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन त्यति राम्रो हुन सकिरहेको छैन । १५ अंकका साथ नेपाल पाँचौँ स्थानमा छ । यसै महिना नेपालले लिग २ अन्तर्गत स्कटल्यान्डमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आयोजक स्कटल्यान्ड र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । लिग २ को मध्यम तालिकामा रहेको नेपालले शीर्ष तीनभित्र आफूलाई समावेश गर्ने लक्ष्य राखेको छ । 

नेपाली टोली स्कटल्यान्डका साथै लिग २ मा बाँकी रहेका खेलमा उत्कृष्ट नतिजा निकाल्न अभ्यासका रूपमा क्यानडाको भ्रमणमा छ । क्यानडाको भ्रमणमा निस्कनुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकप लिग २ मा शीर्ष तीनभित्र रहने योजना रहेको बताएका थिए । ‘हाम्रो मुख्य लक्ष्य नै लिग २ को शीर्ष तीनभित्र रहने हो,’ क्यानडा जानुअघि सन्दीपले बिदाइ कार्यक्रममा भनेका थिए । 

पछिल्ला केही सिरिजमा नेपालले ब्याटिङकै कारण खेल गुमाएको थियो । ब्याटिङमा एकरूपता प्रदर्शन गर्न नसक्नु नै नेपालको कमजोरीका रूपमा रहेको छ । अमेरिकामा ओमान र अमेरिकाविरुद्ध जितको एकदम नजिक पुगेको नेपालले फितलो ब्याटिङ प्रदर्शनकै कारण महत्वपूर्ण अंक गुमाउन बाध्य भयो । 

ब्याटिङका साथै स्पिनर खेलाडीले पनि गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । ‘ब्याटिङमा मात्र नभएर स्पिनर पक्षमा राम्रो गर्न सकिरहेका छैनौँ,’ सन्दीपले भने, ‘यसको विपरीत फास्ट बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।’ 

जितनजिक पुगेर अंक गुमाउँदा दुःख लाग्ने उनले बताए । ‘अमेरिकाको भ्रमणमा हामी लगभग जितकै नजिकमा थियौँ, तर सहज खेल गुमायौँ,’ सन्दीपले भने, ‘बलिङ र ब्याटिङ दुवैमा जितको मुखमा पुगेर हार्‍यौँ, आउने सिरिजमा धेरैभन्दा धेरै खेल जितेर शीर्ष तीनमा पर्ने लक्ष्य छ ।’ कप्तान सन्दीप नामिबिया र स्कटल्यान्ड राम्रो टोलीका रूपमा लिन्छन् । ‘स्कटल्यान्ड र नामिबिया असाध्य राम्रा छन्,’ उनले भने, ‘नेपालको लक्ष्य स्कटल्यान्डमा कम्तीमा तीन खेल जित्ने हुनेछ ।’ नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न र एकदिवसीय रक्षा गर्न बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ । नेपाल सीधै विश्वकप ग्लोबल छनोट खेल्न कम्तीमा शीर्ष तीनमा पर्नुपर्ने हुन्छ ।