मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १७ शुक्रबार १७:४३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोपीडितको चुलोमा आगो बल्दैन

सुरक्षित बास माग्न दुधे बालक च्यापेर सीडीओ कार्यालय पुग्छन् पहिरोपीडित

Read Time : > 2 मिनेट
२०७९ असार १७ शुक्रबार १७:४३:००

धादिङको गजुरी गाउँपालिका–२ चामवास बाह्रबिसेवासीको वर्षाैँदेखि बस्दै आएको थातथलो २०७५ सालको पहिरोले लग्यो। खानी तथा भूगर्भ विभागले पनि बस्नयोग्य छैन भनेर भन्यो । तर, चार वर्ष बित्दा पनि ओत लाग्ने सुरक्षित छानो नपाएका उनीहरूले अझै सरोकारवाला निकायको ढोका ढकढक्याइरहेका छन्। 

दुधे बालक काखीमा च्यापेर २६ वर्षीय पञ्चमाया तामाङको टोली शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगे। उनीहरूले सुरक्षित बस्ती स्थानान्तरणको माग राख्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन्। 

चामबास बाह्रबिसेका २१ घरपरिवारका ९२ जना पहिरोबाट प्रभावित छन्। न बस्ने वास छ न त खाने गाँस। आफ्नो जग्गाबाट उब्जनी भएको अन्नपातले एक महिना खान पुग्दैन। एउटै विकल्प ज्याला मज्दुरी गरेर जीवन धान्नुपरेको पञ्चमायाले बताइन्। खान, लाउन, बिहान बेलुका घरमा हुँदा ज्यान जोगाउन उस्तै समस्या छ। न बाँच्ने ताल आयो न मर्ने काल आयो उनले दु:खेसो पोखिन्। 

गाउँपालिकाले जग्गा भाडाका लागि मासिक रूपमा प्रतिपरिवार तीन हजार रकम दिँदै आएको छ। पालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले समेत बस्ती अवलोकन गरे। तर ,अस्थायी प्रबन्धबाहेक केही उपलब्धि भएन। कि बस्नयोग्य छ भन्नुपर्याे कि सुरक्षित ठाउँ देखाइदिन उनीहरूले आग्रह गरेका छन्। सुरक्षित स्थानमा आवास स्थानान्तरण, जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था, महिलाहरूलाई सीपसहितको साना उद्यम सञ्चालनको माग राख्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्। खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालले चामबास बाह्रबिसेवासीलाई खाद्य अधिकार तथा सुरक्षित आवासका लागि क्षमता अभिवृद्धि गर्दै सहजीकरण गरिरहेको छ ।

पहिरो पीडितसामु समस्याको पहाड

गलेर च्यातिएको टेन्ट, कतिपयको जस्ताको छानो जस्ताकै बारले बेरिएको जीर्ण अस्थायी टहरा छ। बर्खामा हावाहुरीको डर, गर्मीमा खप्नै नसक्ने तातो अनि चिसोमा कठ्याङ्ग्रिने जाडो हुन्छ। पहिरोपीडित ६८ वर्षीया धनमाया लामा भन्छिन्– ‘खान लाउन उस्तै सकस छ बस्ने वास छैन। गाउँ फर्किउँ पहिरोको डर, सरकारले गरिदिने बस्ती स्थानान्तरणकाे पनि भएन भर। दिन बिताउँ काल पर्ख भने जस्तै भयो ।’ 

उनी पहिरो आउँदा आउँदै भागेर ज्यान जोगाएको सम्झन्छिन्। सम्झँदा जिउ ढक्क फुलेर आउँछ। बस्ती चिराफारा बन्यो । उनी भन्छिन्– ‘अहिले के खाऊ के लाऊँ भएको छ। खाने गाँस छैन, बस्ने बास छैन। न त सरकारले सुरक्षित ठाउँमा सारिदिने आशा छ। दुःखको गह्रौ भारी कतिन्जेल बोक्न सकिएला र ।’ 

सुनबहादुर तामाङको ६ जनाको परिवार एउटै टेन्टमा बस्छन्। खान लाउन नपाउने पिरले उनीहरु त्रिशुलीको तिरमा बालुवा चाल्न पुग्छन्। उनले भने– ‘पेटभरी खान र इज्जत ढाक्ने एक सरो कपडा ढुक्कले लाउन पाएका छैनौं । गाँस र बास खोज्दा खोज्दै कतिखेर सास जान्छ पत्तो छैन ।’ 

ज्यानको माया मारेर जोखिम बस्तीमा बास

२०७५ सालको पहिरोले मानबहादुर तामाङको घर रहेन। त्रिपाल पनि हावाहुरीले उडाएपछि बाँच्ने आधार नभएको उनले बताए। अहिले ज्यानको माया मारेर ६ जनाको परिवार लिएर जोखिम बस्तीमा बस्न बाध्य भएको छु । उनले भने– ‘जहाँ बसे पनि ज्यान सुरक्षित नभएपछि किन स्वदेशमै परदेशी बन्नु । मरे पनि आफ्नै गाउँमा मरिन्छ । सरकारको मुख ताकेको चार वर्ष बितिसक्यो । आशा गर्नु भर नपर्नु भने जस्तै भयो ।’ 

तलबाट भासिने र माथिबाट पहिरिने उत्तिकै जोखिम छ । तर, हर्कमान तामाङ १७ महिनाको नानीसहित सातजनाको परिवार जोखिम मोलेरै बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । गाउँमा पहिरो, शिविरमा समस्याको ओइरो । उनले भने– ‘जाने ठाउँ छैन । पहिरो आउँछ भनेर डराएर पनि भएन । सुरक्षित ठाउँमा सारिदिनु भनेर बिन्ती बिसाउन नपुगेको कुनै ठाउँ छैन । स्थानीय नेतागण, सिडियोदेखि मन्त्रीसम्म सबैले बस्ती हेर्न आए । तर, बस्ती सारिदिने आश्वासन मात्रै बाँडे। कि सुरक्षित बस्ती देऊ कि नेपाली होइन भनेर सिमाना कटाइदेऊ ।’