मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार १५ बुधबार ०६:०३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महत्वाकांक्षी योजनासहित वामदेवले बनाए आफ्नै पार्टी : नेकपा पुनर्गठन नभए चुनावी कार्यगत एकता

Read Time : > 4 मिनेट
२०७९ असार १५ बुधबार ०६:०३:००

केपी ओलीसँग प्रचण्ड र माधव नेपालको तिक्ततापूर्ण सम्बन्ध छ, आजको दिनमा उनीहरूलाई एउटै मञ्चमा राख्नसमेत कठिन छ । तर, गौतमले उनीहरूलाई मिलाउनेसम्मको जटिल कोर्स सुरु गरेका छन् । 

७३ वर्षका वामदेव गौतमले योजनासहित नयाँ दल खोलेर सक्रिय राजनीति थालेका छन् । एमालेबाट राजीनामा दिएर राजनीतिमा निष्क्रिय रहेका गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा गर्दै सक्रिय राजनीति सुरु गरेका हुन् । 

११ र १२ असारमा सम्पन्न पार्टी एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलापछि मंगलबार उनले पत्रकार सम्मेलन गरेर दलको घोषणा मात्र गरेनन्, यसको महत्वाकांक्षी योजना पनि सार्वजनिक गरे । ‘फागुन ०७७ को सर्वोच्च अदालतको फैसलाबाट विभाजित भएर ब्युँतिएको एमाले र माओवादी केन्द्र र एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर ३ जेठ ०७५ मा बनेको तत्कालीन नेकपाको पुनर्गठन’ गौतमको दलको मुख्य उद्देश्य छ । पाँचदलीय गठबन्धनमा गढबढ आउने र त्यसवेला आफ्नो मुद्दा स्थापित हुने गौतमको विश्लेषण छ । 

०५४ मा तत्कालीन एमाले विभाजनको नेतृत्व लिएर नेकपा माले गठनमार्फत कम्युनिस्ट आन्दोलन अगाडि बढाउने असफल प्रयास मात्रै होइन, तत्कालीन नेकपाको विभाजन रोक्नसमेत असफल बनेका गौतमको पछिल्लो महत्वाकांक्षी उद्देश्य राम्रो मानिए पनि निष्कर्षमा पुर्‍याउन भने त्यति सहज छैन । दल घोषणा गर्दै गर्दा आफैँ आश्वस्त हुन नसकेका गौतमले नेकपा पुनर्गठन सम्भव नभए अरू दुई विकल्प पनि खुला राखेका छन् । 

तीन पार्टीबीच एकता सम्भव नभए उनीहरूमध्ये जुन पार्टीसँग विचार मिल्छ उसैसँग एकता र त्यो पनि सम्भव नभए अगाडि सारिएको मुख्य कार्यभारसहित छुट्टै कम्युनिस्ट पार्टीका रूपमा अभियान अगाडि बढाउने गौतमको विकल्प छ । एमालेसँग माओवादी र एकीकृत समाजवादीको सहज र स्वाभाविक सम्बन्ध नरहेकाले गौतमलाई आफ्नो प्रस्ताव तत्काल सफल बनाउन सहज छैन । 

एमाले पार्टी विभाजनलगत्तै गौतमले भदौ ०७८ मा उपाध्यक्ष पद र पार्टी सदस्यबाट राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ठीक तीन महिना अर्थात् १० मंसिर ०७८ मा एमालेले दशौँ महाधिवेशन सम्पन्न गर्‍यो । तर, पार्टीमै रहेको भए पनि ७२ वर्षीय गौतमलाई अध्यक्षसहित कुनै पदाधिकारीको पद या केन्द्रीय कमिटी सदस्यमा ‘कमब्याक’का लागि बाधक बन्थ्यो नै । त्यसबीचमै उनले एमालेबाट विभाजित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूसँग संवाद पनि चलाए । उनको सर्त थियो– दुई अध्यक्ष र जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्नुपर्ने । तर, दुवै सर्तमा कुरा नमिलेपछि गौतम निष्क्रिय थिए । 

यसबीचमै राष्ट्रिय राजनीति एकातिर सत्तारूढ पाँच दल र अर्कातिर एमालेबीच ध्रुवीकृत भयो । स्थानीय चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको तालमेलबाट कांग्रेस धेरै स्थान जितेर ठूलो दल मात्रै बनेन, त्यही परिणामपछि वामगठबन्धनको आवश्यकताबारे बहस सुरु भयो । कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको आ–आफ्नै असन्तुष्टि र अविश्वास छ । एमालेभित्र पनि दोस्रो तहका नेताहरू वाम एकताको आन्तरिक संवादमा भित्रभित्रै जुटिरहेका छन् । 
यही मेसोमा नेकपा पुनर्गठन अभियानसहित देखिएपछि नयाँ स्पेसको खोजीमा गौतम अगाडि बढ्न खोजेको विश्लेषण गरिएको छ । ‘एमाले र समाजवादीमा उहाँको स्पेस खुम्चिँदै गएको छ । एमालेमा त झन् शून्यबराबरकै अवस्था छ । आफ्नो स्पेस बनाउन वामदेव दल घोषणा गरेर अगाडि आएको हुन सक्छ,’ राजनीतिक चिन्तक श्याम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अहिलेको चालढाल हेर्दा एमाले र माओवादी एकीकृत भइहाल्ने अवस्था त छैन । तर, त्यही एकताको कुरा गरेर साख पैदा गर्दै व्यक्तित्व निर्माणका लागि उहाँ सक्रिय राजनीतिमा आउनुभएको हुन सक्छ ।’

सत्तागठबन्धनभित्र स्थानीय चुनावको परिणाम र अमेरिकी सैन्य रणनीतिसँग जोडिएको एसपिपी सम्झौताको विषयले आन्तरिक खटपट छ । एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णयलाई तीन सातासम्म मुल्तबीमा राखेपछि सम्बन्धित पार्टी मात्र होइन, माओवादी पनि झस्किएको छ । हेरफेरको तरंगले जनता समाजवादी पार्टी फुटको तहमा पुगेको छ भने माओवादी केन्द्रभित्र गठबन्धनको औचित्यदेखि अनेक कोणबाट तरंग पैदा गरेको छ । यसले कुनै पनि वेला प्रचण्ड एमालेसँगको गठबन्धन वा पार्टी एकता ब्युँताउने तहमा पुग्न सक्ने बुझाइ गौतमको रहेको कतिपयको भनाइ छ । 

श्रेष्ठले पनि कतिपयको त्यस्तो बुझाइ ठीकै भएको प्रतिक्रिया दिए । ‘मन्त्री हेरफेर र एसपिपीको विषय आएपछि कतै शेरबहादुर देउवा हामीलाई विश्वासमा लिएर हिँड्दैनन् कि भन्ने परेकै छ, माधव रिस्क मोलेर निर्णय लिन सक्नुहुन्न, तर प्रचण्ड कुनै पनि वेला मोडिन सक्ने राजनीतिक जुवाडेजस्तै हुनुहुन्छ । पहिले पनि उहाँकै जोडबलमा एकता भयो,’ श्रेष्ठले भने, ‘जनदबाबले एसपिपी रोकिए पनि फेरि पनि नबढ्ला भन्न सकिन्न, यी सब कारण कुनै पनि वेला एकता नबढ्ला भन्न सकिँदैन, त्यसका लागि पनि वामदेव ठाउँ निर्माण गरिरहेको पनि हुन सक्छ ।’ 

वामदेवका मुख्य तीन चुनौती 
१. एक्ला वामदेव, टिममा अपरिचित अनुहार 
गौतमले नेतृत्व गरेको नयाँ दलका सचिव डिबी कार्की र श्रीमती तुल्सा थापाबाहेक ६९ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश अनुहार राजनीतिमा अपरिचित छन् । उनीहरू अधिकांश जिल्लाभन्दा माथिल्ला कमिटीमा काम नगरेका र तल्ला कमिटीमा पनि उल्लेख्य सक्रिय नरहेका व्यक्ति छन् । कुनै वेलाका पार्टी महासचिव, उपमहासचिव, पटक–पटकका सांसद, पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री बनिसकेर पार्टीमा दोस्रो पद सम्हालिसकेका गौतमका पछाडि चिनिएका अनुहार लागेनन् । यिनै कारण नेकपाको पुनर्गठनका लागि उनले देशव्यापी दबाब सिर्जना गर्ने स्थिति कमजोर छ ।

२. ओली–प्रचण्ड–नेपालको व्यक्तित्व व्यवस्थापन कठिन 
नेकपा पुनर्गठन एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच आपसी विश्वास र व्यवस्थापनस“ग पनि जोडिन्छ, जब कि अहिले केपी ओलीस“ग प्रचण्ड र माधव नेपालको तिक्ततापूर्ण सम्बन्ध छ । उनीहरूबीच सैद्धान्तिक, वैचारिक मुद्दाभन्दा व्यक्तिगत ‘इगो’ र व्यक्तित्वको टकरावको लडाइँ छ । हिजो पारस्परिक सल्लाह र समन्वयको अभाव, पदीय व्यवस्थापनका कारण नेकपा विभाजित भयो, त्यसलाई ‘रिअलाइजेसन’ गर्ने तहमा उनीहरू पुगिसकेका छैनन् । तीन पार्टीका शीर्ष नेताको पदीय जिम्मेवारी बाँडफाँड र व्यवस्थापन पार्टी एकताका लागि चुनौती बन्न सक्छ । ओली, प्रचण्ड र नेपाल तीनैजनाले सार्वजनिक रूपमा आपसमा धोकेबाज, अपमानको आरोप लगाउँदै आएका छन्, आजको दिनमा उनीहरूलाई एउटै मञ्चमा राख्नसमेत कठिन छ । 

३. अस्थिर र अविश्वसनीय पात्र 
नेकपा विवाद र विभाजनदेखि आफ्नै पार्टी घोषणासम्म पनि गौतमको अस्थिर र अविश्वसनीय छवि बनेको छ । सैद्धान्तिक र वैचारिक मुद्दा उठाउने, तर निजी स्वार्थका लागि एकै दिनमा थरीथरी कुरा बदल्ने, कहिले ‘अति र आक्रामक हुने’ कहिले तत्काल ‘पछि’ हट्ने गौतमको भूमिका पनि पार्टी विभाजनमा सहयोगी बनेको ओली, प्रचण्ड र नेपालले बताउँदै आएका छन् । अर्थात् गौतम उनीहरूको माझ अस्थिर र अविश्वसनीय पात्र बनेका छन् । पार्टी निर्माणका लागि आयोजित राष्ट्रिय भेलामै गौतमले आफू प्रचण्ड–नेपालतिर लागेर विभाजनमा सहयोगी बनेको स्वीकार गर्दै आत्मालोचना गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गौतमले पार्टी विभाजनमा ओली र प्रचण्ड मुख्य जिम्मेवार रहेको बताए भने राजनीतिक प्रतिवेदनमा चाहिँ तत्कालीन नेकपाका नौजना सचिवालय सदस्य सबै उत्तिकै जिम्मेवार रहेको उल्लेख गरेका छन् । ओली, प्रचण्ड र नेपालको विश्वास जितेर उनीहरूलाई संवादमा जुटाउनै तत्कालका लागि गौतमलाई कठिन हुनेछ । 

मंगलबार पार्टी घोषणा गर्दै वामदेव गौतमले भने–एकता नभए छुट्टै कम्युनिस्ट पार्टी चलाउँछौँ

सबभन्दा महत्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । एकीकृत हुन नसकेको अवस्थामा उनीहरूबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपूर्व कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने अर्को उद्देश्य छ । कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा उपरोक्त तीन पार्टीहरूसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसमेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ हामीले गर्ने कामको सूचीमा समावेश गरेका छौँ । तीन पार्टीबीच एकता भए उनीहरूसँगै एकता अभियान पनि एकीकृत हुनेछ । हामीले अनवरत प्रयत्न गर्दा पनि एकता सम्भव भएन भने पार्टी एकीकरण गर्ने विषयलाई पार्टीको मुख्य कार्यभारका रूपमा स्वीकार गर्ने तथा नेकपा एकता राष्ट्रिय अभियानले अगाडि सारेका विचारलाई जुन कम्युनिस्ट पार्टीले सम्मान गर्नेछ, त्यही पार्टीमा सम्मानजनक एकीकरणका लागि तयार हुनेछौँ । उपरोक्तमध्ये कुनै अवस्था सिर्जना भएन भने अभियानलाई छुट्टै कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउनेछौँ ।