१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार o७:३o:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउन निर्देशन दिएका छन् । चोभारस्थित सुक्खा बन्दरगाहको सोमबार अवलोकन गर्दै मन्त्रीले पूर्ण क्षमतामा चलाउने वातावरण मिलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन दिएका हुन् । 

काठमाडौंकेन्द्रित व्यवसायका लागि समय र लागत घटाइदिने भएकाले सरकारको लक्ष्यअनुसार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउन मन्त्री बडूले निर्देशन दिएका हुन् । ‘एकीकृत जाँचचौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरूको समय र लागत कम हुन गई आयात–निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘यसमा सञ्चालक समिति गम्भीरतापूर्वक लाग्नुपर्छ ।’

मन्त्री बडूले २२ चैतदेखि सञ्चालनमा आएको बन्दरगाहमा उपत्यकालगायत जिल्लाहरूमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरू वीरगन्ज नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी नआएको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राखेको मन्त्रालयले जनाएको छ ।  दुई सय २० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुन सके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिन सक्ने भन्दै मन्त्री बडूले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए । 

सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ । उक्त अवसरमा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्रीलाई जानकारी गराए । कार्यकारी निर्देशकले राजमार्ग सीधा नजोडिएको, व्यवसायीले नयाँ ठाउँमा रुचि नदेखाएकोलगायत कारण चोभार सुक्खा बन्दरगाह अपेक्षाअनुसार नचलेको बताए । उनले पूर्वाधार बनाउने काम समितिको भए पनि भन्सार जाँचपासको काम भन्सारतर्फको भएकाले व्यवसायीलाई आकर्षित गराउनेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइदिन उद्योगमन्त्रीलाई आग्रहसमेत गरे । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् । अविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालयपरिसर कीर्तिपुर पुगेर मन्त्रीले त्यहाँ भइरहेका गतिविधिको समेत अवलोकन गरेका हुन् । मन्त्री बडूले अविष्कार केन्द्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको पनि जानकारी दिए । 

पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरूलाई समाजको आवश्यकताअनुरूप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको छ,’ उनले भने ।

ad
ad
ad
ad