मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार २१:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हत्यालाई सडक दुर्घटना बनाउन खोज्ने चार पक्राउ  

Read Time : > 1 मिनेट
२०७९ असार १३ सोमबार २१:४१:००

बाँकेको बैजनाथ गाउँपालिकाका–६ निवासी ३० वर्षीय मिलन भनिने दीक्षित खड्काको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । एक युवाको समूहले बैजनाथ–४ स्थित रत्न राजमार्गमा खड्कामाथि आक्रमण गरी घाइते बनाएको थियो । आक्रमणपछि उनीहरूले सवारी दुर्घटनाको रूप दिन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरको टोली घटनास्थल पुगेर आक्रमणमा संलग्न चारजना युवालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए । 

सोमबार बिहान करिब २ बजे कुटपिटपछि खड्कालाई सडकको बीच भागमा छोडिएको अवस्थामा फेला पारिएको उनले बताए । घाइते खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि १३ असार बिहान थप उपचारका लागि काठमाडौं लगिएको थियो । सीता एयरको एयर एम्बुलेन्सबाट वीर अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको दिउँसो मृत्यु भएको थियो । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा बैजनाथ गाउँपालिका–३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र बैजनाथ–४ का गोविन्द विकलाई पक्राउ गरेको डिएसपी मल्लले जानकारी दिए । उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सोमबार दिउँसो सार्वजनिक गरिएको छ । ‘घटनाको जानकारी पाएको तीन घण्टाभित्र घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएका छौँ,’ उनले भने । 

घटनामा संलग्न शाही, बुढामगर, थापामगर र विक बैजनाथ गाउँपालिका–३ का पदम सुनारको घरमा जन्मदिनको पार्टीमा सहभागी भएका थिए । ‘उनीहरूले सोही रात गाउँकै अनुशा कटेजमा मादक पदार्थ सेवन गरेको र फेरि जन्मदिनको पार्टीमा गएर नाचगान गरेको अनुसन्धानले देखाउँछ,’ डिएसपी मल्लले भने । जन्मदिनको कार्यक्रम सकेर फर्किने क्रममा बिहान करिब २ बजे पैदल कोहलपुर आउँदै गरेका उनीहरूसँग खड्काले बसपार्क जाने बाटो सोधेपछि विवाद भएको प्रहरीसमक्ष बयान दिएका छन् । 
मदिराले लठ्ठिएका युवाले खड्कामाथि लाठीलगायतले अन्धाधुन्ध प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘घटनालाई सवारी दुर्घटनाजस्तो देखाउन उनीहरूले घटनास्थलबाट बोकेर सडकको बीच भागमा राखेर आ–आफ्नो घरमा सुत्न गएको देखिन्छ,’ डिएसपी मल्लले भने । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।