मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १३ सोमबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'बजेटलाई इतिहासले पुष्टि गर्नेछ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १३ सोमबार १७:३८:००

अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । 

अर्थमन्त्रीले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरू सुझावको आधारमा ल्याएको दाबी गरे । उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकांक वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए ।

‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने, यति गरिबी हटाउने, मानव सूचकांक यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरू छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुने र भोलि देशको औद्योगिकीरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो कि गलत थियो त्यतिवेला पुष्टि हुनेछ,' उनले भने, 'यति वेला मैले भन्न सक्ने कुराहरू होइन । यो बजेट अर्थमन्त्रीले व्यक्तिगत रूपमा होइन, यो देशमा प्रतिष्ठित व्यवसायीहरू, अर्थविद्हरू, नागरिकहरू र सबै मान्य सदस्यज्यूहरूको सुझावका आधारमा प्रस्तुत गरिएको हो । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्नेछ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरूमा पूर्ण रूपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु । लिन तयार पनि छु । अहिलेको सरकार तयार छ ।’