१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ८ बुधबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ८ बुधबार ०६:५८:००

समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका छन् । उनले देशभरिबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी बनाएको स्पष्ट गरेका छन् । 

सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लामिछानेले मंगलबार आयोजित कार्यक्रममार्फत नयाँ पार्टी घोषणा गर्दै घन्टी चुनाव चिह्न प्रस्ताव गरेका छन् । संघ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका हुन् । आफ्नै नेतृत्वमा बनेको पार्टीको तत्कालका लागि २१ सदस्यीय केन्द्रीय समिति रहने लामिछानेले बताए । 

उनले केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा माथि युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा जाने बताए । आफ्नो नयाँ पार्टीमा पार्टीका सदस्यहरूको मतबाट प्रधानमन्त्रीको उम्मेदवार छान्ने र प्रधानमन्त्रीको उम्मेदवारले मन्त्रिमण्डल नै घोषणा गरेर चुनावमा जान सक्ने लामिछानेले घोषणा गरे । त्यसरी चुनिएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यक्तिलाई पार्टीको साधारण सदस्यले मतमार्फत फिर्ता र अस्वीकार दुवै गर्न सक्ने वैधानिक व्यवस्था गरिने उनको भनाइ छ ।

पार्टीभित्र पूर्ण रूपमा डिजिटल डेमोक्रेसीको व्यवस्था लागू गर्ने, परिवारवादलाई पूर्ण निषेध गर्ने, भ्रातृ संगठन र कार्यकर्तारहित पार्टी बनाउने पनि उनको घोषणा छ । कार्यकर्ताले सीपमूलक कार्यक्रम र मतदानबाहेकमा सहभागी हुनुपर्ने उनले जानकारी गराए । 

स्वतन्त्र पार्टीले ठूला उद्योगी–व्यापारीबाट चन्दाको गन्धा धन्दा नगर्ने, कार्यकर्ता र शुभेच्छुकबाट सहयोग संकलन गरेर पार्टी चलाउने, खर्चहरू वेलावेला औपचारिक सार्वजनिक गर्ने, पार्टीबाट उम्मेदवार बन्न चाहने प्रत्येक उम्मेदवारले आ–आफ्नो क्षेत्रको विकास र सुशासनको भावी मोडल प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिने लामिछानेले बताए । 

विभिन्न राजनीतिक दलसँग कुरा भए पनि आफू नयाँ दल खोल्ने निष्कर्षमै पुगेको जानकारी दिँदै व्यवस्थाभन्दा पनि जनताको अवस्था परिवर्तनका लागि राजनीतिमा होमिएको उनले बताए । शेरबहादुर देउवा, केपी ओली, प्रचण्डसँग विगतमा थुप्रै प्रश्न गरे पनि अब संसद्मै उभिएर प्रश्न गर्न चाहेको उनको भनाइ थियो । 

आमनागरिकलाई चाहिएजस्तै राजनीतिक दल बनाएर क्षमतावान् मान्छेका साथ देशलाई नयाँ म्यान्डेट दिने तयारीसहित मैदानमा आएको भन्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेलाई पार्टीमा सहभागी हुन आह्वान पनि गरे । राजनीतिक नेतृत्व दिन असक्षम भए आफूलाई ढुंगा हान्न समर्थक, शुभेच्छुकलाई चुनौती दिए ।

‘सुरुवात कसैले गरे पनि मैले नेतृत्व लिएको हुँ । क्षमता नभई–नभई ¥याल–सिंगान चुहाएर पार्टीमा बस्दिनँ, ढुंगा हान्नुहोला । क्षमता नभएको दिन पार्टीमा बसेछु भने जहाँ बसेको छु, त्यहीँ ढुंगा हान्नुहोला,’ उनले भने । 

दल घोषणा कार्यक्रममा चुनाव चिह्न घन्टा प्रस्ताव गर्दै उनले भने, ‘अब भ्रष्टहरूको दिमागमा घन्टी बजाउँछौँ । यो सुशासनको घन्टी हो । भ्रष्टका लागि जनाउ घन्टी हो । विकास र सुशासनको यात्राको घन्टी हो । यही चुनाव चिह्न लिएर दल दर्ताका लागि निर्वाचन आयोगमा जान्छौँ ।’

कहाँबाट चुनाव लड्लान् लामिछाने ?
पार्टी घोषणासँगै संघीय निर्वाचन लड्ने बताएका लामिछानेले कहाँबाट लड्ने भन्नेबारे स्पष्ट गरेका छैनन् । आफूलाई निर्वाचन क्षेत्रबारे पनि प्रश्न आइरहेको भन्दै उनले पार्टीका सदस्यहरूको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताएका छन् । ‘मलाई कुन निर्वाचन क्षेत्रबाट उठ्ने प्रश्न आइरहन्छ । हुन त मलाई झापा, डडेल्धुरा, चितवनबाट चुनाव लड्न मन छ । म झापा, डडेल्धुरा, चितवनमा चुनाव लड्न डराएको त होइन, तर सरकारमा को छ र तिनले कस्तो चुनाव गराएका छन् भन्नेमा सचेत छु,’ उनले भने, ‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईंहरूको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकले मलाई मात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनुहुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौँ ।’