मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Thursday, 27 August, 2026
२o७९ जेठ २७ शुक्रबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक साताभित्र पाठ्यपुस्तक नपुगे नेविसंघ मुगुले आन्दोलन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार १७:२४:oo

जिल्लामा पाठयपुस्तक उपलब्ध नभएको भन्दै नेपाल विद्यार्थी संघ मुगुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ। पठनपाठन सञ्चालन भएको महिना दिन पुग्दासम्म पाठयपुस्तक नपुग्दा १७ हजार विद्यार्थीको पठनपाठनमा असहज भएको भन्दै नेविसंघ मुगुले जिल्ला शिक्षा विकास समन्वय इकाइ, ४ वटै स्थानीय तहका शिक्षा शाखा र स्थानीयतह पुस्तक बिक्रेताको ध्यानाकर्षण गराएको हो ।

विद्यालय खुलेको एक महिना भइसक्दा पनि पाठयपुस्तक उपलब्ध नहुँदा मुगुका १७ हजार विद्यार्थीको पढाइ अन्योल भएको नेपाल विद्यार्थी संघ मुगुका संयोजक सोबिन्दबहादुर मल्लले बताए । जिल्लामा तत्काल पाठ्यपुस्तक ढुवानी गरेर पठनपाठन सहज गराइदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको मल्लको भनाइ छ ।
ध्यानाकर्षण-पत्र बुझाएको एक साताभित्र पुस्तक जिल्लामा नपुर्‍याए सशक्त रूपमा आन्दोलन गरिने मल्लले बताए ।कोरोना महामारीले तीन वर्षसम्म विद्यार्थीले राम्रोसँग अध्ययन गर्न नपाएकाे र अहिले फेरि पुस्तक नपाएर विद्यार्थीको पढाइमा अवरोध पुगेको मल्लको भनाइ छ ।

शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअगावै हिमाली जिल्लामा पाठयपुस्तक पुर्‍याइसक्नुपर्ने नियम भए पनि सरकारले अहिलेसम्म मुगुमा पाठयपुस्तक ढुवानी गर्न नसकेको मल्लको आरोप छ ।गत जेठ २ गतेबाट शैक्षिक सत्र सुरु भई विद्यार्थी भर्ना अभियान सकेर सामुदायिक विद्यालयमा पठनपाठन सुरु भए पनि सरकारले पाठयपुस्तक उपलब्ध गराउन सकेको छैन ।

छायाँनाथ रारा नगरपालिकाभित्रका विद्यालयको लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ भने मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका विद्यालयको निम्ति युके जनरल स्टोरले लिएको छ ।