मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार ०८:५७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मधेसको जादुमयी यथार्थ ‘कथा कस्तूरी’

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार ०८:५७:००

नयनराज पाण्डेको ‘सर्पदंश’ कथा पढ्दै गर्दा बाल्यकालको स्मृतितिर पुगेछु । यसलाई त नाटकमार्फत देखाउन पाए हुने जस्तो लाग्यो र ‘कथा कस्तूरी’ जन्मियो । साथै नाटकलाई आफैँले निर्देशन गर्ने योजना पनि बनाएँ । सर्पदंशमा मेरो बाल्यकालको ‘मिथ’ पनि पाएँ । कथाका धेरै अंशले मेरो बाल्यकालको स्मृति ताजा गराइदियो । 

मधेसमा सर्पलाई मार्नु हुँदैन भन्ने मान्यता छ । यदि सर्पलाई मार्‍यो भने अर्काे सर्प आएर आक्रमण गर्छ भन्ने कथन व्याप्त छ । यो ‘फिक्सन’ हो वा ‘रियालिटी’ ? यो द्विविधा छ । यो कुरालाई नाटकमार्फत भन्न खोजेकी हुँ । सर्पदंश पढेपछि मधेसमा मैले देखेको जीवनलाई ताजा गरायो । यही जीवनलाई नाटकमा देखाउने प्रयास गरेको हुँ । 

मधेससँग मेरो बेग्लै सम्बन्ध छ । मलाई त्यहाँको संस्कृति र जीवनशैली निकै रोचक लाग्छ । मेरो हजुरबुबा मधेसमै बस्नुहुन्थ्यो । मेरो बुबा मधेसमै जन्मिनुभएको रहेछ । पछि बुबा काठमाडौंमा नै बस्न थाल्नुभएछ । हामी पनि काठमाडौंमै जन्मियौँ, हुर्कियौँ । स्कुल बिदाको समयमा आमाले गाउँतिर लैजानुहुन्थ्यो । जहाँ उखुबारी, मिलको आवाज र काम गर्ने कामदार देखिन्थे । 

हजुरबुबाको जमिदारी थियो । पहाडियाहरू काम गर्दैनथे, मधेसका मानिसहरू मात्रै खेतमा, मिलमा र उखुबारीमा काम गर्थे । त्यो देख्दा मलाई अचम्म लाग्थ्यो । बिस्तारै आर्ट, साहित्य बुझ्दै गएपछि त्यो एक खालको शोषण, दमन रहेछ भन्ने लाग्यो । मलाई त्यो कुराले ‘क्लिक’ गर्‍यो । यो कथाले बाल्यकालमा देखेको घटनासँग मलाई जोडिदियो । 

कथा पढेपछि यसलाई जुन शैलीमा पनि नाटक गर्न सक्छु भन्ने आँट आयो । त्यसपछि मैले सर्पदंश कथाबाट ‘कथा कस्तूरी’ नाटकमा ढालेकी हुँ । कथामा नाटकका लागि आवश्यक अन्य ‘इलेमेन्ट्स’ पनि पाएँ । 

‘कथा कस्तूरी’को बिहीबार पहिलो शो देखाउँदै नाट्यकर्मीहरू । तस्बिर : संजित परियार/नयाँ पत्रिका

मधेसको जीवनशैली, सामाज र संस्कृति कथामा बलियो छ । यहाँका मानिसमा सर्पमाथिका मिथक ‘फिक्सन’ हो वा ‘रियालिटी’ कन्फ्युजन छ । पुस्तकमा ‘म्याजिक रियालिजम’का कुरा पनि छन् । यही विषयले मलाई क्लिक गर्‍यो । नाटकमा कथाभन्दा बाहेकका विषय पनि जोडिएका छन् । सकेसम्म ‘रियालिस्टिक’ रूपमा देखाउन कोसिस गरेका छौँ । नाटक र कथा फरक छ । यो दर्शकले पनि अनुभूति गर्नुहुन्छ । यद्यपि, कथाभन्दा बाहिर गएका छैनौँ ।

जुन तरिकाले नयनराज पाण्डे सरले कथा लेख्नुभएको छ । त्यसरी नै नाटक देखाउन खाजेका छौँ । पात्र छनोटमा निकै समय लाग्यो । हाम्रा विद्यार्थीले गरेको कामका आधारमा पात्र छनोट गरेका छौँ । 

कथालाई नाटकमा रूपान्तरण गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । तर, हामीले ‘स्क्रिप्ट’नै नबनाई नाटक तयार गरेका छौँ । कथालाई नाटकको रूप दिन एक महिना छलफल गरेका थियौँ । 

नयनराज सरलाई नाटकमा काम गर्नुअघि हामीले बोलाएर कुरा गरेका थियौँ । उहाँले जसरी राम्रो गर्न सक्नुहुन्छ, गर्नुहोस् भनेर स्वतन्त्रता दिनुभयो । त्यो स्वतन्त्रतापछि राइटरलाई खुसी बनाउने दबाब रहेन । तर, कृति बिग्रिने हो कि भन्ने डरचाहिँ हुँदो रहेछ । अब प्रतिक्रिया कस्तो आउँछ, नाटक हेरेपछि दर्शकले पक्कै भन्लान् । उत्साह र डर लागिरहेको छ ।

शुक्रबारदेखि गौशाल पिंगलास्थानस्थित स्टुडियो थिएटरमा ‘कथा कस्तूरी’ नियमित मञ्चन हुँदैछ । कोरोना महामारीपछि ‘एक्टर स्टुडियो’को यो पहिलो नाटक हो । यो नाटकमा ‘एक्टर स्टुडियो’ का २६औं ब्याचका विद्यार्थीको अभिनय छ, जसलाई मैले निर्देशन गरेकी छु । ‘कथा कस्तूरी’ मैले निर्देशन गरेको दोस्रो नाटक हो ।