१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शारीरिक अपांगता भएकी ४८ वर्षीया पुनिकला आचार्यको दैलोमा पुगेर नागरिकता वितरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल । तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शारीरिक अपांगता भएका मानिसकाे दैलोमै पुग्न थाल्यो सरकारी अड्डा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o२:oo

सिडिओकाे कामले सरकारप्रति नागरिकको आशा बढ्यो

गुल्मीको रेसुंगा नगरपालिका- १४ की ४८ वर्षीया पुनिकला आचार्य अर्धचेत अवस्थामा बिस्तारामा ढलेको एक दशक भयो । उनी जन्मिँदै अपांग थिइन् । अझै पनि अपांगलाई समुदायले हेर्ने नजर गतिलो छैन । त्यसमाथि परिवारमा आमाबाहेकको सहयोग आचार्यले पाइनन् । 

अब आमाको उमेर पनि वृद्ध हुँदै गएको छ । झुप्रो घरमा ७० वर्षीया कुप्रो परेकी वृद्धा आमा । त्यसमाथि अचेत ४८ वर्षीया अपांग छोरी । आमालाई बुढेसकालमा निकै समस्या परिरहेको छ । 

उनीसँगै छोरीले काममा सघाउने आशा छैन । बरु एउटा मात्रै आशा थियो छोरीलाई नागरिकता कसरी बनाइदिने भन्ने । किनकि नागरिकता भए सामाजिक सुरक्षाभत्ता पाइन्छ । छोरीको नागरिकता बनाउन आमाले लामो समयसम्म निकै मिहिनेत गरिन् । 

१६ वर्षमा पाउनुपर्ने नागरिकता ४८ वर्षमा

४८ वर्षसम्म छोरी पुनिकला नागरिकताविहीन थिइन् । पछिल्लो समय मिडिया र सरोकारवालाको चासोबीच जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल उनको घरमै पुगेर नागरिकता दिए । गणतन्त्र दिवसको अवसरमा पौडेलले घरमै पुगेर नागरिकता दिएपछि नागरिक समाजलगायतका फोरमहरूमा प्रशासन र प्रशासकहरूका चर्चा र प्रशंसा सुरु भएको छ । 

कैयौँ प्रमुख जिल्ला अधिकारी जिल्लामा आए । तर, बिस्तारामा अनागरिक भएर लडेका अपांगहरूका लागि जीवन खास भएन । गुल्मीका पछिल्ला दुई सिडिओको भूमिकाले भने अपांग र विपन्न तथा विपतमा परेका परिवारलाई राहत भएको छ । 

अहिलेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुनिकलालाई घरमै पुगेर नागरिकता मात्रै दिएनन् । उनी आउनेबित्तिकै पहिरोमा परेर तीन छोरी गुमाएका रेसुंगा नगरपालिका– ८ का तिलक परियारको घरमै पुगेर सरकारको तर्फबाट राहत रकम हस्तान्तरण गरे । 

रुद्रादेवी शर्माकाे पनि प्रशंसा

पौडेलअगाडिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा पनि नागरिकता र राहत बोकेर नागरिकको घरमै पुग्ने गर्थिन् । शर्माले विपतबाट मृत्यु भएका र विभिन्न कारणले प्रशासनमै आएर नागरिकता बनाउन नपाएका व्यक्तिको घरमै पुगेर नागरिकता र राहत दिने गरेकी थिइन् । 

उनले मुसिकोट नगरपालिका– ३ ठूलापोखराकी अपांग ५० वर्षीया गोमा थापालाई घरमै पुगेर नागरिकता प्रदान गरेकी थिइन् । उनी मानसिक रोगले वर्षौँदेखि पीडित थिइन् । त्यसमाथि ढाडको समस्या थपियो । ११ वर्षदेखि उभिन सक्दिनन् । पशुचौपायाजस्तै हातखुट्टाले टेकेर हिँडडुल गर्छिन् । थापाले घरपरिवारको आर्थिक अवस्था, मानसिक तथा शारीरिक समस्याका कारण नागरिकता बनाएकी थिइनन् । 

नागरिकता बनेपछि १० वर्षदेखि वञ्चित सामाजिक सुरक्षा भत्ता पाउन थालेको भतिज कमल घिमिरेले जानकारी दिए । शर्माले मुसिकोट नगरपालिका– ४ दजाकोटमा र इस्मा गाउँपालिका– ४ दोहलीमा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई पनि राहात प्रदान गरेकी थिइन । 

नागरिकता पाउने अचेत : परिवारमा खुसी

सिडिओ घरमै पुगेर नागरिकता दिएका आचार्य र थापा दुवै अपांग र विपन्न हुन् । दुवै अचेतजस्तै छन् । आँखाले देखेर मनले खुसीको अनुभूत गरे पनि बोलेर व्यक्त गर्ने उपाय छैन । 

तर, परिवारमा छुट्टै खालको खुसी छाएको छ । विपन्न परिवार, आफ्नो उमेर र छोरीको शारीरिक अशक्तताको कारण परिवारमा  निकै समस्या परेको थियो । उनलाई छोरीले नागरिकता पाउने आस थिएन । किनकि नागरिकता बनाउने सबै उपाय मेटिएका थिए । 

तर, सिडिओ घरमै पुगेर छोरीलाई नागरिकता प्रदान गरे । छोरीले नागरिकता पाएपछि खुसी हुँदै आमाले अब आफू मरे पनि छोरीले राज्यको सुविधा पाउने विश्वास व्यक्त गरिन् । 

मुसिकोट- ३ की गोमा थापाको पनि परिवारले नागरिकताको आस मारेका थिए । सिडिओ घरमै गएर नागरिकता दिएपछि गोमाले सामाजिक सुरक्षा भत्ता पाउन थालेकी छिन् । ‘नागरिकता पाउनेभन्दा सिडिओ घर आउने कल्पना पनि थिएन । तर, भगवान् जस्तै नागरिकता लिएर घरमा आउँदा खुसी नहुने कुरै भएन,’ गोमाकी दिदी टीका घिमिरेले भनिन्, ‘गरिबको सरकार भएको महसुस भयो ।’

सिडिओकाे काम प्रशंसनीय

रेसुंगा नगरपालिका– १३ का वडाध्यक्ष धनबहादुर पुनले प्रमुख जिल्ला अधिकारीले नागरिकमा सरकारप्रतिको आशा र विश्वास थपेको बताए । ३२ वर्ष शारीरिक अशक्तताबीच अनागरिकजस्तो भएर बाँचेकी पुनिकलालाई बल्ल गणतन्त्रको महसुस भएको पुनले बताए । 

मुसिकोट नगरपालिकाका पूर्वमेयर सोमनाथ सापकोटाले घरमै पुगेर नागरिकता दिने र राहत बोकेर घरमै जाने कामले नागरिकमा राज्यप्रतिको विश्वास जगाएको बताए । 

उनले घटनापछि दुःख बोकेर राहत खोज्न प्रशासन पुग्ने बाध्यता र शारीरिक समस्याका कारण पनि प्रशासन नपुग्नेहरूलाई प्रशासनले घरमै दिएको सुविधा उदाहरणीय भएको बताए । त्यस्तै, बौद्धिक अपांग संघका जिल्ला अध्यक्ष ईश्वरीप्रसाद पौडेलले भने, ‘सिडिओसापको कामले अपांगहरूले सुखद अनुभूति गरेका छन् ।’

ad
ad