१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०९:३०:००
Read Time : > 2 मिनेट
सेयर बजार

सातामा नेप्से र कारोबार  रकम दुवै बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ३ आइतबार ०९:३०:००

गत साता नेप्से परिसूचक र कारोबार रकम दुवै बढेका छन् । लगानीकर्ताहरूको मनोबल बढेपछि कारोबारमा सुधार आएको हो । गत साताको पहिलो कारोबारका दिन नेप्सेमा प्राविधिक समस्या आएको थियो । फलस्वरूप लगानीकर्ताहरूले १ घन्टा ४५ मिनेट मात्र सेयर कारोबार गर्न पाएका थिए । पूरा समय कारोबार गर्न नपाएपछि आक्रोशित लगानीकर्ताहरूले अनलाइन प्रणालीसम्बन्धी जाँच गरी कारबाही गर्न माग गरेका थिए । यसका साथै सेयर लगानीकर्ता दबाब समूहले आगामी ९ चैतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । सो आन्दोलनको मुख्य माग अर्थमन्त्रीको राजीनामा छ ।

पाँच कारोबार दिनका लागि खुलेको बजारमा गत साता ४ कारोबार दिन ओरालो लागेको थियो । लगानीकर्ताहरूले नाफा सुरक्षित गरेका कारण सो दिन बजार ओरालो लागेको हो । नेपाल धितोपत्र बोर्डले आगामी वैशाखदेखि दोस्रो सेयरबजारमा ५ लाख रुपैयाँभन्दा बढी सेयर खरिद गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने व्यवस्था गरेको छ । साना लगानीकर्ताहरूका लागि हाल प्यान स्वेैच्छिक गरिएको छ । यस व्यवस्थालाई लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन् ।

बजार सारांश
गत साता नेप्से परिसूचक २७ दशमलव ६९ अंक बढेर १ हजार १ सय ५५ दशमलव ४६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ६ दशमलव ३६ अंक बढेर २ सय ४६ दशमलव शून्य ८ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ दशमलव २० अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ११ अंक बढेको छ । सो साता १ सय ८८ कम्पनीको २६ हजार ८ सय २८ पटकको कारोबारमा १ अर्ब ९१ करोड ४५ लाख ११ हजार रुपैयाँबराबरको ६३ लाख ९० हजार ७ सय ३५ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण

आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ६० दशमलव ४० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता ३ दशमलव ५६ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८८ कम्पनीमध्ये १ सय ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रह्यो । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ४६ दशमलव ६२ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय २६ दशमलव ९७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार ९८ दशमलव ४८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ७५ दशमलव ११ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ९४ दशमलव ७६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

नेपाल लाइफको सर्वाधिक कारोबार
गत साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारण सेयर अगाडि रह्यो । सो कम्पनीको गत साता २१ करोड ३ सय ४० रुपैयाँबराबरको १ लाख ९६ हजार २ सय ६२ कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ भने ९ करोड २८ लाख ९० हजार रुपैयाँबराबरको ८३ हजार ३ सय ८२ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा गत साता अपर तामाकोसी अगाडि रह्यो भने सेयर संख्याका आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक अगाडि रह्यो । गत साता अपरको २ हजार ६ सय ५५ पटक सेयर कारोबार भयो भने एनिसीको ४ लाख ३१ हजार २ सय ८७ कित्ता सेयर किनबेच भएको छ ।   

७५ लाख कित्ता सेयर सूचीकृत
गत साता नेप्सेमा कुल ७५ लाख ६१ हजार ९ सय ६५ दशमलव ५ कित्ता सेयर सूचीकृत भएको छ । सो साता सिद्धार्थ बैंकले २१ लाख ६२ हजार ५ सय ५९ कित्ता र सानिमा बैंकले १३ लाख ५४ हजार ७ सय १२ कित्ता डिबेन्चर सूचीकृत गरेका हुन् । त्यसैगरी, आशा लघुवित्तले २० लाख ७४ हजार कित्ता साधारण सेयर र जेबिल्स फाइनान्सले १९ लाख ७० हजार ६ सय ९४ दशमलव ५० कित्ता हकप्रद सेयर सूचीकृत गरेका हुन् । 

२२ प्रतिशत बढ्यो युनाइटेड फाइनान्सको सेयरमूल्य
गत साता युनाइटेड फाइनान्सको सेयरमूल्य २१ दशमलव ९२ प्रतिशत बढेको छ । त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १७ दशमलव ७८ प्रतिशत बढेको छ । सो साता हाथवे फाइनान्सको सेयरमूल्य ७ दशमलव २ प्रतिशत घटेको छ भने नागबेली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४ दशमलव ३८ प्रतिशत घटेको छ । 

उत्पादनमूलकबाहेक सबै समूह हरियो

गत साता कारोबारमा आएको ११ समूहमध्ये उत्पादनमूलक समूहको परिसूचक बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । सो साता जीवन बिमा समूहको परिसूचक ५५ दशमलव ९१ अंक बढेको छ । त्यसैगरी, जलविद्युत समूहको ४२ दशमलव २२ अंक, निर्जीवन बिमा समूहको ३८ दशमलव २८ अंक, होटेल समूहको ३६ अंक, वाणिज्य बैंक समूहको ३४ दशमलव ७३ अंक, विकास बैंक समूहको ३४ दशमलव ३८ अंक, वित्त समूहको १४ दशमलव ६८ अंक, व्यापार समूहको ८ दशमलव शून्य ६ अंक, अन्य समूहको ४ दशमलव ५७ अंक र लघुवित्त समूहको ३ दशमलव शून्य ८ अंक बढेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक ८ दशमलव २४ अंक घटेको छ ।