मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २६ बिहीबार o६:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाँदर र मानिसमा झाडापखाला लगाउने ब्याक्टेरिया एउटै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार o६:o९:oo

बाँदरमा देखिएको झाडापखालाको ब्याक्टेरिया मानिसमा पनि

नेपालमा भएको अध्ययनले बाँदर र मानिसमा झाडापखाला लगाउने ब्याक्टेरिया एउटै भएको पत्ता लागेको छ । सन् २०१७ देखि २०१९ सम्म नेपालको पशुपति र स्वयम्भूका बाँदरमा गरिएको अध्ययनले मानिस र बाँदरमा झाडापखाला लगाउने ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पुष्टि भएको थियो ।

उक्त समयमा झाडापखाला लागेर बाँदर बिरामी परेपछि अध्ययन गरिएको थियो, तर त्यसको नतिजाले हालै पूर्णता पाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । 

राजधानीको सिवेक अस्पतालले स्वयम्भूमा घुम्न आएका विदेशी नागरिकमा पनि अनुसन्धान गरेको थियो । झाडापखाला लागेका केही पर्यटकको दिसाको नमुना परीक्षण गर्दा बाँदरमा देखिएको ‘क्याम्पलो ब्याक्टर’ नै पुष्टि भएको थियो । सिएमडिएनले एक सय १० वटा झाडापखाला लागेका बाँदरको नमुना परीक्षण गरेको थियो ।

झाडापखाला लागेका बाँदरमध्ये ६४ वटामा ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पुष्टि भएको थियो । ‘क्याम्पलो ब्याक्टर’को डिएनए र जिनोमिक्स परीक्षण गर्दा दुईवटा नयाँ ब्याक्टेरिया पत्ता लागेको अनुसन्धानकर्ता वैज्ञानिक डा. दिवेश कर्माचार्यले बताए । एउटाको नामकरण ‘क्यान्दिदा क्याम्पाइलोबाक्टर इन्फान्ट्रस’ गरिएको छ, जुन नेदरल्यान्डमा नेपालभन्दा अगाडि पुष्टि भएको थियो, तर अर्को नयाँ भने विश्वमा पहिलोपटक भएकाले यसको नामकरण गरिसकिएको छैन,’ कर्मचार्यले भने । सन् २०१८ मा बालबालिका र वृद्धमा झाडापखाला लगाउने मुख्य कारण क्याम्पलो ब्याक्टर बनेको थियो । 

‘स्वयम्भू र पशुपतिका बाँदर र मानिसको सम्पर्क निकै नजिक छ । खान दिने र खेलाउने हुँदा यस्तो ब्याक्टेरिया सर्न सक्ने सम्भावना धेरै छ,’ उनले भने । अझ केही हप्तादेखि राजधानीको फोहोर उठेको छैन । यस्ता ब्याक्टेरिया यी फोहोरमा व्यापक हुन सक्ने चिकित्सक बताउँछन् । फोहोरबाट निस्किएको दूषित पानी खानेपानीमा मिसिएर यस्तो ब्याक्टेरिया शरीरमा प्रवेश गरी झाडापखाला लगाउँछ । 

रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले राजधानीको फोहोरले झाडापखालाका बिरामी बढ्न थालेको बताए । अझ अहिले निरन्तर पानी परेकाले फोहोर तितरबितर भएको छ । खानेपानीमा यसको फोहोर मिसिने भएकाले झाडापखालाको प्रकोप बढाएको उनको भनाइ छ ।

‘समयमा यसको व्यवस्थापन गर्न नसकेमा हैजाको महामारी निम्त्याउनेछ,’ मरासिनीले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको पूर्वतयारी अझै थालेको छैन । फोहोरले जनस्वास्थ्यमा पार्ने गम्भीर असर र यसबाट जोगिने उपायबारे मन्त्रालय मौन छ । स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले सरकारले कुनै तयारी नगरेको बताए ।