१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७५ चैत ३ आइतबार ०९:१५:००
Read Time : > 4 मिनेट
फिचर

चारो खोज्दै सहर डुल्नेहरू

Read Time : > 4 मिनेट
२०७५ चैत ३ आइतबार ०९:१५:००

घुऽँघुँऽ
दीपकराज लवटको निद्रा बुंगुरको आवाजले खुल्छ । मोबाइल हेर्छन् । बिहानको पाँच बजिसकेको हुन्छ । निस्किन्छन्, हतारिँदै । 

छ्याङ सकिएको थियो । खोरवरिपरि छरिएका पहेँला, नीला डब्बाहरू बाइक अघिपछि बाँध्छन् । सहरका फोहोर बटुल्न उनी बाइक हुइँक्याउँछन्— घुर्रघर्रऽ ! चुनिखेल, नयाँबस्ती, कपनलाई पछाडि पार्दै आइपुग्छन्, चक्रपथ । 

‘छिटो नपुगे फोहोर दिनेले हकार्छन् सर,’ ३९ वर्षीय दीपकराजले हतारोमै सुनाए ।

घडीले साढे पाँच नबजाउँदै उनी चण्डोलको एसिसिएस कलेज पुगिसक्छन् । कलेजको क्यान्टिनले थुपारेको अघिल्लो रात र बिहानको ताजा फोहोर डब्बामा भर्छन् । आठवटा डब्बा भरिए । बाँकी दुईवटा भर्न चाबहिलतिर हुइँकिन्छन् । 

मासु पसलदेखि खाजा घरसम्म, होटेलदेखि कलेजका क्यान्टिनसम्म छ्याङको छोक्रा, कुखुराको आन्द्राभुँडी, जुठो खाना बटुल्दै हिँड्नु उनको दैनिकी हो । भन्छन्, ‘यस किसिमको फोहोरले बंगुरलाई निकै राम्रो गर्छ ।’ 

फोहोरको सिठी बजेको सुन्न हरेक मान्छे आतुर हुन्छन् । चार दिन सिठी नबजे फोहोरको भाँडो भरिएको हुन्छ । मान्छे आत्तिन्छन् । अनि टोलभरि कुरा चल्छ, ‘यसपालि फोहोर लिन किन ढिलो गरेको ?’ राजधानीवासीको गन्थन हो यो । 

उनको बाइक चक्रपथबाट कपनतिर लाग्छ । उनी फर्किने हतारोमा छन् । 

छिटो पुग्नु र हतारमा फर्किनुको कारण ट्राफिक पुलिस हुन् । भन्छन्, ‘पहेँला डब्बा बोक्न अलर्ट छैन, ट्राफिकले देख्यो भने चिट काट्छ, त्यसैले सात नबज्दै फर्किनुपर्छ ।’

बंगुर फार्म पुगेर जुठो फोहोर कुँडोमा पकाउँछन् । सेलाएपछि डुँडमा हालिदिन्छन् । ४० वटा बंगुर चारोे खान हानाथाप गर्छन् ।

बिहान ७ बज्दानबज्दै उनको पहिलो टिप पूरा भयो । दिनमा तीन टिपसम्म फोहोर ल्याउनुपर्छ । पछिल्लो महिना चारोेका लागि उनले दाना किन्नुपरेको छैन ।

०००

दीपकराजले झैँ सुकमान तामाङ पनि १४ वर्षदेखि चारो खोजिरहेका छन् । दोलखाका ४५ वर्षीय सुकमानको बंगुरको खोर अहिले टोखामा छ । दुुई वर्षअघि उनको पनि कपनस्थित भंगालमै बंगुरको खोर थियो । नगरपालिकाले खोर सार्न दबाब दिएपछि टोखा पुगे ।

राजधानीको कुना–कुना प्लटिङ बढ्दो छ । घर बाक्लिएका छन् । बाक्लिँदै गएको सहरीकरणले कृषि पेसालाई किनारामा धकेल्दै छ । बंगुरपालन गरी सहरको खाद्य परम्परामा सहयोग गरिरहेका कृषक दिनप्रतिदिन सहरबाट विस्थापित हुँदै छन् । 

सुकमान पनि दैनिक तीन टिप चारो बोक्छन् । गौशालादेखि धुम्बाराहीसम्म चाहर्छन्् । प्रायः साना खाजा घर र फ्रेस हाउसबाट चारो जुटाउँछन् । उनी भन्छन्, ‘हामीले उठाएको फोहोरले हामीलाई भन्दा बढी सहरलाई फाइदा भएको छ, सहरलाई स्वस्थ राख्न हामीले पनि सघाएका छौँ ।’ 

उपत्यकाभित्र मात्रै दैनिक हजारौँ क्विन्टल फोहोर उत्पादन हुन्छ । सामान्य होटेल तथा फ्रेस हाउसमा बढी फोहोर हुन्छ । चारो खोज्नेहरूले निःशुल्क उठाउँछन् । तर, फ्रेस हाउसमा भने कुखुराका आन्द्राभुँडी किन्नुपर्ने बंगुरपालक कृषक बताउँछन् । सुकमान भन्छन्, ‘कुखुराको आन्द्राभुँडी मासिक तीन हजारदेखि पाँच हजारसम्म तिरेर किन्छौँ ।’

एक टिपमा पाँच डब्बा भरिन्छ । एक डब्बामा १८ केजी चारो हुन्छ । गिलो ताजा फोहोर भएकाले गहु्रँगो हुन्छ । पाँच डब्बा चारो ४० देखि ५० बंगुरका लागि एक लट मात्र हुन्छ ।

सुकमान साइकलमा १० वटा डब्बा बोक्छन् । सबै डब्बा भरेर मात्रै टोखा फर्किन्छन् । एक दिन फोहोर उठाएन भने होटेलवालाले हप्काउँछन् । 

०००

टोखामा मात्रै २५ वटा बंगुर फार्म छन् । एउटा खोरमा ५० देखि ७० वटासम्म छन् । ‘अब त बंगुर पाल्ने ठाउँ नै छैन, कहाँ पाल्ने ?’ १५ वर्षदेखि बंगुर पाल्दै आएका अर्का बंगुरपालक प्रेम तामाङ चिन्तित हुन्छन् । ‘बंगुरका लागि चारो बटुल्दाबटुल्दै हामी पनि फोहोरी भइसक्छौँ,’ आफ्ना हातगोडा देखाउँदै प्रेम भन्छन्, ‘दुःखले गरेको पेसालाई नगरपालिका र जग्गाधनी मिलेर खोर उठाउन लगाउँछन् । पुलिसले आएर वेला–वेलामा लखेट्छन् ।’

जग्गाधनीले कम्तीमा २० वर्षको सम्झौता गरिदिए व्यवस्थित बंगुरपालन गर्न सकिने प्रेम बताउँछन् । तर, जग्गाधनी बंगुर पाल्नका लागि भन्दा घडेरी बेच्न लालायित छन् । त्यसैले समस्या भएको उनले बताए ।

केही वर्षअघिसम्म तीन सय खोर थिए, चुनिखेल नयाँ बस्तीमा । अहिले जम्माजम्मी २०–२५ वटा खोर बाँकी होलान् । कसैले खोर सारे । कसैले बंगुर पाल्नै छाडे । नगरपालिकाले बंगुर व्यवस्थित ढंगले पाल्न सुझाइरहेको छैन । बरु खेदाइरहेको गुनासो छ, प्रेमको । उनी भन्छन्, ‘नगरपालिका र जग्गाधनी मिलेर बंगुर पाल्न दिँदैनन् ।’

बंगुरपालक कृषकहरूले ०६७ मा हकहितका पक्षमा वकालत गर्न समिति गठन ग¥यो । भत्किएको खोरसँगै तुहियो संगठन पनि । 

०००

चारोको डब्बा बोकेर आइरहेका थिए, अर्का बंगुरपालक कृषक दानबहादुर मगर । रामेछापका दानबहादुरले पनि ४० बंगुर पालेका छन् । विगत आठ वर्षदेखि चारो बोक्न थालेका हुन् । मालिक पनि आफैँ, कामदार पनि आफैँ । ‘हामले चारो नल्याइदिने हो भने, होटेल साहुहरू रिसाउँछन्,’ चारो भाँडामा हाल्दै उनले सुनाए । 

राजधानीको कुना–कुना प्लटिङ बढ्दो छ । घर बाक्लिएका छन् । बाक्लिँदै गएको सहरीकरणले कृषि पेसालाई किनारामा धकेल्दै छ ।

चाबहिल गोपीकृष्ण हलपछाडि खाजाघर चलाउँदै आइरहेकी छिन्, दीपा राई । उनको छेवैमा ‘फ्रेस मिट हाउस’ पनि छ । दुवै पसलका साहुले दानबहादुर मगरलाई हप्काइरहेका थिए । कारण-फोहोर लिन ढिलो आयो भनेर ।

नगरपालिकाको फोहोरको ट्रक चार दिनपछि आउँछ । कहिलेकाहीँ हप्ता दिन नै लगाउँछ । त्यतिन्जेलसम्म फोहोर कुहिन थाल्छन् । फोहोरको दुर्गन्ध स्वयं होटेल तथा क्यानिन्टनवालाहरू पनि सहन सक्दैनन् । ‘नगरपालिकाको भरै छैन, बरू उहाँहरूकै भर लाग्छ,’ बंगुरपालक कृषकतिर देखाउँदै दीपाले भनिन् । 

फोहोरको सिटी बजेको सुन्न हरेक मान्छे आतुर हुन्छन् । चार दिन सिटी नबजे टोलमा मान्छे आत्तिन्छन् । फोहोरको भाँडो भरिएको हुन्छ । सडेर गनाउँछ । राख्ने ठाउँको समस्या उस्तै । अनि टोलभरि कुरा चल्छ, ‘यसपालि फोहोर लिन किन ढिलो गरेको ?’ राजधानीवासीको गन्थन हो, यो । 

प्रायः बंगुरका खोर सहरको चौतर्फी बाँकी रहेको जमिनमा छन्, र त्यही जमिन जग्गाधनीले प्लटिङ गरेर बेचिरहेका छन् । घडेरी र घर बढ्न थालेपछि नवआगन्तुकहरूले गनाउने बंगुरको खोर हटाउन लगाउँछन् । ‘खेदायो नि हामीलाई । अब त एकदम गाह्रो छ,’ टोखामा २० वर्षदेखि बंगुर पाल्दै आएका रामबहादुर बमजनले सुनाए । 

नगर सफा राख्ने अभियान त चारो खोज्नेहरूले गरेझैँ भएको छ । आफ्नो पेसालाई निरन्तरता दिन उनीहरू सहरमा चारो खोजिरहेका छन् । सहरवासी बंगुर गनाएको सहन नसकेर खोर भत्काउन अपिल गर्छन् । उपत्यकाका तीनै जिल्लामा हरेक बिहान पाँच सयजना बंगुरलाई चारो खोज्न सहर पस्छन् । जसले दैनिक करिब तीन हजार किलो कुहिने फोहोर व्यवस्थापन गर्छन् । 

०५४ सालदेखि धोबीघाट नेप्से सेवा केन्द्रले फोहोर व्यवस्थापन गर्दै आएको छ । नेप्सेले सबै किसिमको फोहोर उठाउँदै आएको छ । तर, चारो खोज्नेहरूले कुहिन सक्ने सतप्रतिशत फोहोरमध्येको १५ प्रतिशत फोहोर कम गराएको बताउँछन् नेप्से सेवा केन्द्रका कार्यकारी निर्देशक टीकाराम दाहाल ।

भंगाल, टोखा, साङ्लेखोला, भक्तपुरको जगातेजस्ता ठाउँमा अहिले पनि हजारौँको संख्यामा बंगुर पालिँदै आएको छ । फोहोरलाई बंगुरको चारोका रूपमा सही प्रयोग गर्न सके थप फोहोर न्यूनीकरण हुन सक्ने बताउँछन्, वातावारण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ । बंगुरपालकले आफ्नो व्यवसाय फस्टाउन गरेको मिहिनेतले फोहोर कुहिनबाट बचेको श्रेष्ठको भनाइ छ ।

दुर्गन्ध खेप्न नपरोस् । गनाउने वस्तुअघि कोही उभिन नपरोस् । यदि उभिनुपर्‍यो भने, नाक थुनेर उभिने समाज छ । तर, अर्गानिक फोहोर खोज्न पहेँला डब्बा बोकेर सहर डुल्नेलाई प्रोत्साहन गर्न सकिए फोहोर गनाएर नाकमुख छोप्नुपर्ने थिएन । विगत १४ वर्षदेखि बंगुर पाल्दै आएका, राजु लामा खोर सार्नुपरेको दुःख सुनाउँछन्, ‘खोर सार्दा–सार्दा हैरान भएका छौँ, कम्तीमा १०–२० वर्षको स्थायी खोर निर्माण गर्न पाए हुन्थ्यो ।’ 

तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका