मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
न्यूयोर्क
२०७९ जेठ २५ बुधबार ०६:३८:००
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह

Read Time : > 1 मिनेट
न्यूयोर्क
२०७९ जेठ २५ बुधबार ०६:३८:००

अमेरिकाको न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले यहाँ रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ । 

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरेको बृहत् सामुदायिक अन्तर्क्रिया कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यस्तो आग्रह गरेका हुन् । सहभागीहरूले उठाएको प्रश्नको जवाफ दिँदै महावाणिज्यदूत गौतमले अमेरिकी राहदानी लिइसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचयपत्र लिन सुझाव दिए ।

१० वर्षको समयावधि हुने उक्त एनआरएन परिचयपत्रले धेरै फाइदा हुने उनले बताए ।  नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न वा त्यस्तै खालको हरेक कारोबार गर्न एनआरएन परिचयपत्र अनिवार्य भएको बताउँदै उनले यस विषयमा अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरू सुसूचित हुन जरुरी रहेकाे जानकारी दिए । उनले एनआरएनएले जारी गर्ने परिचयपत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै त्यसका विषयमा सामाजिक अगुवाहरूले सबैलाई प्रस्ट पार्न आग्रहसमेत गरे ।

कार्यक्रममा बाेल्दै महावाणिज्यदूत गौतमले अमेरिकामा नेपाली उत्पादन प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य भएको भन्दै यहाँ रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई नेपाली वस्तुको उपभोग गर्न आग्रह गरे ।

न्युयोर्कमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा महावाणिज्यदूत गौतमले दूतावासले दिने सेवाबारे जानकारी गराएका थिए । उनले दूतावासले ई-पासपोर्ट, एनआरएन कार्ड, मञ्जुरीनामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिसजस्ता सेवा उपलब्ध गराइरहेको बताए ।

त्यस्तै, उनले महावाणिज्य दूतावासले नगद वा ई-भुक्तानी लिन नसक्नुको कारणबारे पनि प्रस्ट पारेका थिए । महावाणिज्यदूत गौतमको जानकारीपछि सहभागीले दूतावासले प्रदान गर्ने सेवाका विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै गौतमले ई-पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव दिए । उनले नेपालबाट राहदानी नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐच्छिक बनाइएको जानकारी दिए । उनले तत्कालका लागि दूतावासले दुई वर्षको अस्थायी राहदानी जारी गर्ने सम्बन्धमा पनि स्पष्ट पारेका थिए । 

कार्यक्रममा वाणिज्यदूत गणेशप्रसाद अधिकारीले सहभागीहरूको प्रश्नको जवाफ दिँदै महावाणिज्य दूतावास छिटो र छरितो ढंगबाट सेवा दिन सधैँ तत्पर रहेको बताए । उनले महावाणिज्य दूतावास सधैँ नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै कुनै पनि गुनासोलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

दूतावासको कार्यक्षेत्र न्युयोर्क, कनेक्टिकट र न्युजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्ने नेपाली एवं नेपाली मूलका नागरिकलाई सेवा दिइरहेको भन्दै अधिकारीले समस्यामा रहेका नेपालीको सेवामा महावाणिज्य दूतावास सधैँ तत्पर रहेको बताए । 

नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेजा कार्यसमिति सदस्य लोकमणि राईले स्वागत गरेका थिए । त्यस्तै, अर्का सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नको समन्वय गरेका थिए । सचिव कल्पना घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन् । अन्तर्क्रिया कार्यक्रम नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा भएको थियो ।