शेखर ढुंगेलद्वारा लिखित कथासंग्रह ‘जात’ विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार उक्त कथासंग्रहको विमोचन भएका हो।
कथासंग्रहको विमोचन तथा संक्षिप्त समीक्षा गर्दै गर्दै प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले यस कथासंग्रहमा नयाँ शैलीका कथा समेटिएको बताए।
पुरुषले भोगेका समस्यालाई प्रेमिल शैलीले लेखकले पुस्तकमा समेटेको उनको भनाइ छ। ‘यो पुस्तकले कतै कतै प्रेमका प्रसंग उठाएको छ,’ उनले भने, ‘तर विदेश खासगरी अमेरिकामा बसेर काम गर्ने पुरुषहरूको कथा पुस्तकमा समेटिएको छ।’
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कथासंग्रहले, परिवर्तन, विद्रोह र चुनौतीलाई उतार्न खोजेको बताए। यस्तो किसिमको कथासंग्रह कमै लेखकले लेख्न सक्ने बताउँदै उनले पुस्तकमा धेरैथरीका विषय मिश्रण गर्दा निरस बनेको टिप्पणीसमेत गरे ।
पुस्तकका लेखक शेखर ढुंगेलले आफू अमेरिकामा बस्दा नेपालप्रति भएको झझल्को र त्यहाँ पुगेर पुरुषहरूले भोगेका कथालाई पुस्तकमा उतार्न सफल भएको बताए। उनले अमेरिकामा बस्ने धेरै नेपालीले पाएको पीडा र समस्यालाई कथात्मक शैलीमा आफूले उतार्ने प्रयास गरेको जानकारी दिए।
्
‘यो पुस्तकमा विदेशमा बस्ने नेपालीहरूको कथा समेटिएको छ, अमेरिकामा बस्ने नेपाली र विवाहेत्तर सम्बन्धका बारेमा कथा लेखिएका छन्,’ उनले भने, ‘फरक फरक शीर्षकमा लेखिएका कथाले धेरैवटा विषय समेटेका छन्।’
पल्लव प्रकाशनद्वारा प्रकाशित १५८ पृष्ठ संख्या भएको उक्त पुस्तकको मूल्य ३५० रहेको छ ।